८ वैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज २०औं दिन पनि प्रदर्शन गरेका छन् ।
अघिल्ला दिनहरु जस्तै सोमबार बिहान पनि काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा भेला भएर शिक्षकहरुले प्रदर्शन गरे ।
उनीहरुको प्रदर्शनका कारण आज पनि ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । मूल सडकबाट सवारी साधन डाइभर्सन गर्दा भित्री सडकहरुमा समेत ट्राफिक जाम हुँदा चालक र यात्रुहरु समस्यामा परेका छन् ।
उनीहरु शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक हड्ताल आह्वान गरेका छन् । हड्तालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।
एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण हुनसकेको छैन भने वैशाख १२ देखि सुरु हुने कक्षा १२ को परीक्षामा संशय पैदा भएको छ ।
विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ । शिक्षकहरुको निरन्तरको आन्दोलनबाट सरकार दबाबमा परेको छ ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।
सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया 4