+

मुख गन्हाउँछ, के गर्ने त ?

२०८२ वैशाख  ८ गते १४:०७ २०८२ वैशाख ८ गते १४:०७
Shares
मुख गन्हाउँछ, के गर्ने त ?

कुरा गर्दा वा हाँस्दा मुख गन्हाउने व्यक्तिको छेउमा बस्न कसैलाई पनि मन पर्दैन ।  त्यो मान्छे जतिसुकै सुन्दर किन नहोस् । मुख तथा श्वास गन्हाउँदा अरूलाई समस्या हुन्छ भने सम्बन्धित व्यक्तिलाई पनि झनै गाह्रो भइरहेको हुन्छ । यस्तोमा मुख गन्हाउने समस्या किन हुन्छ ?

यसको एउटा मात्र जवाफ छैन । मुखको दुर्गन्धको कारण दाँत तथा मुख मात्र हुँदैन, शरीरका अन्य समस्याको कारण पनि मुखबाट दुर्गन्ध आउने हुन्छ ।

मुखमा दुर्गन्ध आउने कारणहरू

मुखको सफाइ नहुनु

खराब मौखिक स्वच्छताको कारण मुख गन्हाउने समस्या हुन्छ  । सही तरिकाले दाँत नमाझ्ने, जिब्रो सफा नगर्ने, वा फ्लस नगर्दा खानाका कणहरू मुखमा रहन्छन् र ब्याक्टेरियाले मुखमा गन्ध उत्पन्न गर्छ ।

जिब्रोको पछिल्लो भागमा ब्याक्टेरिया जम्मा भएर गन्ध पैदा हुन्छ । गिजामा ‘जिन्जिभाइटिस’ वा ‘पिरिओडाेन्टाइटिस’ले मुखमा गन्ध निम्त्याउँछ । मुख सुख्खा हुँदा पनि मुखबाट दुर्गन्ध आउने गर्छ । र्‍यालको कमीले मुख सुख्खा हुँदा ब्याक्टेरिया बढ्छन्, जसले दुर्गन्ध उत्पन्न गर्छ ।

दाँतमा सडन वा प्वाल पर्नाले पनि मुखमा गन्ध आउँछ । साथै दाँतको बिचमा वा टन्सिलमा खाना अड्किएर मुखमा गन्ध उत्पन्न हुन्छ ।

जीवनशैली र खानपान सम्बन्धी कारण

लसुन, प्याज, मसालेदार खाना, कफी, रक्सी आदिले अस्थायी दुर्गन्ध निम्त्याउँछ । धूम्रपान र सुर्तीजन्य पदार्थले मुखमा रसायनिक गन्ध छोड्छ । साथै उपवास बस्दा र भोकको कारण पनि मुखबाट गन्ध आउँछ, खाली पेटमा मुखमा र्‍याल कम उत्पादन हुन्छ र मुख सुख्खा हुन्छ । जसले मुखमा गन्ध बढाउँछ ।

स्वास्थ्य समस्या

ग्यास्ट्रिक रिफ्लक्स, आन्द्राको समस्या वा पेटमा ब्याक्टेरियल संक्रमण जस्ता पाचन प्रणालीको समस्याले पनि मुखमा गन्ध निम्ताउँछ । मधुमेहका बिरामीमा सुगर अनियन्त्रित भई उत्पन्न हुने ‘किटोएसिडोसिस’को कारणले मुखमा गन्ध आउन सक्छ ।

साइनस, टन्सिल, वा श्वासप्रश्वास सम्बन्धी समस्याको कारण पनि मुखमा दुर्गन्ध उत्पन्न गर्छ । मिर्गौलाको समस्याले विषाक्त पदार्थ फिल्टर नगर्दा गन्ध आउन सक्छ । साथै केही औषधिले मुख सुख्खा बनाएर मुखमा गन्ध निम्त्याउँछ ।

मुखको दुर्गन्ध हटाउने उपाय

१. मुखको दुर्गन्धबाट बच्न मौखिक स्वच्छतामा ध्यान दिनुपर्छ । दिनमा दुई पटक बिहान र साँझ फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुपर्छ । जिब्रो क्लिनर वा टूथब्रशले जिब्रोको पछिल्लो भाग सफा गर्नुपर्छ । दाँतको बीचमा अड्किएको खाना हटाउन डेन्टल फ्लस प्रयोग गर्नुपर्छ ।

२. हरेकपटक खाना खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्नुपर्छ । कसैमा मुखको दुर्गन्ध अत्याधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने गर्नुपर्छ ।

३. दिनमा २–३ लिटर पानी पिउनपर्छ, जसले मुख सुख्खा हुनबाट जोगाउँछ र मुखको दुर्गन्धबाट बचाउँछ । हरियो सागपात, गाजर, स्याउ जस्ता फाइबरयुक्त खानेकुरा खानुपर्छ  जसले दाँत स्वाभाविक रूपमा सफा गर्छ ।

४. भिटामिन सी युक्त खानेकुरा सुन्तला, कागती, अमला आदिले ब्याक्टेरिया कम गर्छ । दही वा प्रोबायोटिक्स युक्त खानाले पाचन सुधार्छ र मुखमा गन्ध कम गर्छ ।

५. धूम्रपान र सुर्तीजन्य पदार्थ त्याग्नुपर्छ, साथै नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।

साथै,
समस्या लामो समयसम्म रहिरहन्छ भने दन्त चिकित्सक वा विशेषज्ञसँग जाँच गराउनुपर्छ । यदि गिजाको रोग, दाँतको सडन, वा अन्य समस्या छ भने दन्त चिकित्सकलाई भेटेर उपचार गर्नुपर्छ । यदि दुर्गन्ध लगातार रहिरहन्छ भने मधुमेह, पाचन समस्या, वा अन्य रोगको जाँच गराउनुपर्छ ।

वर्षमा दुईपटक दन्त परिक्षण गराउनुपर्छ ।  दाँत किराले खाएको अर्थात् क्याभिटी (खाेबिल्टाे) बनेको छ भने त्यसको उपचार तत्कालै गरिहाल्नुपर्छ । दाँतमा क्याभिटी बनेमा स्वास गन्हाउने समस्या बढी हुन्छ ।

मुख दुर्गन्ध मुख स्वास्थ्य
डा. नियुक्ति अर्जेल
लेखक
डा. नियुक्ति अर्जेल
गिजा तथा दन्तरोग विशेषज्ञ

डा. अर्जेल काठमाडौं कमलपोखरीस्थित गम्स एण्ड गिगल्स क्लिनिककी सञ्चालिका समेत हुन् । उनले दन्त चिकित्सामा बीडीएस र एमडीएस गरेकी छन् । डा. अर्जेलको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११५६९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय