
८ वैशाख, काठमाडौं । लोकसेवा आयोगले लिने प्रहरी जवानको लिखित परीक्षाको एउटा सेन्टर मध्यबानेश्वरस्थित रत्नराज्य माविमा परेको थियो । रत्नराज्य मावि प्रहरी वृत्त नयाँ बानेश्वर एरियामा पर्ने भएकाले वृत्त नयाँ बानेश्वरको टोली पनि आइतबार सुरक्षार्थ खटिएको थियो ।
यसअघिका प्रहरी जवानका परीक्षामा समेत केही नक्कली परीक्षार्थी सहभागी भएको पाएपछि प्रहरीले पक्राउ गर्दै कानुनी प्रक्रिया अघि बढाएको थियो । आइतबारको परीक्षामा पनि यस्तै प्रकृतिका परीक्षार्थी सहभागी हुनसक्ने आशंकासहित जाँच गरिएको थियो । नभन्दै रत्नराज्यमा सहभागी परीक्षार्थीमध्ये ६ जनाको प्रवेशपत्र नै शंकास्पद देखियो ।
थप जाँच गर्दै रेकर्डमा रहेको प्रवेशपत्र फारमको फोटोसँग जाँच गर्दा मेल खाएन । ‘प्रवेशपत्र फारममा एउटा र परीक्षा दिइरहेका बेला बोकिएको प्रवेशपत्रमा अर्को तस्वीर भेटिएपछि बिहान ९:५० बजे ६ जनालाई नियन्त्रणमा लियौं,’ वृत्त नयाँबानेश्वरका एक अधिकृत भन्छन्, ‘एउटा तस्वीर उप्काएर अर्को टाँस गरी नक्कली परीक्षार्थीबाट परीक्षा दिएको पाइयो ।’
यसरी अर्कैको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका ६ जनामध्ये एक जना हुन्, कालिकोट शुभकालिका गाउँपालिका-७ घर भई काठमाडौं लैनचौर बस्दै आएका २४ वर्षीय गोपालबहादुर शाही ।

उनले कोही आफन्तको परीक्षा दिएका थिए वा कसैबाट रकम लिएर परीक्षा दिएका थिए भन्नेबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् ।
शिक्षा ऐन २०२८ को दफा १७ अन्तर्गतको कसुरमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । दफा १७ को १ (क) अनुसार अरुको परीक्षा दिनेलाई कसुरको मात्रा हेरि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
अहिले प्रहरी हिरासतमा रहेका शाही तिनै व्यक्ति हुन्, जो साढे दुई महिना २४ माघ राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेपछि पक्राउ परेका थिए । शाहीसमेत पाँचजनाले प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटेका थिए ।
दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि शाहीसहितको समूहले आक्रमण गरेको थियो ।
मध्यराति हो-हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुईजना प्रहरीको मोटरसाइकल लडाउँदै लौरोसमेत फालिदिएका थिए । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेलमेटसमेत फुकालेर प्रहरीलाई उनीहरूले हिर्काएका थिए । प्रहरी कुटेपछि फरार भएका शाहीले ४ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर केसीको इजलासले १२ फागुनमा १० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका थिए ।
फौजदारी अभियोगमा पक्राउ परेर धरौटीमा छुटेका उनै शाही एक महिना नपुग्दै १० चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सचिवमा निर्वाचित भए । अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु सचिवमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट उम्मेदवारी दिएका उनी निर्वाचित भए ।
स्ववियुमा चुनिएपछि विद्यार्थीकै हकहित र उनकै मुद्दा बोकेर हिँड्नुपर्ने शाही निर्वाचित भएको एक महिनापछि नै पुनः अपराधमा मुछिएका छन् । शैक्षिक गुणस्तर विकास गर्न पहलकदमी भूमिका खेल्नुपर्ने जिम्मेवारीमा पुगेका शाही भने आफैं नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको परीक्षामा सहभागी भए । ठमेलमा प्रहरी कुटेर हिरासत पुगेका शाही त्यसबाट पाठ सिक्नुको साटो उल्टै प्रहरी जवानकै नक्कली परीक्षार्थी बने ।
साढे दुई महिनाको अवधिमा दुई वटा अपराधमा मुछिएका शाहीको विगत पनि आपराधिक नै देखिन्छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा उनीविरुद्ध यसअघि पनि दुई जना ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
शाहीसहितको समूहले अस्कल क्याम्पसका विद्यार्थी विकास राईलाई २६ साउन २०७९ मा ज्यान मार्ने प्रयास गरेको थियो ।
फलामको रड, इँटा, काठ, लट्ठी, हेल्मेट, सेरामिक टायल लगायतले टाउको तथा शरीरका विभिन्न भागहरूमा राईमाथि क्याम्पस परिसरकै बास्केट बल ग्राउन्डमा आक्रमण भएको थियो । राईको शरीरभरि निलडाम परेको थियो भने टाउकामा ९ वटा टाँका लगाउनुपरेको थियो ।
त्यतिबेला उनको उपचार पाँचवटा अस्पतालमा भएको थियो । नागरिक कम्युनिटी अस्पताल गट्ठाघर, नेपाल-कोरिया फ्रेन्डसिप अस्पताल मध्यपुरथिमी, मोनोबल हेल्थ फाउन्डेसन धुम्बाराही, मनमोहन हस्पिटल स्वयम्भू र अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार गरिएको थियो ।
यो घटनामा शाहीसहित पाँचजनाविरुद्ध १६ माघ २०८० मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो ।
१७ वैशाख २०८० मा शाहीसहितको समूहले अर्को ज्यान मार्ने प्रयास गरेको थियो । त्यतिबेला अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि आक्रमण गरेको थियो ।
साढे १ बजेको समयमा अस्कल क्याम्पसको होस्टलभित्र शाहीको समूहले आक्रमण गरेको थियो ।
रड, खुकुरी र सिसाको बोतलले उनीहरूमाथि आक्रमण भएको थियो । उक्त आक्रमणबाट घाइते भएका सिंहसहित ओमप्रसाद पोखरेल, सुदीप पोखरेल, सागर पाण्डेलाई प्रहरीले उद्धार गरी उपचारका लागि नयाँबजारस्थित पिपल्स अस्पताल पुर्याएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । यो घटनामा अहिले पक्राउ परेका शाहीसहित पाँचजनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया 4