
८ वैशाख, काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । वर्षेनि १० वैशाखका दिन पार्टी स्थापना दिवस मनाउदै आएको एमालेले यसपटक ‘युथ सेलिब्रेसन’ शीर्षकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
शक्ति प्रदर्शनका निम्ति देशभरबाट युवाहरू राजधानी उतार्ने योजना अन्तर्गत एमालेले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ । तयारीकै निम्ति महासचिव शंकर पोखरेलको संयोजनमा केन्द्रीय मूख्यालय च्यासलमा दिनहुँजसो बैठक बसिरहेको छ ।
सोमबार पनि पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरूका साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू सामेल भर्चुअल बैठक बस्यो । भर्चुअल बैठकमा सहभागी नेताहरूलाई महासचिव पोखरेलले देशभरका युवा काठमाडौं ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
एमालेले हरेक वडाबाट कम्तिमा एक जना महिला सहित दुई युवा काठमाडौं पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । युवाहरू काठमाडौं ल्याउने कामको अगुवाई भने एमालेबाट निर्वाचित प्रतिनिधिहरूलाई दिइएको एक नेताले बताए ।
जनप्रतिनिधिहरूको उपस्थितिलाई अनिवार्य गरिएको उनी बताउँछन् । ‘देशभरबाट युवाहरू ल्याउने काम भइरहेको छ । जिल्ला–जिल्लाबाट काठमाडौंका लागि गाडी छुटिरहेको छ,’ उनी भन्छन्, ‘यो वर्षको लोकतन्त्र दिवसलाई एमालेले ऐतिहासिक बनाउनेछ ।’
एमाले नेताहरूले गणतन्त्रको सुदृढीकरण र पार्टी नेतृत्वको रक्षार्थ देशभरका युवा सडकमा उतार्नुपर्ने आवश्यकता परेको बताइरहेका छन् । तयारी बैठकहरूमा, सामाजिक सञ्जाल र अन्तर्वार्ता मार्फत् एमाले नेताहरूले युथ सेलिब्रेसनको औचित्य प्रष्ट्याउने काम गरिरहेका छन् ।
‘… गणतन्त्रको लागि र प्रतिक्रियावादको विरुद्धमा, खासगरी राजावादीहरूको विरुद्धमा युथ सेलिब्रेसन नेकपा एमालेको आयोजनामा हुन गइरहेको छ । यसमा सहभागिताका लागि म देशभरीका युवाहरूलाई आह्वान गर्दछु’ एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गरेका छन् । भट्टराईले जस्तै एमालेका कयौं नेताहरूले भिडियो सन्देश मार्फत् ११ वैशाखमा हुने युथ सेलिब्रेसनमा सहभागिताका निम्ति अपिल गरिरहेका छन् ।
नेता–कार्यकर्तालाई युथ सेलिब्रेसनबारे प्रचार गर्न सम्बन्धित कमिटी मार्फत् निर्देशन दिइएको छ । धेरै युवा सहभागी गराउन बागमती प्रदेश र उपत्यकाका जिल्लाहरूमा बढी जोड दिइएको छ । आइतबार उपत्यकामा एमालेबाट जितेका जनप्रतिनिधिहरूको भेला राखिएको थियो ।
भेला मार्फत एमाले नेताहरूले जनप्रतिनिधिहरूलाई आफ्नो वडाबाट बढी भन्दा युवाहरू सडकमा उतार्न निर्देशन दिएका छन् । पार्टीका स्थानीय नेतृत्वहरूसँगको बैठक पनि एमालेले राखिसकेको छ । कोर–सिटीका पार्टी नेताहरूको भेला राखेर युवा परिचालनबारे छलफल भएको छ ।
जनसंगठनहरूलाई पनि विशेष तयारीका निम्ति निर्देशन दिइएको छ । सबै जनसंगठनका पदाधिकारीहरूलाई केन्द्रीय मूख्यालय च्यासल बोलाएर युवा सेलिब्रेसनमा आफ्नो संगठनका तर्फबाट व्यवस्थित परिचालनको निर्देशन दिइएको छ ।
जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ७७ वटै जिल्लाका सबै पालिका र वडाबाट जनपरिचालन हुनेगरी परिचालित हुन निर्देशन दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर गत ६ फागुनमा भिडियो सन्देश मार्फत् राजतन्त्रको पक्षमा अपिल गरेपछि एमाले सडक प्रदर्शनमा उत्रिएको छ । तीन महिने वडा केन्द्रीय अभियान चलाइरहेको एमालेले ज्ञानेन्द्र शाहका पक्षमा मानिस सडकमा ओर्लिएपछि पार्टी कार्यक्रम नै परिवर्तन गरेको छ ।
परिवर्तित कार्यक्रम अनुसार ११ चैतमा देशैभरका वडामा प्रदर्शन आयोजना गरिएको थियो । १८ चैतमा जिल्ला स्तरीय सभा गरेको एमालेले चैत मसान्तसम्म प्रदेश स्तरीय ठूला सभाहरू गर्यो । उपत्यका बाहिरका प्रमुख शहरहरूमा सभा गरेको एमालेले नयाँ वर्षको दिन सचिवालय बैठक राखेर युथ सेलिब्रेसन गर्ने निर्णय गरेको थियो ।
‘नयाँ पुस्तालाई लोकतन्त्र कसरी आएको थियो भन्ने बुझाउनु हाम्रो उद्देश्य हो’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘युथ सेलिब्रेसनमा हामी युवा र लोकतन्त्रलाई जोड्ने काम गर्छौ ।’ ४० वर्ष मुनिका युवाहरू लक्षित गरेर आयोजना हुने सेलिब्रेसनमा ५० हजार बढी सहभागी गराउने तयारी भइरहेको उनी बताउँछन् । ‘भन्नलाई त लाखौं भन्छौं, तर टाउको गनेर ५० हजार युवा उतार्दैर्छौ’, गौतम भन्छन् ।
प्रतिक्रिया 4