
९ वैशाख, काठमाडौं । ‘साहुजी, चिया सिड कस्तो हुन्छ ? हेरौं न एकपटक !’
काठमाडौं बुद्धनगरको एउटा मार्टमा ‘चिया सिड’ माग्दै गरेकी रिया न्यौपाने भेटिइन् ।
उनले मार्ट सञ्चालकलाई भनिन्, ‘चिया सिडले तौल घटाउँछ रे, म पनि खाएर विचार गर्नुपर्यो ।’
उनले सामाजिक सञ्जाल फेसबुकका रिल तथा टिकटकमा चिया सिडबारे गरिएका विज्ञापन देखेकी थिइन् ।
समाजिक सञ्जालका भित्तामा चिया सिड खाँदा स्वास्थ्यका लागि एकदमै फाइदा हुने र मोटोपन घट्ने भन्ने विज्ञापन छ्यापछ्याप्ती देख्न पाइन्छ ।
रियालाई पनि चिया सिडले साँच्चै तौल घटाउँछ त भन्ने उत्सुकता जागेपछि किन्न आएको बताइन् ।
‘स्वास्थ्यका लागि फाइदाजनक हुने र मोटोपन पनि घटाउन मद्दत गर्छ भनेर धेरैले भनेको सुनेकी छु,’ उनले सुनाइन्, ‘मेरै साथीहरू पनि दैनिक सेवन गर्छन् । त्यही भएर म पनि किन्न आएको ।’
रियाले पहिला २ सय ग्राम (१ पाउ) मात्रै चिया सिड लैजाने विचार गरिन् । ‘पहिला यो खाएर हेर्छु, राम्रो हुने रहेछ भने थप्दै जाउँला,’ उनले भनिन् ।
भर्खर चिया सिड खाने सोच बनाएकी रियाभन्दा काठमाडौं शान्तिनगरकी सुनिता संग्रौला एक कदम अगाडि छिन् । सुनिताले त चिया सिड सेवन गर्न थालेको ८ महिना भयो । ८ महिनाअघि उनको बिहानको सुरुवात चिया पिएर हुन्थ्यो । अहिले ‘चिया सिड पानी’ पिएर हुने उनी बताउँछिन् ।
‘मैले पनि चिया सिडबारे टिकटकबाट थाहा पाएकी हुँ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘अहिले मैले पनि दैनिक सेवन गर्छु । यसले बेफाइदा केही गरेको छैन । मलाई राम्रो गरिरहेको छ ।’
सुनिता चिया सिडले आफ्नो पेट घटाउन मद्दत गरेको सुनाउँछिन् । ‘मैले एक महिनाको वेट लस च्यालेन्ज पनि गरेकी थिएँ,’ उनले भनिन्, ‘त्यसमा मैले बिहान ७ देखि ८ बजेको बीचमा चिया सिड पानी पिएँ । अन्य डायटमा पनि ध्यान दिएकी थिएँ । चिया सिडले मात्रै मेरो एक महिनामा १० किलो तौल घटाएको भने होइन, यसले पनि सहयोग गरेको म मान्छु ।’
सुनिताले ८ महिनामा चिया सिडमा मात्रै १० देखि १५ हजार रुपैयाँ खर्च गरेको खुसीसाथ सुनाइन् ।
चिया सिड प्रयोग गर्नेमध्येकै एक हुन् काठमाडौं मैतीदेवीकी कौशिला पाठक । उनले पनि चिया सिड सेवन गर्न थालेको ६ महिना भयो ।
स्वास्थ्यलाई फाइदा गर्ने थाहा पाएपछि प्रयोग गर्न थालेको उनी सुनाउँछिन् । उनले ६ महिना अवधिमा चिया सिडमा ४ देखि ५ हजार रुपैयाँ खर्च गरेको बताइन् । चिया सिड फलफूलको जुससँग पिउने गरेको उनले बताइन्् ।
युवा पुस्ताको चिया सिड मोह
माथिका तीन प्रतिनिधि पात्र चिया सिडका पारखी हुन् । तीनै जना युवा हुन् । पछिल्लो पटक स्वास्थ्यप्रति अलि सचेत युवापुस्ता चिया सिड सेवनमा लागेको पाइन्छ । आफ्नो शरीरको तौल बढेका युवायुवती चिया सिड सेवनबाट फाइदा पुगेको बताउँछन् ।
चिया सिड सस्तोमै भने पाइँदैन । एक किलोको भाउ नै अधिकतम २ हजार रुपैयाँसम्म पर्ने गर्छ । तर, शरीरको तौल घटाउने मामलामा युवायुवती महँगो तिर्न राजी छन् ।
सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतमा चिया सिडको प्रशस्तै भिडियो देख्न पाइन्छ । जसमा चिया सिड सेवन गरेको र त्यसले गर्ने फाइदाबारे बखान गरिएको हुन्छ ।
त्यस्ता भिडियोमा स्वास्थ्य सम्बन्धी टिप्स दिने चिकित्सकहरू पनि भेटिन्छन् ।
चिया सिडको व्यापार गजब
तनहुँ दमौलीका रुपेश गुरुङ काठमाडौं गोंगबुमा ‘विश्वास हर्बल कम्पनी प्रालि’ चलाउँछन् ।
विश्वास हर्बलले आयुर्वेद सम्बन्धी सामग्री बेच्ने गरेको छ । रुपेशले दुई वर्षदेखि चिया सिड बेच्दै आएको सुनाए । चिया सिडको नेपालमा राम्रो व्यापार भएपछि रुपेशले एक वर्षदेखि चिया सिडलाई आफ्नै लेबलिङ र ब्रान्डिङ गरेर बेचिरहेका छन् ।
‘चिया सिड बेच्न लागेको दुई वर्ष भयो, पहिला हामीले अरूकै ब्रान्ड बेच्ने गरेका थियौं,’ रुपेशले अनलाइनखबरसँग भने, ‘यसको व्यापार राम्रो हुन थालेपछि हामीले असनबाट बोराका बोरा ल्याएर आफैं लेबलिङ र ब्रान्डिङ गरेर बेचिरहेका छौं । यसको कारोबार राम्रो छ ।’
उनका अनुसार चिया सिड अन्य देशबाट भारत आउँछ र भारतबाट नेपालमा आयात हुन्छ । रुपेशले भने इन्द्रचोक, असन र नरदेवीबाट बोरा–बोरा ल्याउने गरेका छन् ।
मोटोपन घटाउन मद्दत गर्ने र स्वास्थ्यलाई अनेक फाइदा गर्ने भएकाले नै चिया सिडमा मान्छेको आकर्षण बढ्दै गएको उनी बताउँछन् ।
रुपेशले चिया सिडसँगै पम्पकिन सिड, सनफ्लावर सिड र फ्लेग सिड (आलस) को पनि राम्रो व्यापार हुने गरेको बताए ।
उनले चिया सिडको अनलाइन व्यापार गर्ने गरेका छन् । फेसबुक र टिकबाट चिया सिडको अर्डर आउँछ । उनको स्टोर गोंगबुमा छ । चिया सिड किन्न चाहनेले अनलाइन अर्डर गर्न सक्छन् ।
उनको स्टोरबाट चिया सिड बाहिरी जिल्लामा समेत पुग्ने गरेको छ ।
काठमाडौंमा मात्रै नभइ देशका अन्य प्रमुख सहरहरूमा पनि यसको राम्रो बिक्री भइरहेको देखिन्छ । फेसबुक र टिकटकमा गरिएका विज्ञापनले पोखरा, झापा, बुटवल, चितवन लगायत ठूला सहरमा पनि चिया सिड प्रयोगकर्ता उल्लेख्य रहेको देखाउँछ ।
पछिल्लो पटक चिया सिड भाटभटेनी सुपर स्टोर, बिगमार्ट जस्ता ठूला डिपार्टमेन्टल स्टोरमात्र नभई साना पसल हुँदै अनलाइन सपिङ प्लेटफर्महरूमा खरिद गर्न पाइन्छ ।
चिया सिडको भाउ नेपालमा कति ?
रुपेशका अनुसार उनको कम्पनीमा चिया सिडको मात्रै दैनिक माग २० देखि ३० वटासम्म आउने गर्छ । त्यसरी गरिएका अनलाइन अर्डरमा २ सय ग्राम, आधा किलो र एक किलोसम्म हुने गर्छ । एक किलो चिया सिडको मूल्य १ हजार ३ सय रुपैयाँ पर्छ । आधा किलोको ७ सय र २ सय ग्रामलाई ३ सय रुपैयाँ पर्ने उनले बताए ।
चिया सिड क्वालिटी (गुणस्तर) का हिसाबले दुई थरीको आउने गर्छ । राम्रो क्वालिटीको चिया सिडलाई १ हजार ३ सय रुपैयाँ किलोमा बेच्ने गरिएको र अलि कम क्वालिटीको ४ सय ५० रुपैयाँ किलोमा बेच्ने गरिएको उनले सुनाए । कम क्वालिटीको चिया सिडमा काठको धुलो, ढुंगा मिसिएको आउने उनको भनाइ छ ।
नेपालमा चिया सिड आयातको अवस्था
नेपालमा आधिकारिक हिसाबमा चिया सिड कति आयात हुन्छ भन्ने तथ्यांक सरकारी निकायबाट पुष्टि गर्न सकिँदैन ।
भन्सार विभागले चिया सिडकै नाममा आयात तथ्यांक राखेको पनि भेटिँदैन । भन्सारको तथ्यांक केलाउँदा चियाका नाममा विभिन्न खालको चिया र सिडका नाममा विभिन्न बीउबिजन आयातको तथ्यांक भेटिए पनि चिया सिड नै भनेर आयात तथ्यांक भने भेटिँदैन ।
तर, विश्वका ९० भन्दा बढी देशको आयात–निर्यात तथ्यांक अद्यावधिक गर्ने भोल्जा डटकममा उपलब्ध तथ्यांक हेर्दा नेपालले राम्रै परिमाणमा चिया सिड आयात गरिरहेको छ ।
भोल्जा डटकमका अनुसार सन् २०२४ मा नेपालले करिब ७५ हजार किलो चिया सिड आयात गरेको देखिन्छ । यसको कुल मूल्य २ लाख ४० हजार अमेरिकी डलर अर्थात् ३ करोड २८ लाख ८० हजार रुपैयाँ बराबर रहेको छ ।
नेपालमा चिया सिड आयात हुने प्रमुख देश भारत हो । नेपाल आइपुग्ने चिया सिडको परिमाणमा सबैभन्दा धेरै हिस्सा भारतको हुने गर्छ ।
नेपालमा चिया सिड आयात हुने प्रमुख देश भारत हो । अधिकांश परिमाण भारतबाट आउने गर्छ ।
चिया सिड सेवन गर्दा के हुन्छ ?
स्वास्थ्यप्रति सचेत उपभोक्ताले चिया सिड उपभोग गर्ने गर्छन् । चिया सिडमा ओमेगा–३ फ्याट्टी एसिड, एन्टिअक्सिडेन्ट, फाइबर र मिनरल प्रचुर मात्रामा हुने भएकाले स्वास्थ्यलाई यसले निकै फाइदा पुग्ने पोषणविद् तथा चिकित्सकहरू बताउँछन् ।
पोषणविद् अनुश्री आचार्य चिया सिडमा हुने फाइबर, प्रोटिन, क्याल्सियम, म्यागनिज, ओमेगा–३ फ्याट्टी एसिड, फस्फोरस र एन्टिअक्सिडेन्टले गर्दा ‘मेटाबोलिज्म’ राम्रो हुने बताउँछिन् ।
उनका अनुसार मेटाबोलिज्म सुधार गर्नका लागि चिया सिडले सहयोग गर्छ । ‘नेपाली समाजमा सामान्य दाल, भात, तरकारी खाँदा कम हुने माइक्रोन्युट्रियन्स यसबाट पूरा हुन्छ,’ पोषणविद् आचार्य भन्छिन्, ‘तर, पीसीओसी र पीसीओडीका बिरामीले भने चिया सिड चिकित्सकको सल्लाहविना खानु हुँदैन ।’
पोषणविद् आचार्य चिया सिडको फाइदा र बेफाइदा शारीरिक अवस्थामा भर पर्ने बताउँछिन् । नेपाली समाजमा देखासिकी गर्ने प्रचलन बढी भएकाले आफ्नो शरीरको ख्यालै नगरी कुनै पनि कुरा प्रयोग गर्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।
अहिले जसले पनि चिया सिड सेवन गर्ने ‘ट्रेन्ड’ चलेको छ । तर, प्रयोगकर्ताको आफ्नो शरीरका लागि त्यो आवश्यक हो कि होइन, त्यसको सत्यतथ्य पत्ता लगाएर र चिकित्सकसँग सल्लाह गरेर मात्रै प्रयोग गर्न उनको सुझाव छ ।
चिया सिड खेती नेपालमा हुँदैन
नेपालमा भने चिया सिडको खेती भएको पाइँदैन । कृषि तथा पशुपन्छी मन्त्रालयका अधिकारीहरूका अनुसार चिया सिडको नेपालमा उत्पादन र उत्पादन गर्ने किसानको तथ्यांक छैन ।
यस्तै कृषि विज्ञ कृष्ण पौडेल चिया सिडको गुण बाबरीसँग मिल्न जाने बताउँछन् । उनका अनुसार यसको खेती गर्नेबारे त्यति धेरै अध्ययन भएको पाइँदैन ।
‘पहिला हामीले बाबरीको बियाँलाई पानीमा भिजाएर खान्थ्यौं, बाबरीको बियाँ भिजाउँदा चिया सिड जस्तै नै हुन्छ,’ उनले भने, ‘फाइबरयुक्त भएकाले अहिले चिया सिडको प्रयोग बढी मात्रामा भएको हो । यसको उत्पादन र खेती नेपालमा हुने वा नहुनेबारे अध्ययन नै गर्नुपर्छ ।’
चिया सिड कहाँ धेरै उत्पादन हुन्छ ?
चिया सिडको वैज्ञानिक नाम ‘साल्भिया हिस्पानिका’ हो । यो मध्य र दक्षिणी मेक्सिको र ग्वाटेमालाको मूल निवासी फूल फुल्ने बोट हो । यसलाई स्युडोसेरियल मानिन्छ ।
मुख्यतया यसको खाद्य, हाइड्रोफिलिक चिया बीजका लागि खेती गरिन्छ, जुन पश्चिमी दक्षिण अमेरिका, पश्चिमी मेक्सिको र दक्षिणपश्चिमी अमेरिकाका धेरै देशमा खानाको रूपमा उब्जनी गरिन्छ ।
अहिले भारतका मन्दसौर, निमच र अन्य केही जिल्लामा चिया सिडको बीउको खेती सुरु भएको छ । यो चिसो सुरु हुने महिना अक्टोबर र नोभेम्बरमा रोपिन्छ । यो बाली १ सयदेखि १ सय १५ दिनमा तयार हुन्छ ।
चिया सिडको विश्व बजार
विश्व बजारमा चिया सिडको कुल व्यापारको आकार ८९ अर्ब ३१ करोड अमेरिकी डलर अर्थात् १ खर्ब २२ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ) बराबर रहेको ग्रान्ड भ्यु रिसर्चको तथ्यांकले देखाउँछ । यो सन् २०२३ को तथ्यांक हो ।
ग्रान्ड भ्यु रिसर्चका अनुसार चिया सिडको विश्व बजार वार्षिक १३.९ प्रतिशतका दरले २०३० सम्म बढ्ने छ । यो भनेको वार्षिक १२ करोड ४१ लाख ४० हजार डलरका दरले बजार बढ्ने छ ।
यो हिसाबमा २०२५ मा चिया सिडको विश्व बजार १ अर्ब १ करोड ७२ लाख ४० हजार डलर अर्थात् १ खर्ब ३९ अर्ब ३६ करोड १८ लाख ८० हजार रुपैयाँ बराबर हुनेछ ।
प्रतिक्रिया 4