
८ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न नआएको बताएकी छिन् ।
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सहअध्यक्ष पराजुलीले छोटो प्रतिक्रिया दिँदै विद्यालय शिक्षा ऐन जारी नहुनुमा शिक्षामन्त्रीको दोष नरहेको पनि बताइन् ।
‘शिक्षा मन्त्रीलाई हामीले दोष लगाएका छैनौं । उहाँ सरल र गम्भीर हुनुहुन्थ्यो । असाध्य सकारात्मक र शिक्षकको माग सम्बोधन गर्ने सोचमा हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘यतिको सालिम मन्त्री अब आउनु हुन्छ भन्ने लाग्दैन । सरकारसँग के भएर राजीनामा दिनुभयो थाहा भएन ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
मन्त्री भट्टराईले शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा थिइन् । तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि नै शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् ।
प्रतिक्रिया 4