+
+
Shares
संगीत :

फिल्ममा गीतको ‘रि-क्रिएट’ : संगीतको पुनर्जन्म कि प्रचारको औजार ?

निर्माताले पुराना गीतलाई समेटेर दर्शकलाई अतितको महसुस (नोस्टाल्जिक) तुल्याउन खोजिरहेको देखिन्छ भने अर्कोतर्फ यसपछि व्यवसायिक उद्देश्य पनि देखिन्छ । नेपाली फिल्मले पछिल्लो समय मेलोडी गुमाइरहेको चिन्ताबीच यो सांगीतिक ट्रेन्डलाई लिएर दर्शकको भने मिश्रित प्रतिक्रिया छ ।

प्रतीक्षा रिजाल प्रतीक्षा रिजाल
२०८२ वैशाख ८ गते १२:३९
रि–क्रिएट गरिएको गीत ‘अच्छा लिकिन लण्डनको...’ गीतमा अभिनय गर्दै सनिशा भट्टराई र राज कटुवाल ।

काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा चर्चित र लोकप्रिय पुराना गीतलाई ‘रि-क्रिएट’ गर्ने प्रवृत्ति बढेको छ । नयाँ र पुराना दुवै पुस्ताका निर्माताले जमानाका चर्चित गीतको प्रतिलिपि अधिकार लिएर फिल्ममा समावेश गरिरहेका छन् ।

पछिल्लो महिना मात्र संगीतकार शम्भुजीत बासकोटाका दुई गीत ‘रि-क्रिएट’ भए । प्रदर्शन तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’मा उनले नै संगीत दिएको कुनैबेलाको हिट गीत ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’लाई पुनःसिर्जना गरिएको छ । यसअघि फिल्म ‘दैव संजोग’मा समावेश यो गीतले ‘नरसिंहा अवतार’ मा पुनर्जीवन पाएको हो ।

बासकोटाकै संगीतमा अर्को हिट गीत ‘सम्झना बिर्सना सलल’को पनि ‘रि-क्रिएट’ गरिएको छ । अशोक शर्माको निर्देशनमा बन्न लागेको फिल्म ‘डबल ट्रिपल’, जसका लागि राजु लामा र रचना रिमालले केही दिनअघि गीत रेकर्ड गराए ।

यसैमहिना कुनैबेलाको हिट गीत ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त न बस्न खोज्छ यहाँ’लाई पुनःसिर्जना गरियो । जयदेवको संगीत र किरण खरेलको शब्दलाई यथावत राखेर भारतीय गायिका संजीवनीले हालै मुम्बईको एक स्टुडियोमा नयाँ भर्सनको गीत रेकर्ड गराइन् ।

हालै मात्र रिलिज भएको कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’मा र्‍यापर बालेनको दशकअघिको गीत ‘नेपाल हाँसेको’ समावेश गरियो । यसबाहेक, हिट गीतलाई रि-क्रिएट गर्नेदेखि हिट गीतलाई जस्ताको तस्तै समावेश गर्ने प्रवृत्ति पछिल्लो समय बढ्ने क्रममा देखिन्छ ।

निर्माताले पुराना गीतलाई समेटेर दर्शकलाई अतितको महसुस (नोस्टाल्जिक) तुल्याउन खोजिरहेको देखिन्छ भने अर्कोतर्फ यसपछि व्यवसायिक उद्देश्य पनि देखिन्छ । नेपाली फिल्मले पछिल्लो समय मेलोडी गुमाइरहेको चिन्ताबीच यो सांगीतिक ट्रेन्डलाई लिएर दर्शकको भने मिश्रित प्रतिक्रिया छ ।

निर्माता रोहित अधिकारीले आगामी फिल्म ‘माइतीघर’मा सोही नामको अघिल्लो फिल्ममा समावेश गीतलाई पुनःसिर्जना गर्दै समावेश तयारी गरेका छन् । उनलाई लाग्छ, पुराना फिल्मका सफल गीतलाई समावेश गर्दा दर्शकलाई चित्त बुझ्छ र यसले व्यवसायिक फाइदा पनि पुग्छ ।

‘कथा र भावले माग्छ भने पुरानो गीतलाई पुनः प्रयोग गर्नु कुनै खराब कुरा होइन’ अधिकारीले अनलाइनखबरसँग भने, ‘अझ, पुरानो फिल्मका सफल गीतहरूलाई नयाँ लयमा प्रस्तुत गर्दा दर्शकलाई पनि चित्त बुझ्ने सम्भावना हुन्छ ।’ यो ट्रेन्डले व्यवसायिक लाभ मिल्ने पनि आशा व्यक्त गरे ।

‘यो अभ्यास केवल संगीतको पुनरावृत्ति नभई कथाको आवश्यकताअनुसार गरिएको ‘साङ्गीतिक पुनःनिर्माण’ हो’ उनले भने ।

उनका अनुसार पुरानो गीतलाई पुनःप्रयोग गर्नु पुरानो सफलतालाई दोहोर्‍याउने मात्र प्रयास होइन । ‘यो गीतको ‘सांगीतिक पुनर्जन्म’ हो जसले दर्शकसँग भावनात्मक जडान पनि गर्छ र फिल्मको प्रभावकारिता पनि बढाउँछ’ उनले भने, ‘दर्शकले पहिले नै चिनेको, मन पराइसकेको गीतलाई नयाँ प्रस्तुतीकरणमा देख्दा उनीहरू त्यो फिल्मप्रति अझ नजिक हुन्छन् ।’

अधिकारीको दृष्टिकोणमा यस्तो सांगीतिक अभ्यास सृजना अभाव होइन, बरु सृजनालाई समयसँगै पुनःपरिभाषित गर्ने प्रक्रिया हो । ‘हामीले सिर्जना गरेका गीतहरू समयसँगै कहिले पुराना मात्र नभई कालजयी बन्न सक्छन्,’ उनी भन्छन्, ‘यदि त्यस्ता गीतलाई सही ढंगले, कथा अनुरूप प्रयोग गर्न सकियो भने त्यो सिनेमा र संगीत दुवैका लागि फलदायी हुन्छ ।’

तर, यो ट्रेन्ड सबैका लागि पाच्य नहुन सक्छ । ‘स्क्रिप्ट डक्टर’ तथा निर्देशक मनोज पण्डित यस विषयमा आलोचनात्मक मत राख्छन् । गीतलाई प्रचारको साधनको रुपमा मात्र हेरिएको उनको भनाइ छ ।

‘कुनै पनि फिल्मको आत्मा भनेकै त्यसको कथा र मौलिकता हो । संगीत फिल्मको एउटा अभिन्न अङ्ग हो, जुन कथासँगै बग्नुपर्ने हुन्छ । तर पछिल्लो समय देखिएको प्रवृत्तिमा गीतलाई केवल प्रचारको साधनको रूपमा हेरिने गरेको छ’ उनी भन्छन् ।

उनका अनुसार गीतलाई कथाको अंगको रुपमा व्यवहार नगरिने समस्या छ । ‘हिजोआज स्क्रिप्ट तयार गर्दा गीतलाई कथा अनुरूप गाँस्ने प्रयास नगरी, छायांकन सकिएपछि मात्रै थप्ने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गीत रेकर्ड गर्ने चलनले त्यो गीतले कथासँग मेल नखाने सम्भावना उच्च बनाउँछ । जसले गर्दा गीत फिल्मको आत्मासँग जोडिन सक्दैन र केवल सामाजिक सञ्जालमा भाइरल हुने प्रयासमा सीमित हुन्छ ।’

फिल्म हिट हुनुको एकमात्र आधार यसको कथा रहेको उनको विश्लेषण छ । उनी भन्छन्, ‘गीत बनायो, त्यसलाई भाइरल बनाउन सामाजिक संजालमा प्रचार गरियो, अनि फिल्म पनि हिट भयो भन्ने सोच छ, तर फिल्म चल्नु भनेको कथाबाट हो ।’ उनका अनुसार गीतले दर्शकलाई हलसम्म ल्याउन सक्ला तर जबसम्म त्यो गीतले कथाभित्र गहिरो अर्थ बोकेको हुँदैन, त्यो गीत र फिल्मले दर्शकको मनमा दीर्घकालीन असर पार्न सक्दैन ।

गीतलाई प्रचारको औजार होइन, कथा बोक्ने माध्यमको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता उनी देख्छन् । ‘कथा र गीतको संयोजन धेरै महत्वपूर्ण छ,’ भन्छन्, ‘गीत फिल्मको एक भाग हुनुपर्छ, जसले कथालाई थप अर्थ दिन्छ । नत्र भने यो केवल प्रचारको साधन बनेर मात्र सीमित रहन्छ ।’

उनी गीतको पुनः प्रयोगको पूर्ण विपक्षमा छैनन्, तर कथाले मागेको अवस्थामा मात्र समावेश हुनुपर्ने सर्त राख्छन् । कथावस्तुसँग मिल्ने, भाव व्यक्त गर्ने र दृश्यलाई सशक्त बनाउने गरी प्रयोग गरिएका गीतहरूले फिल्मलाई राम्रो बनाउने उनको विश्वास छ ।

यो ट्रेन्डलाई अहिलेको प्रवृत्तिको रूपमा मात्रै नभई, भविष्यमा नेपाली फिल्म उद्योगको रचनात्मकतामा गहिरो असर पार्न सक्ने संकेतको रूपमा पनि उनी हेर्छन् । ‘यदि गीतलाई कथा सँगै बुनिएको अंग बनाइएन भने, नेपाली फिल्मले आफ्नो मौलिकता गुमाउँदै जाने खतरा रहन्छ’ उनी भन्छन्, ‘आजको प्रमोसनल सोचले गीतहरू त भाइरल बनाउँछ, तर त्यसले दीर्घकालीन सिनेमा संस्कृतिमा असर पार्न सक्छ ।’

उनको प्रश्न छ- के हामी केवल भाइरलको पछि लागिरहेका छौं कि हामी साँचो अर्थमा कथा भन्न खोजिरहेका छौं ?

लेखक
प्रतीक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?