
८ वैशाख, बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका (साविक बिच्छयाँ गाविस) बिजुली बत्तीले झिलिमिली भएको छ । हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडाका ६ सय ८२ घरधुरीमा बिजुली पुगेपछि स्थानीयको अनुहार नै उज्यालो भएको छ ।
अँध्यारोमा बस्दै आएका गाउँले बिजुली बलेपछि खुसी भएको स्थानीय छक्कलाल थापाले बताए । वर्षौंदेखि झरोको उज्यालोमा बस्न बाध्य स्थानीयवासीलाई नयाँ वर्षको सुरुवातसँगै गाउँमा बलेको बिजुलीले उज्यालो दिएको हो ।
पुस्तौंदेखि अन्धकारमा बस्दै आएको गाउँ अहिले पूरै झिलिमिली भएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल बताउँछन् । गाउँपालिकाले कादुरी एग्रिकल्चरल एन्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थासँगको सहकार्य तथा सहयोगमा गाउँमा बिजुली बालेकोे अध्यक्ष मल्लले बताए ।
हिमाली गाउँपालिका– २ मा नातिखोला लघु जलविद्युत् आयोजनामार्फत बिजुली उत्पादन भएको हो । कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङका अनुसार १ किलोवाट क्षमताको यो आयोजना झन्डै १४ करोड ५५ लाखमा सम्पन्न भएको हो ।
एक वर्षअघि सुरु भएको आयोजनाको काम यो वर्ष सम्पन्न गरी बिजुली बालिएको हो । स्थानीय रूपमा सबभन्दा ठूलो यो परियोजना समुदायलाई हस्तान्तरण गरिएको छ ।
दुर्गम वस्तीमा बिजुली बाल्न संस्थाले हेलिकप्टरमार्फत हुम्लाको जिबानाबाट बिच्छयाँका गाउँगाउँसम्म सामान ढुवानी गरिएको थियो । जिबानासम्म यातायातको साधनमार्फत सामान ढुवानी गरएिको थियो ।
बिच्छयाँ झिलिमिली भएसँगै हिमाली गाउँपालिका– ५ क्युडी गाउँका १ सय २० परिवारमा पनि दशैंभित्र बिजुली बाल्ने तयारी छ ।
बिच्छयाँको गरिबी, दुर्गम अवस्था र त्यहाँ विकास नपुगेका विषयमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले काम गरेको थियो ।
यहाँको बिजोग अवस्थाका बारेमासमाचार आएपछि यहाँ पुगेको संस्थाका प्राविधिक निर्देशक डा. नारायण गुरुङले बताए । यो भन्दा पहिला गौमुल गाउँपालिकामा बिजुली बालेका थियौं । संस्थाले नेपालका विकट ठाउँमा पुगेर काम गरिरहेको गुरुङले बताए ।
बिच्छयाँ पुग्न बाजुराको सदरमुकाम मार्तडीबाट ३ दिन बढी समय लाग्छ ।
यो ठाउँमा राष्ट्रिय प्रसारण लाइन पुग्नसक्ने कुनै सम्भावना थिएन्, संस्थाले बिजुली बाल्न सहयोग गरेपछि यो उपलब्धि हासिल भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी बताउँछन् ।
प्रतिक्रिया 4