
८ वैशाख, काठमाडौं । तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ ।
तीनकुने प्रकरणमा प्रहरीको कमजोरीलाई लिएर प्रश्न उठिरहेका बेला त्यसबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले समिति बनाएको हो ।
उपत्यका प्रहरीका एक अधिकृतका अनुसार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालको नेतृत्वका गठित ७ सदस्यीय समितिले तीनकुने घटनाबारे छानबिन गरिरहेको छ ।
‘यो विशुद्ध प्रहरीको आन्तरिक छानबिन समिति हो, यसमा प्रहरीतर्फबाट कुनै कमजोरी भए कि भन्ने विषयमा बुझ्ने काम हुन्छ’, उनले भने, ‘भोलिका दिन पनि त्यस्ता कमजोरी नदोहोरिउन् भन्ने हिसाबले समिति बनाइएको हो ।’
प्रदर्शनको सुरक्षा व्यवस्थापनमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाटै कमजोरी भएको आरोप छ । ‘विभिन्न तहमा कमजोरी भएका छन्, कसैलाई कारबाही गर्नेभन्दा पनि त्यसलाई सुधार्नुपर्छ भन्ने मुख्य उद्देश्य हो’, ती अधिकृतले भने, ‘फिल्डमा केही अमिल्दा विषयहरु पनि देखिएका छन्, त्यसबारे पनि जाँच हुन्छ ।’
१५ चैतमा दुर्गा प्रसाईं जनकमान्डर तोकिएको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु र गोली लागेर २० जना घाइते भएका थिए । निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड समेत भएको थियो ।
प्रदर्शनका क्रममा प्रसाईं प्रहरीलाई नै किच्याउने गरी गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेर अगाडि बढेका थिए । उनी बागमती प्रदेश ०२७ च ३८४७ नम्बरको गाडीमा निषेधित क्षेत्र तोडेर भागेका थिए, केही अघि पुगेर नियन्त्रणमा परेका थिए । तर, केही बेरमै उनी फुत्किन सफल भएका थिए ।
केही समयपछि तीनकुनेबाट पेरिडाँडातिर जाने बाटोमा रहेको एक सटरमा लुकेका प्रसाईं त्यसपछि उम्किएर झापा हुँदै भारत प्रवेश गरेका थिए । प्रहरीलाई उनी भागेर बनेपा हुँदै पूर्वतिर लागेको सूचना समेत थियो । यद्यपि, उनी सीमासम्म पुग्न सफल भएका थिए । यी सबै विषयमा जाँचबुझ हुने अधिकृतहरू बताउँछन् ।
पछि प्रसाईंलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर ल्याएको थियो । तीनकुनेमा हिंसा भड्काउन संलग्न भएको आरोपमा राप्रपा नेता रवीन्द्र मिश्रसहित प्रसाईं समूहका अरू सदस्यलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणालाई चाहिँ स्वास्थ्यको कारण देखाउँदै हाजिर जमानतमा छाडिएको छ ।
प्रतिक्रिया 4