+
+
Shares

बागमतीका ११ भ्युटावर अझै अलपत्र, दोस्रो पटक कार्यविधि बनाउँदै मन्त्रालय

बागमती प्रदेशका ९ जिल्लामा ३२ करोडभन्दा बढी खर्चेर बनाइएका ११ वटा भ्युटावर अझै सञ्चालनमा आएका छैनन् । पुरानो कार्यविधिको अभाव र नयाँ कार्यविधि स्वीकृतिका नाममा गरिएको ढिलाइले संरचना अलपत्र परेका छन् ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ वैशाख ८ गते १४:०१

८ वैशाख, हेटौंडा । बागमती प्रदेशका ९ जिल्लामा निर्माण गरिएका ११ वटा भ्युटावर अझै अलपत्र छन् । सुरुमा निर्माण कम्पनीले अनेक बहानामा बनाउन ढिलाइ गरे भने बनिसकेकालाई सञ्चालनमा ल्याउन सरकारले चासो दिएन ।

२०७६ सालबाट भ्युटावरको योजना अघि बढाएको सरकारले २०८२ साल लाग्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन । २०७६/७७ र ७८ भित्र योजना सम्झौता भएका भ्युटावरहरु कतिपय २०७७ सालमै र केही २०७९ र ०८० सम्ममा निर्माण भएका थिए ।

बागमतीको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्युटावरको योजना बजेटमा समावेश गरेको थियो । प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा कुल ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ बजेटबाट ११ वटा भ्युटावर बनाइएको छ । हचुवाको भरमा अग्ला डाँडामा बनाइएका ती सबै टावर अहिले अलपत्र छन् ।

ऐन, कार्यविधि नै नबनाई भ्युटावर बनाउन सुरु गरिएको थियो । प्रदेश पर्यटन ऐन, २०७८ निर्माण भएपछि ऐनको दफा ११७ (२) अनुसार मन्त्रालयले कार्यविधि बनाएको हो । तत्कालीन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले १३ मंसिर २०८० मा पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८० बनाएको थियो । त्यो कार्यविधि कार्यान्वयनमा गएन ।

कार्यविधि विना बनाइए भ्युटावर

नयाँ कार्यविधि बनाएर पर्यटन पूर्वाधारहरुको हस्तान्तरण र सञ्चालन टुंगो लगाउन खोजिरहेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिए । ‘कार्यविधि बनेको छ । सबै पर्यटन पूर्वाधारहरु सञ्चालन गर्नुपर्नेछ । कतिपय संरचना धेरै समयदेखि त्यसै बसेका छन् । म आएपछि कानुनी प्रक्रिया पूरा गरेर त्यसको सञ्चालनमा तदारुकता देखाइरहेको छु,’ सुवेदीले भने ।

२०८० मै कार्यविधि बनिसक्दा पनि मन्त्रालयले भ्युटावर आफैं सञ्चालन गर्न सकेको छैन भने स्थानीय तहलाई पनि हस्तान्तरण गर्न सकेको थिएन

वर्तमान संस्कृति तथा पर्यटन मन्त्रालयले पुरानो कार्यविधि स्वीकृत भएको रेकर्ड मन्त्रालयमा नभेटिएको भन्दै नयाँ कार्यविधि निर्माण गरिरहेको हो । मन्त्रालयका सूचना अधिकारी अशेष खड्काले पर्यटन पूर्वाधार हस्तान्तरण तथा व्यवस्थापन कार्यविधि निर्माण भएर स्वीकृतिको चरणमा रहेको जानकारी दिए ।

कार्यविधिका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयतले गत २६ फागुनमा सहमति प्रदान गरिसकेको छ । ‘पहिलाको कार्यविधि स्वीकृत भएको रेडर्कमा भेटिएन । त्यसैले नयाँ कार्यविधि बनाएका हौं । अर्थबाट सहमति आइसकेको छ । अब मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत हुनेछ,’ खड्काले अनलाइनखबरसँग भने । कार्यविधि नबन्दा प्रदेशमा हालसम्म निर्माण भएका पर्यटन पूर्वाधार हस्तान्तरण वा सञ्चालन हुन नसकेको उनले बताए ।

पुरानो र नयाँ कार्यविधिका केही प्रावधान परिवर्तन हुने भएका छन् । नयाँ कार्यविधिमा २ करोड भन्दा मुनिको संरचनाको हकमा प्रष्ट व्यवस्था राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

नयाँ कार्यविधि बने पनि भएन हस्तान्तरण

नयाँ कार्यविधिमा पर्यटन पूर्वाधार हस्तान्तरण तथा आम्दानी सिफारिस समिति नरहने भएको छ । उक्त समितिले पूर्वाधार सञ्चालनको दररेट मूल्यांकन गर्ने व्यवस्था गरेको थियो । अब नयाँ कार्यविधिअनुसार सम्बन्धित स्थानीय पालिकाले नै दररेट मूल्यांकनको काम गर्नेछ ।

पुरानो कार्यविधिले सामुदायिक वन क्षेत्रभित्र निर्माण भएका पर्यटन पूर्वाधारबाट राजश्व लिने वा नलिनेबारे प्रष्ट बोलेको थिएन । नयाँ कार्यविधिले त्यसलाई स्पष्ट पारेको मन्त्रालय स्रोत बताउँछ । यसैगरी, पर्यटन पूर्वाधार सञ्चालनबाट प्राप्त राजश्वमा प्रदेश सरकारले २५ प्रतिशत लिने कार्यविधिमा छ ।

२०८० मै कार्यविधि बनिसक्दा पनि मन्त्रालयले भ्युटावर आफैं सञ्चालन गर्न सकेको छैन भने स्थानीय तहलाई पनि हस्तान्तरण गर्न सकेको थिएन । कार्यविधिमा प्रदेशको लगानीमा निर्माण भएका पर्यटन पूर्वाधारलाई आफैं सञ्चालन वा स्थानीय तहलाई हस्तान्तरण गर्न वा निजी क्षेत्रलाई भाडामा दिन सक्ने प्रावधान थियो ।

कार्यविधिमा सामुदायिक वन र सामुदायिक विद्यालय क्षेत्रबाहेकका क्षेत्रमा निर्मित पर्यटन पूर्वाधार वा सम्पदा सञ्चालन तथा व्यवस्थापनका लागि दफा ८ बमोजिम गठित समितिको सिफारिसमा मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरण गर्न सक्ने व्यवस्था रहेको थियो ।

कहाँ कस्तो बने भ्युटावर ?

मकवानपुरको चित्लाङमा चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम २०७६ र २०७८ मा कार्यान्वयन गरिएको थियो । भ्युटावर, क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस र सपोर्ट फेसिलिटी योजनाका लागि दुई चरणमा गरेर मूल्य समायोजनासहित ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको छ । चित्लाङ हिलस्टेसन थाहा नगरपालिका वा स्थानीय सामुदायिक वनलाई हस्तान्तरण गर्नुपर्ने पर्यटन विकास आयोजनाले जनाएको छ ।

चित्लाङ हिलस्टेसन

नुवाकोटको ककनी हिल स्टेसन पनि ०७६ र ०७८ गरी २ चरणमा मूल्य समायोजनसहित ५ करोड ८८ लाख ८६ हजार ८५ रुपैयाँमा निर्माण गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज बफर जोनभित्र परेको भ्युटावरसहित सभाहल गेट, शौचालय, गार्ड हाउस र ब्लक छाप्ने कार्य सकेर ककनी गाउँपालिकालाई हस्तान्तरण गर्ने आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकमा ३ करोड ५ लाख २६ हजार ८७८ रुपैयाँमा मल्टिप्रपोज हलसहितको भ्युटावर १० पुस २०७७ मा निर्माण भइसकेको छ । उक्त भ्युटावर लिसंखुपाखर गाउँपालिका वा स्थानीय सामुदायिक वनलाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रमुख श्रीवास्तवले जानकारी दिए ।

यस्तै, काभ्रेको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा दुई चरणमा गरेर २ करोड ५४ लाख ९ हजार ६६७ रुपैयाँको लागतमा भ्युटावरसहित पिकनिक सेड, शौचालय, पदमार्ग र रिटेनिङ वाल २०७८ भदौमा निर्माण गरिएको छ । काभ्रेकै रोशी गाउँपालिकामा २ करोड १९ लाख ८१ हजार ६५३ रुपैयाँ लागतमा भ्युटावर, पदमार्ग र शैचालय १५ चैत २०७८ मा निर्माण पूरा भएको थियो ।

चितवनको उदयपुर सामुदायिक वनभित्र भ्युटावर र पिकनिक सेड ५० लाख १८ हजार ६१० रुपैयाँमा माघ २०७७ मा निर्माण भएको थियो । उक्त संरचना उदयपुर सामुदायिक वनलाई हस्तान्तरण गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।

रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी गाउँपालिका–५ मा दुई चरणमा गरेर ३ करोड २० लाख ६० हजार ८५१ रुपैयाँमा र सिन्धुलीको कमलामाई नगरपालिकाको सिद्धबाबा चुचुरोमा पनि दुई चरणमै गरेर २ करोड ६० लाख ८ हजार ३१० रुपैयाँमा भ्युटावरसहित पदमार्ग, शौचालयलगायतका संरचना निर्माण भएको आयोजनाले जानकारी दिएको छ । यी दुवै भ्युटावर २०७७ सालमा सम्झौता भई २०७८ मा निर्माण भएका हुन् ।

नुवाकोटको बेलकोटगढी नगरालिकाको चिम्टेश्वरमा २ करोड ७४ लाख ३८ हजार ७६८ रुपैयाँमा, धादिङको धुनिवेशी नगरपालिकाको तोप्लाङमा २ करोड १८ लाख ८९ हजार ६६९ रुपैयाँमा भ्युटावर र शौचालय र दोलखाको जिरी नगरपालिकामा २ करोड ६४ लाख ३४ हजार ९९६ रुपैयाँको लागतमा भ्युटावर र सभाहल निर्माण भएका छन् । यी तीन वटै जिल्लाका भ्युटावर २०७७ को भदौ महिनामा सम्झौता भई २०७९ को फागुन र चैतमा निर्माण सकिएका थिए ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?