भिटामिन डीको सबैभन्दा राम्रो स्रोत घाम हो । त्यसैले भिटामिन डीलाई ‘सन साइन भिटामिन’ पनि भनिन्छ । हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा यो भिटामिन बन्छ । अर्थात् घामबाट निःशुल्क पाउने भिटामिन प्राप्त हुन्छ ।
शरीरका लागि अत्यन्तै आवश्यक पोषक तत्व हो यो । यसले शरीरमा क्याल्सियम र फस्फोरसको अवशोषणलाई बढाउँदै हड्डी, दाँत, मांसपेशी तथा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । अहिले धेरै मान्छेमा भिटामिन डीको अभाव देखिन थालेको छ । यो अवस्थामा विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।
भिटामिन डीको कमीका सामान्य लक्षणहरू
१.शारीरिक थकान र कमजोरी
सधैं थाकिएको महसुस हुनु, अलिकति काम गर्दा पनि ऊर्जा नहुनु ।
२.हड्डी तथा जोर्नी दुखाइ
विशेष गरी कम्मर, पिठ्यूँ, खुट्टा र घुँडामा दुखाइ हुनु ।
३.मांसपेशीमा कमजोरी वा ऐंठन
शरीर चलाउँदा गाह्रो हुनु, मांसपेशी कमजोर लाग्नु ।
४.धेरैजसो बिरामी पर्नु
रोग प्रतिरोधात्मक क्षमता कम भई सानो संक्रमणबाट पनि बारम्बार बिरामी पर्नु ।
५.घाउ निको हुन ढिलो लाग्नु
चोटपटक वा अप्रेसनपछि घाउ ढिलो निको हुनु ।
६.हड्डी टुक्रिनु वा फुट्नु
सामान्य चोटपटकबाटै हड्डी भाँचिने सम्भावना बढी हुनु ।
७.कपाल झर्नु
अत्याधिक कपाल झर्नु, विशेष गरी महिलाहरूमा ।
८.डिप्रेसन वा मानसिक तनाव
मन खिन्न हुनु, डिप्रेसनको मूड स्विङ्स, चिडचिडापन हुनु ।
९.निद्राको समस्या
राम्ररी निद्रा नलाग्नु वा निद्राबाट छिट्टै ब्यूँझिनु । शरीर सधैं थाकेजस्तो लाग्ने ।
बालबालिकामा रिकेट्स रोग (हड्डी बाङ्गाे समस्या) भिटामिन डी को कमीको संकेत हुन् र यसलाई समयमै उपचार नगरेमा गम्भीर स्वास्थ्य समस्याहरू निम्तिन सक्छ । यदि यी लक्षणहरू देखापर्छन् भने, भिटामिन डी स्तर जाँच्न र आवश्यक परेमा उपचार सुरु गर्न आवश्यक हुन्छ ।
भिटामिन डी का प्रमुख स्रोतहरू
-सूर्यको किरण सबैभन्दा प्राकृतिक र निःशुल्क स्रोत हो । बिहानको घाममा १०–१५ मिनेट बस्दा शरीरमा पर्याप्त भिटामिन डी उत्पादन हुन्छ।
-साल्मन, टुना, म्याकरल, सार्डिन जस्ता माछामा प्रशस्त भिटामिन डी हुन्छ ।
-अण्डाको पहेँलो भाग पनि भिटामिन डीको सजिलो स्रोत हो । नियमित अण्डा सेवन गर्नु लाभदायक हुन्छ ।
-दूध र दुग्धजन्य पदार्थहरू दूध, दही, चीज, पनिर बटरमा केही मात्रामा भिटामिन डी पाइन्छ ।
-च्याउ, विशेष गरी सूर्यको प्रकाशमा उम्रिएको च्याउमा भिटामिन डी पाइन्छ । च्याउ घाममा राखेर खाँदा पनि यसमा भिटामिन डीको मात्रा धेरै हुन्छ ।
-सोया दूध वा अन्य फोर्टिफाइड बोट-बिरुवामा आधारित दूधहरू शाकाहारी खाना खानेका लागि लागि भिटामिन उत्तम विकल्प ।
-रातो मासु, ओएट्स, भटमास, गहुँको पिठोको, फलफूलका जुसमा पनि भिटामिन डी पाइन्छ ।
-यदि शरीरमा भिटामिन डीको मात्रा धेरै कम छ र नियमित खानाबाट प्राप्त गर्न कठिन छ भने भिटामिन डी युक्त परिपूरक खानाहरू खान सकिन्छ । यसका लागि चिकित्सक तथा पाेषणविद्हरूको सल्लाह लिनुपर्छ ।
भिटामिन डी किन महत्वपूर्ण छ ?
-हड्डी र मांसपेशी बलियो बनाउन
-रोगसँग लड्ने क्षमता बढाउन
-मानसिक स्वास्थ्य सन्तुलनमा राख्न
-चोटपटक र घाउ छिटो निको पार्न
भिटामिन डीको कमीबाट देखिने सामान्य लक्षणलाई बेवास्तागर्दा दीर्घकालीन रुपमा गम्भीर असर पर्न सक्छ । त्यसैले, लक्षण देखिएमा समयमै परीक्षण गराई उचित उपचार वा पूरक सेवन गर्नु आवश्यक छ ।
कस्ता व्यक्तिमा भिटामिन डीको कमी हुन्छ ?
भिटामिन डीको कमी विश्वभर एक प्रमुख स्वास्थ्य समस्या बनेको छ । तर, केही व्यक्तिहरूमा यसको कमी धेरै हुने सम्भावना रहन्छ ।
-अफिस वा घरभित्रै धेरै समय बिताउने व्यक्तिहरू
-मोटाेपना वा अधिक वजन भएका व्यक्तिहरू
-वृद्ध व्यक्तिहरू
उमेर बढ्दै जाँदा छालाले सूर्यको प्रकाशबाट भिटामिन डी बनाउने क्षमता कम हुन्छ ।
-गर्भवती तथा स्तनपान गराउने आमाहरू
गर्भावस्थामा शिशुको विकासका लागि धेरै भिटामिन डी चाहिन्छ । स्तनपान गराउने आमाहरूमा यदि आफ्नै शरीरमा भिटामिन डीको कमी छ भने, शिशुलाई पनि यसको अभाव हुन सक्छ।
-केही विशेष स्वास्थ्य समस्या भएका व्यक्तिहरू
मिर्गौला र कलेजो सम्बन्धी दीर्घरोग भएका व्यक्तिहरूले भिटामिन डीलाई राम्रोसँग उपयोग गर्न सक्दैनन्। पाचन समस्या भएकाहरूले खानाबाट भिटामिन डी सोच्न सक्दैनन्।
-सन स्क्रीन अत्याधिक प्रयोग गर्ने व्यक्तिहरू
यदि कसैले बाहिर घाममा जिस्कँदा अत्याधिक मात्रामा -सन स्क्रीन लगाउँछ भने उसको छालाले भिटामिन डी ग्रहण गर्न नसक्ने हुनसक्छ ।
के गर्ने ?
आफ्नो जीवनशैली र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर भिटामिन डीको कमीबाट बच्न सकिन्छ।
-बिहानको घाममा बस्ने बानी लगाउने ।
-रगत परीक्षण गरी भिटामिन डीको स्तर जाँच गर्ने ।
-भिटामिन डीयुक्त आहार सेवन गर्ने ।
-आवश्यक भए सप्लिमेन्ट लिने ।
प्रतिक्रिया 4