
८ वैशाख, काठमाडौं । १५ चैतमा तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार पक्राउ पर्नेमा ४८ वर्षीय ओमप्रकाश लुइँटेल छन् ।
झापाको अर्जुनधारा नगरपालिका–५ घर भएका लुइँटेल निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको छ ।
काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित खुल्ला चौरमा राजावादीहरूले १५ चैतमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो ।
सो क्रममा दुईजनाको ज्यान गएको थियो भने थुप्रै निजी तथा सरकारी सवारीसाधन, व्यक्तिका घर, विभिन्न पार्टीका कार्यालय र सञ्चारमाध्यमहरूमा आगजनी तथा तोडफोड गरिएको थियो । यस्तै, व्यापारिक केन्द्रमा लुटपाट भएको थियो ।
प्रतिक्रिया 4