+
+
Shares

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

यूएईको अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित ‘नेपाल महोत्सव २०२५’ लाई सम्बोधन गर्दै उनले नेपालमा पर्याप्त सम्भावना रहेकाले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १७:२९

८ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सिप स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताएका छन् ।

यूएईको अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित ‘नेपाल महोत्सव २०२५’ लाई सम्बोधन गर्दै उनले नेपालमा पर्याप्त सम्भावना रहेकाले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।

‘योजनाबद्ध दीर्घकालीन सोचविना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौं । तेलमा मात्र निर्भर भएको यूएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार जस्ता क्षेत्रमा ध्यान दिएको छ,’ ढकालले भने, ‘दुबईलाई विश्वको व्यापारिक हब बनाइएको छ । हामीले पनि हाम्रो देशमा भएका सम्भावनाको पनि यसैगरी विविधिकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ ।’

नेपालका सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकाले ती क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालले बताए ।

नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधिका रूपमा रहेका कला, संस्कृति र परम्पराका माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्दै उनले विदेशमा आयोजना गरिने यस्ता महोत्सवले नेपाललाई विश्वमा चिनाउने र मित्रता तथा सद्भाव बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

महासंघले नेपाल र यूएईबीचको आर्थिक सम्बन्ध अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको समेत उनले बताए । उनले महासंघ अबुधाबीस्थित नेपाली दूतावास र दुबई चेम्बर अफ कमर्ससँग मिलेर सन् २०२३ डिसेम्बरमा ‘नेपाल–दुबई बिजनेस फोरम’ आयोजना गरेको र यसले दुई देशका व्यावसायिक नेतृत्वलाई आपसी सहकार्यका सम्भावना उजागर गर्ने अवसर प्रदान गरेको जानकारी दिए ।

विदेशमा कार्यरत नेपाली कामदारको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको बताउँदै महासंघले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारी निर्माण गर्न कटिबद्ध रहेको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?