
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘भूठान’लाई प्रदर्शन अनुमति दिएको छ । युनिभर्सल प्रमाणपत्रसहित फिल्मले प्रदर्शन अनुमति पाएको निर्देशक विनोद पौडेलले बताए ।
शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मको रनटाइम १ घण्टा ४५ मिनेट तय भएको छ । आइतबार फिल्मको जाँच भएपनि केही विषयवस्तुमा छलफल गर्दै समितिले सोमबार सर्टिफिकेट दिएको हो ।
‘उहाँहरूले हाम्रो फिल्मप्रति निकै चासो दिनुभएको रहेछ । सेन्सर पासको सर्टिफिकेट पाउनुअघि बोर्डका अधिकारी र हामीबीच फिल्म सेन्सरबारे गहिरो छलफल भयो । हामीले फिल्ममेकरको सामाजिक उत्तरदायित्व सम्झायौं’ पौडेलले अनलाइनखबरसँग भने ।
फिल्म जाँच गर्नुअघि समितिका अधिकारीले स्क्रिप्ट समेत अध्ययन गरेको पौडेलको भनाई छ । ‘उहाँहरूले स्क्रिप्ट पनि अध्ययन गर्नुभएको थियो । छलफलमा हामीले यसप्रति असन्तुष्टि पनि व्यक्त गर्यौं’ उनले भने, ‘समितिले फिल्म हेर्ने हो स्क्रिप्ट होइन । स्क्रिप्ट हेर्दा फिल्ममेकरलाई कस्तो सन्देश जान्छ भन्ने मुख्य सन्देश हो ।’
अश्लिल भनिएका केही शब्दसहितमा म्युट गर्न समितिले भनेको पनि उनले बताए । नेपालबाट तेस्रो देश पुनर्वासमा गएका भुटानी शरणार्थीको कथावस्तुमा बनेको यो फिल्मले पहिचानको लागि पात्रले गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ ।
‘भूठान’ शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4