
८ वैशाख, काठमाडौं । नेपालको बहुक्षेत्रीय पोषण योजना तेस्रो ( २०२३–२०३०) को अनुसन्धान, अन्वेषण तथा जनशक्ति क्षमता विकासको लागि युनिभर्सिटी अफ एबर्डिनले चासो दिएको छ ।
हालै बेलायतमा उक्त योजनाको अनुभव आदान प्रदान गर्न आएको उच्चस्तरीय अधिकारीहरू समेत सम्मिलित सेमिनारमा युनिभर्सिटी अफ एबर्डिन, इन्स्टिच्युट अफ एप्लाइड हेल्थ साइन्सेसका रिसर्च लिड डा. रोजालिण्ड एडमले नेपालको बहुक्षेत्रीय पोषण योजनाको मुल्यांकन तथा क्षमता विकासको लागि सहयोग गर्न इच्छुक रहेको बताए ।
पोषण अनुसन्धानमा विश्वमै अग्रणी दी रावेट इन्स्टिच्युटमा आयोजित सेमिनारमा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले नेपालले पोषण क्षेत्रमा सकारात्मक प्रयासहरू गरेको र लक्ष्य अनुसार प्रगति भइरहेको बताए ।
यस्तै अर्का सहसचिव रुद्रसिंह तामाङले स्थानीय निकायहरूको पोषण जनशक्ति क्षमता विकास चुनौतीपूर्ण रहेता पनि पाँच वर्ष मुनिका बालबालिकाको पोषण योजना प्रभावकारी रहेको उल्लेख गरे ।
उक्त कार्यक्रममा कार्यपत्र पेश गर्दै उपसचिव रेशम कँडेलले उक्त योजनाको लागि ३० प्रतिशत बजेट अन्तर्राष्ट्रिय सहयोगमा आधारित भएर विनियोजित भएता पनि अमेरिका, बेलायतले समग्र विदेशी सहयोग कटौती गरेकोले उक्त योजनामा असर गर्न सक्ने बताए ।
यसैगरी नेपाल सरकारका अधिकारीहरू जनकराज शर्मा, यम प्रसाद ढुंगाना, प्रकाश पन्थी, दिपेश कट्टेलले पनि आफ्नो भनाइ राखेका थिए ।
उक्त योजनाको अन्त्यसम्ममा पाँच वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपन दर २५ प्रतिशतबाट १५ प्रतिशतभन्दा कम, ख्याउटेपनको दर ८ प्रतिशतबाट ४ प्रतिशत र कमतौलको दर १९ प्रतिशतबाट ९ प्रतिशतमा कम गराउने लक्ष्य रहेको छ । यसैगरी गुणस्तरीय पोषणलाई सहज बनाएर कमतौलको बच्चा जन्मने दर, अधिक मोटोपनको दर, रक्तअल्पता लगायतमा प्रभावकारी सुधार गर्ने लक्ष्य लिइएको छ ।
युनिभर्सिटी अफ एबर्डिन ग्लोबल हेल्थका लेक्चरर डा. सन्तोष गैह्रेले उक्त कार्यक्रमको सहजकर्ता गर्नुहुँदै नेपालको बहुक्षेत्रीय पोषण योजनाको कार्यन्वयनमा अन्तर्राष्ट्रिय अनुसन्धान, अनुभव र क्षमताले ठुलो प्रभाव पार्ने बताए । डा. गैह्रेको नेतृत्वको टोलीले केही वर्ष अघि गरेको बहुक्षेत्रीय पोषण योजना पहिलोको मुल्यांकन अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भएको थियो ।
उक्त कार्यक्रममा डा. ज्यानेट कायल, डा. अर्बिन्दा गुण्टुपल्लीले पोषण योजना सम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरू व्यक्त गरेका थिए । डा. गैह्रे, डा. कायल तथा डा. गुण्टुपल्लीको सुपरीवेक्षणमा नेपाली अनुसन्धानकर्ताले नेपालको पोषण सम्बन्धमा पिएचडी अनुसन्धान गरिरहेका छन् । उक्त सेमिनारमा पिएचडी अनुसन्धानकर्ता उषा घिमिरेले बाल कुपोषणसम्बन्धी कार्यपत्र पेश गरेकी थिइन् । उक्त प्रस्तुतिमा नेपालको शैक्षिक अनुसन्धान र पोषण नीतिहरूको व्यवहारिक कार्यान्वयनबारे चर्चा भएको थियो ।
नेपाल सरकार संघीय मन्त्रालय, युनिभर्सिटी अफ एबर्डिन तथा अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरको सहकार्यमा भएको उक्त कार्यक्रममा अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष प्रकाश अर्यालले उक्त संस्थाले नेपाली डायस्पोरा, नेपाल सम्बन्धि अन्तर्राष्ट्रिय अनुसन्धानलाई नेपाल सरकारसंग सहकार्यको लागि सहयोग गर्ने बताए ।
प्रतिक्रिया 4