
८ वैशाख, काठमाडौं । बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा सोमबार ‘नेपाली खाना महोत्सव २०२५’ सम्पन्न भएको छ ।
नेपालको मौलिक रैथाने खानाको विशिष्ट स्वाद पस्किन र प्रवर्द्धन गर्न कार्यक्रम सफल भएको होटल संघ नेपाल (हान) ले जनाएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं दौत्य सम्बन्ध र चीनमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को उपलक्ष्यमा आयोजित यस कार्यक्रममा रैथाने खाना प्रवर्द्धनले महत्त्वपूर्ण सहयोग पुर्याएको हानले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले भिडियो सन्देश मार्फत नेपाली रैथाने खानाबाट समग्र पर्यटन प्रवर्द्धनको अविष्मरणीय अनुभव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य भागभन्दा अद्वितीय प्रामाणिक नेपाली खानाको समृद्धिबारे प्रकाश पारे । उनले सहभागीलाई नेपालका परम्परागत परिकारको आनन्द लिन नेपाल भ्रमण गर्न प्रोत्साहित समेत गरे ।
हानका अध्यक्ष विनायक शाहले नेपालको मौलिक र रैथाने खानालाई विश्वव्यापीकरण गर्न विगतदेखि नै हानले कार्यक्रम गरिरहेको बताए ।
नेपाल पर्यटन बोर्डका निमिक्त निर्देशक सुनिल शर्माले समेत उक्त कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा हानले दुई जना विज्ञ नेपाली सेफ उपलब्ध गराएको थियो ।
कार्यक्रममा विश्व पर्यटन संगठनका उपाध्यक्ष सु पेङ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेसका उपमहासचिव जिन झान लिनले नेपाल र चीनको सांस्कृतिक र पर्यटन उद्योगबीचको सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए ।
महोत्सवमा सेलरोटी, मोमो, योमरी, जुजु धौ, कागुनोको शीर, चतामारी, छोइला, बारा, गुन्द्रुक र मुस्ताङ आलु लगायत नेपाली परिकार प्रस्तुत गरिएको थियो ।
यसका साथै कार्यक्रममा थांका, मूर्ति, पश्मिना, गायन कचौरा, कार्पेट, गहनाजस्ता विभिन्न नेपाली हस्तकलाका वस्तु, नेपाली चिया र पानी प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
प्रतिक्रिया 4