+
+
Shares

‘जार’ले नेपाली चलचित्रमा उचाइमा लैजान्छ : निर्देशक लामा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १८:३१

काठमाडौं । सामाजिक कथावस्तुमा बनेको फिल्म ‘जार’ले नेपाली चलचित्र क्षेत्रलाई उचाइ दिने यसका मेकरले बताएका छन् । प्रदर्शनपछि उद्योग एक खुड्किलो माथि उक्लिने दावी उनको छ ।

निर्देशक फुर्वा छिरिङ लामाले विषय र प्रस्तुति प्राविधिक रुपमा बलियो बनेको बताए । ‘विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ’ उनले भने, ‘यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु ।’

उनले भने, ‘प्राविधिक पक्ष बलियो होस् भनेर पोस्ट प्रोडक्सनको कतिपय काम हामीले भारतमा गरेका छौँ ।’ अभिनयमा कलाकारले मिहेनत गरेको उनले बताए ।

बजारमा को कलाकार कस्तो भन्दा पनि कथाले कस्तो पात्र माग्छ, त्यसका आधारमा कलाकार छनोट गरिएको निर्देशक लामाले बताए । कुनै पनि पक्ष कमजोर नहोस् भनेर सुरुमै सचेत भएर काम गरिएको उनको भनाइ छ ।

फेरी टेल पिक्चर्सले निर्माण गरेको यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सन् १८ सयको दशकमा नेपाली समाजमा भएको यथार्थ घटनालाई कथावस्तुले समेट्ने निर्देशक लामा बताउँछन् ।

‘इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौँ । त्यसैले कथा जति राम्रो छ, त्यो भन्दा सिनेमा भिजुअल ल्यांग्वेजमा थप बलियो हुनेछ भन्ने हाम्रो विश्वास छ’ उनले भने । यो फिल्म नेपाली समाजको दस्तावेज भएको उनी बताउँछन् ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिकामा छ । गीताञ्जली थापा ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री हुन् ।

होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा फिल्म निर्माण भएको हो । सिक्किममा छायांकन गरिएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । झुमा लिम्बु र गंगा थापाको संगीत छ । यो फिल्म नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?