
८ वैशाख, काठमाडौं । ट्याक्सी चालकहरूको मोबाइल लुटपाट गर्दै हिंड्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घर भएका काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय शिखरजङ थापा भनिने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका–६ घर भएका काठमाडौं बूढानीलकण्ठ बस्ने १८ वर्षकै राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका–२ घर भएका कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर छन् ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो समूहले ५ वैशाखको दिउँसो करिब ४ बजेतिर बसुन्धरामा चितवन घर भएका प्रेम तामाङको बा २ ज ३४५८ नम्बरको ट्यास्की रोक्दै ठमेल जान भनेर सोधखोज गरेका थिए । त्यसपछि फोन गरौं भन्दै ट्याक्सी चालकको मोबाइल लिएर फरार भएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
उनीहरूबाट चोरीका चार थान मोबाइल बरामद भएको छ ।
यसअघि यो समूहले १७ चैतको साँझ ८ बजेतिर धुम्बाराही पिपलबोटबाट बा २ ज ९६७१ नम्बरको ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल लुटेको खुलेको छ ।
यसको दुई दिनपछि १९ चैतमा राति ८ बजेतिर धुम्बाराही पिपलबोटबाटै बा २ ज ६४८० नम्बरको ट्याक्सीका चालक राजकुमार तामाङको मोबाइल लुटेर फरार भएका थिए ।
सोही दिन राति साढे ९ बजेतिर बूढानीलकण्ठको साप्रेढुंगाबाट बा २ ज ४३०३ नम्बरको ट्याक्सीका चालक राजेशबहादुर बिसीको मोबाइल लुटेर फरार भएको प्रहरीको भनाइ छ ।
२३ चैतको साँझ करिब ६ बजेतिर चाबहिलको ओम हस्पिटल नजिकबाट दुर्गा शाक्य नाम गरेका व्यक्तिको मोबाइल लुटेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4