
८ वैशाख, काठमाडौं । एचआइभी संक्रमण नभएका तर जोखिममा भएका व्यक्तिलाई एचआइभी संक्रमणबाट जोगाउने निम्ति प्रयोग हुने औषधि प्रि– एक्सपोजर प्रोफुलेक्सिस (प्रेप) पाउन छोडेका छन् ।
अमेरिकाले वैदेशिक सहायता प्रदान गर्ने निकाय अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) नै खारेज भएपछि प्रि– एक्सपोजर प्रोफुलेक्सिस (प्रेप) औषधिको कार्यक्रम पनि कटौती भएको छ ।
यूएसएआईडीले ईपिक नेपाल मार्फत नेपालका ११ जिल्लामा क्लिनिक मार्फत प्रेप औषधि वितरण गर्दै आएको थियो । मुख्यतया तेस्रो लिंगी र यौनकर्मीले प्रेप औषधिको प्रयोग गर्ने गरेका थिए ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र तथ्यांक अनुसार वार्षिक १६०० ले प्रेप औषधिको सेवन गर्ने गरेको थिए ।
केन्द्रका प्रमुख डा. सर्वेश शर्माले वैदेशिक सहायता कार्यक्रम रोकिँदा एचआइभी रोकथाममा केही असर पर्ने बताए ।
‘एचआइभी संक्रमितसँग यौन सम्पर्क राख्ने, कण्डम प्रयोग नगर्ने, सुईबाट लागू पदार्थको प्रयोग गर्नेहरू बढी जोखिममा हुन्छन्,’ शर्माले भने, ‘प्रेपले एचआइभी सर्न नदिनका सुरक्षित राख्छ । जोखिम वर्गमा यौन सम्पर्क अघि औषधि प्रयोग गरेको खण्डमा एचआइभी नसर्ने अध्ययनले देखाएका छन् ।’
डा. शर्माले अगाडी थपे, ‘कार्यक्रमको हिसाबले केही असर त गर्ला । तर प्रेप औषधि नहुँदा एचआइभी फैलिन्छ भन्ने चाहिँ होइन ।’
एचआइभीको रोकथामलाई गर्न लागि विभिन्न विधि छन् । त्यसमध्ये प्रेप एक हो । एचआइभीको लागि उच्च जोखिममा रहेका र एचआइभी संक्रमण नभएका व्यक्तिले प्रेप लिन सक्छन् ।
हाम्रो जस्तो विकासउन्मुख देशले कण्डमबाट एचआइभीको रोकथामको बाटो अपनाउँदा राम्रो हुने उनी बताउँछन् ।
‘दातृसंस्था दिएको सहायता रोकिँदा असर गर्ने एक पाट्टो रह्यो । हामीले प्रेप खरिद गर्न सक्ने अवस्था छैन । दीर्धकालिन रुपमा हेर्दा कण्डमको प्रयोग गर्दा पनि एचआइभी रोकिन्छ,’ डा. शर्मा भन्छन् ।
उनले अगाडी थपे, ‘पे्रप एचआइभीको रोकथामका लागि हो, उपचारका लागि हैन । अर्कोविकल्प रुपमा एचआइभीबाट बच्न कण्डम प्रयोग गर्न सकिन्छ ।’
हाल गर्भवती र स्तनपान गराइरहेका हकमा भने प्रेप नियमित दिएको उनले बताए ।
‘श्रीमानलाई एचआइभी छ भने श्रीमतिलाई पनि प्रेप औषधि दिने गरिएको छ । प्रेपको सेवनले जन्मिने सन्तानलाई समेत संक्रमण सर्न जोगाउँछ,’ डा. शर्मा भन्छन् ।
नेपालमा हाल ३० हजार ३०० जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अनुमान छ । नेपालमा १५ देखि ४९ वर्षको उमेर समूहका व्यक्तिमा एचआईभी संक्रमण दर उच्च रहेको छ । जसमध्ये दैनिक एक जनाको मृत्यु हुने गरेको केन्द्रको तथ्यांक छ ।
केन्द्रको तथ्यांक अनुसार २५ हजार ७२८ जनाले उपचारको दायरामा आएका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा एचआईभी संक्रमित छन् । केन्द्रको तथ्यांकअनुसार बागमतीमा ६ हजार ७३५, लुम्बिनीमा ४ हजार ८५२, मधेशमा ४ हजार ३३२, सुदूरपश्चिमा ३ हजार ७२३, गण्डकीमा २ हजार ९६८, कोशीमा २ हजार ४९३ र कर्णालीमा ७१५ जना उपचारको दायरामा छन् ।
गरिबी, स्वास्थ्य सेवामा पहुँचको कमी, पहुँच भएका पनि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै उपचार नहुनु जस्ता कारणले पनि एड्स नियन्त्रण हुन सकेको छैन ।
सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारका लागि विदेशिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआईभी उच्च जोखिममा छन् । केन्द्रको तथ्यांक अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मीमा पाँच प्रतिशत एचआईभी संक्रमित छन् ।
अझै वार्षिक सयौं संख्यामा नयाँ संक्रमित थपिने गरेकाले सरकारका लागि चुनौतीको विषय बनेको छ ।
एचआईभी संक्रमितलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ । तर अझै पनि करिब पाँच हजार एचआईभी संक्रमित उपचारका लागि स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको तथ्यांकले देखाउँछन् ।
‘सरकारले एचआईभी परीक्षण तथा संक्रमितको औषधि उपचार निःशुल्क गरेको छ तर पनि अझै मानिस खुलेर उपचारमा आएका छैनन्,’ शर्मा भन्छन्, ‘संक्रमित खुलेर उपचारमा नआउनुले चुनौती थपेको छ ।’
अझै वार्षिक सयौं संख्यामा नयाँ संक्रमित थपिने गरेकाले सरकारका लागि चुनौतीको विषय बनेको छ ।
नेपालमा एचआईभी संक्रमणको मुख्य कारण असुरक्षित यौन सम्पर्क हुने गरेको लामो समयदेखि एचआईभी संक्रमितको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
यौन पेसाकर्मी, यौनकर्मीकहाँ जाने ग्राहक, सुई प्रयोग गर्ने लागूऔषध प्रयोगकर्ता, समलिंगी तथा तेस्रोलिंगीहरु, वैदेशिक रोजगारीमा गएका कामदार एचआईभी संक्रमणको जोखिममा रहेकाल असुरक्षित यौन सम्बन्ध नराख्न र सधैं कण्डमको प्रयोग गनुपर्ने विज्ञको सुझाव छ ।
प्रतिक्रिया 4