+
+
Shares
बदलिएका बस्ती :

धनगढीभित्र एउटा बदलिएको गाउँ छ

२०६७ सालसम्म गाउँमा गतिलो सडक थिएन, छिटफुट बाहेक विद्युत् थिएन । खानेपानीको सुविधा हुने कुरै भएन । तर, अहिले गाउँ जोड्ने कालोपत्रे छ, खानेपानी आयोजना पुगेको छ । सबैको घरमा बिजुली बल्छ र धेरै मानिस स्वरोजगार छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ वैशाख ९ गते ८:१९

९ वैशाख, धनगढी । धनगढीभित्र एउटा गाउँ छ, जसको शानमान होमस्टेले फेरिदियो । नत्र त डेढ दशकअघिसम्म भादा गाउँ भन्नेबित्तिकै दीनहीन र विकटताको पर्यायमात्रै सुनिन्थ्यो ।

छोराछोरी स्कूल पढाउन नसक्ने, आँगनकै खेतबारीमा उत्पादित अन्नबाली पनि आम्दानीको स्रोत हो भन्ने चेतनाको अभाव । स्वास्थ्य, शिक्षा, बिजुली बत्ती र सडक पूर्वाधार त परका कुरा थिए । साँच्चिकै भन्ने हो भने, डेढ दशक अघिसम्म अशिक्षा, बेरोजगारी र विकटताको अर्को नाम थियो– भादा गाउँ ।

यो सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगरपालिका भित्रकै एउटा गाउँको कथा हो । धनगढी–१६ मा पर्ने भादा गाउँमा मानव बस्ती बसेको इतिहास लामो छ । तर यो गाउँले मुहार फेरेको र लय समातेको भने धेरै भइसकेको छैन ।

धनगढी उपमहानगरपालिकाबाट १७ किलोमिटरको दूरीमा मात्र रहेको भादा गाउँमा अहिले अशिक्षा, बेरोजगारी र विकटता इतिहास भइसकेका छन् । दुई दशक अघिसम्म गतिलो सडक, खानेपानी, स्कूल, स्वास्थ्य संस्था नदेखेको भादा अहिले अरूका लागि प्रेरणाको स्रोत बनेको छ । भादा गाउँको आर्थिक, सामाजिक हैसियत डेढ दशक यता साँच्चिकै फेरिएको छ ।

भादामा बस्ती विकासको सुरुआत गर्ने व्यक्ति भागवत दास भएको गाउँका अगुवा बताउँछन् । दाङ घर भएर तान्त्रिक विद्या मार्फत वैद्य र झाँक्रीको समेत काम गर्ने दासले ठाउँ–ठाउँमा बस्ती बसाले पनि गैर थारूले दुःख दिएर विस्थापित भएर हिंड्नुपर्ने बाध्यता थियो ।

भगवती दासको नामले चिनिने भागवत दास थारू धेरै वर्षअघि यो ठाउँमा आएर बसेको स्थानीय बताउँछन् । भागवत वैद्य र झाँक्री पनि थिए । देवता खेलाउने दासले गाउँमा कुनै दैवीय प्रकोप भोग्न नपरोस् र यो ठाउँ छाडेर फेरि अन्यत्र जान नपरोस् भन्दै पूजाअर्चना पनि गरेका थिए ।

दासको मृत्युपछि उनकै नामबाट गाउँको नामकरण गरेर भादा राखिएको किंवदन्ती छ । भादा गाउँका स्थानीय पदमबहादुर चौधरी (६१) भागवत दासकै नामबाट गाउँको नाम पनि भादा राखिएको बताउँछन् । उनै भागवतले जंगल छेउमा रहेको फाँटलाई सम्याएर बस्ती बसाएका थिए ।

होम स्टेले फेरेको मुहार

भादा गाउँको मुहार र यहाँका मानिसको जीवनस्तरमा परिवर्तन ल्याउन भादा होम स्टेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय बताउँछन् । कुरा २०६६ सालतिरको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तारा गाउँ विकास समितिले होम स्टेको अवधारणा सहित कैलालीका थारू बस्तीमा पुगेको थियो ।

जिल्लामा रहेका कैयौं थारू बस्तीमा विज्ञ टोलीले होम स्टे सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरेको थियो । कैलालीमा रहेका थारू बस्तीको अध्ययन सकेपछि तारा गाउँ विकास समितिको विज्ञ टोलीले भादा होम स्टे सञ्चालनका लागि उचित गन्तव्य हुनसक्ने निष्कर्ष निकाल्यो ।

विज्ञ टोलीले होम स्टे सञ्चालन गर्दा रोजगारी सिर्जना, स्थानीय उत्पादन बिक्री गरेर आम्दानी हुने कुरा सुनाएपछि त्यहाँका स्थानीय पनि होम स्टे सञ्चालन गर्न तयार भए । तर, पहिलो पटक नाम सुनेको होम स्टे के हो ? कसरी सञ्चालन गर्ने ? होम स्टेमा के–के गर्ने हो ? भन्नेमा भने सबै अनभिज्ञ थिए ।

तारा गाउँ विकास समितिले होम स्टे बारे आधारभूत तालिम दिएर सहयोग गर्ने भनेपछि थारू अगुवाहरूले हिम्मत जुटाए । उनीहरूले थारू होम स्टे नाम दिएर जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गराए । थारू सामुदायिक होम स्टे सञ्चालक समितिका अध्यक्ष लक्ष्मणनारायण चौधरी १७ पुस २०६७ देखि होम स्टेको सुरुआत गरेको बताउँछन् ।

‘होम स्टेका मापदण्ड, सञ्चालन गर्ने तौरतरिका केही थाहा थिएन तर सरकारी र गैरसरकारी संघ–संस्थाबाट तालिम तथा अन्य सहयोग मिल्ने आश्वासन पाएपछि आँट गरेका थियौं’ अध्यक्ष भन्छन्, ‘त्यो बेला १६ वटा घरबाट होम स्टे शुरू भएको हो । त्यो भादा गाउँको विकासको पहिलो पाइला थियो भन्ने अहिले आएर थाहा भयो ।’

अहिले २० घरमा सामुदायिक होम स्टे सञ्चालन गरिरहेको भादा गाउँ आफैंमा व्यावसायिक र व्यवस्थित गाउँ बनेको छ । यो गाउँमा विकासको मूल फुटाउने पहिलो खुट्किलो होम स्टे थियो भन्ने कुरा त्यसपछि भएका परिवर्तनले छरपस्ट पार्छ ।

होम स्टे सञ्चालक समितिका अध्यक्ष लक्ष्मणका भनाइमा २०६७ सालसम्म गतिलो सडक थिएन । छिटफुट बाहेक विद्युत् विस्तार हुन सकेको थिएन । खानेपानीको सुविधा थिएन भने आम मान्छेमा व्यावसायिक बन्नुपर्छ भन्ने चेत पनि थिएन । तर अहिले यी सबैथोकको परिपूर्ति भादामा भएको छ ।

होम स्टे र भादा गाउँलाई जोड्ने कालोपत्रे छ । गाउँमा खानेपानी आयोजना पुगेको छ । घर–घरमा धारा पुर्‍याउने काम जारी छ । सबैको घरमा बिजुली बलेको छ । धेरै मानिसहरू स्वरोजगार छन् । गाउँमै हाईस्कूल खुलेपछि हिजो जस्तो अध्ययनका लागि धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आफ्नै खेतबारीमा उम्रिएको उत्पादनलाई आय, आम्दानीसँग जोड्न स्थानीयहरू सफल भएका छन् ।

होम स्टेका अध्यक्ष लक्ष्मणनारायण चौधरी भादा होम स्टे खुलेपछि सडक विस्तारदेखि अन्य पूर्वाधार विकासले फड्को मारेको कुरामा दुईमत नभएको बताउँछन् । होम स्टेका संस्थापक मध्येकै अर्का पदमबहादुर चौधरी आँखै अगाडि देखेका परिवर्तनलाई शब्दमा वर्णन गर्न नसकिने बताउँछन् ।

उनका भनाइमा थारू होम स्टेले यहाँका मानिसलाई स्वावलम्बी बन्न मात्रै सिकाएको छैन, आफूले उत्पादन गरेको सामानको महत्व बुझ्न सिकाएपछि यो परिवर्तन सम्भव भएको हो । उनका अनुसार होम स्टे खुलेको १४ वर्षपछि गाउँको सडक कालोपत्रे भएको १० वर्ष भएको छ भने पूर्ण रूपले विद्युत् विस्तार भएको पनि लगभग १५ वर्ष पुगेको छ ।

‘तारा गाउँ विकास समितिले भादामा होम स्टे सञ्चालन गरौं भन्दा म थारू कल्याणकारिणी सभाको ५ नम्बर क्षेत्रको सभापति थिएँ’ उनी स्मरण गर्छन्, ‘उहाँहरूले महिलालाई गाउँमै स्वरोजगार बनाएर राम्रो आम्दानी गर्न सकिन्छ । स्थानीय उत्पादन घरमै बसेर बिक्री गर्न सकिन्छ भन्नुभएपछि हौसिएर लागेका थियौं ।’

हजार पर्यटक, करोडौं आम्दानी

२० को संख्यामा रहेका भादाको थारू होम स्टेका पाहुना घरले वर्षेनि कति जना पर्यटकको स्वागत सत्कार गर्न सक्लान् ? १००, २०० वा ५०० होइन भादा गाउँ थारू होम स्टेले वर्षमा कम्तीमा पनि १५०० को सेवा गर्ने गरेको छ ।

अध्यक्ष लक्ष्मणनारायण चौधरीका अनुसार होम स्टेमा प्रत्येक वर्ष कम्तीमा पनि १५०० देखि ३५०० आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । उनीहरूको सेवा, सत्कार गरेबापत होम स्टेले वार्षिक रूपमा करीब १ करोड हाराहारीमा आम्दानी गर्ने गरेको छ ।

त्यसमा खर्च कटौती गर्दा पनि स्थानीय होम स्टे सञ्चालकहरूले राम्रो रकम बचत गरिरहेका हुन्छन् । यो अनुपात हेर्दा १४ वर्षको अवधिमा थारू होम स्टेमा झन्डै ५० हजार जनाले भ्रमण र यहाँको स्वादको मज्जा लिइसकेका छन् ।

भादा गाउँमा हरेक वर्ष लाग्ने महोत्सव । तस्वीरु : जगत साउद

केही समय कोरोना महामारीका कारण होम स्टे व्यवसाय शिथिल भएको थियो तर स्थिति सामान्य भएपछि भने पुनः लयमा आएको छ । होम स्टेमा छिटफुट विदेशी नागरिक बाहेक बढीजसो आन्तरिक पर्यटकहरू नै आउने गर्छन् । हरेक वर्ष मनाइने महोत्सवबाट समेत राम्रो आम्दानी हुने गरेको छ ।

अर्कोतिर पहिले कृषि कार्यमा मात्र संलग्न यहाँका किसान होम स्टे सञ्चालन भएपछि व्यावसायिक रूपमा तरकारी खेती, माछापालन, कुुखुरापालन, च्याउ खेतीतर्फ पनि आकर्षित भएका छन् । उनीहरूले त्यसबाट पनि मनग्य आम्दानी गर्ने गरेको अध्यक्ष चौधरी बताउँछन् ।

गाउँमा छैनन् बेरोजगार

भादा गाउँका छिटफुट बाहेक अधिकांश व्यक्तिहरू केही न केही गरिरहेको भेटिन्छन् । होम स्टे सञ्चालन गरेको परिवारका सदस्यहरू दिनभर जसो आफ्नो काम गर्छन् भने साँझपख घरमा आउने पाहुनाको स्वागत सत्कारमा खटिन्छन् ।

घरमै उत्पादित वस्तुले अतिथिको सत्कार गरेबापत तोकिएको रकमले उनीहरूको जीविका मज्जाले चलेको छ । पदमबहादुर भन्छन्, ‘कतिपयले पसल खोलेका छन् । धेरैजसो गाउँका केटाहरू सिकर्मी, डकर्मीको काम गर्छन् । अहिले त युपिभीसीका झ्यालढोका बनाउने काममा पनि प्रशस्त छन् ।’

भादा गाउँका प्रायःजसो मानिस जीविका चलाउनका लागि घर र धनगढीभन्दा बाहिर छैनन् । छिटफुट रूपमा भने छिमेकी मुलुक भारतमा रोजगारी गर्न जानेहरू पनि छन् । तर पहिले भने यहाँका धेरैजसो मानिसहरू भारतको रोजगारीमा निर्भर थिए ।

बदलिएको भादा गाउँ । तस्वीर : जगत साउद

‘मैले हाम्रो गाउँमा भादा होम स्टेले भौतिक विकाससँगै मानिसको चेतनास्तरमा पनि उत्तिकै परिवर्तन ल्याएको ठान्छु’ पदमबहादुर चौधरीले भने, ‘खासगरी यहाँका मान्छेले व्यापार व्यवसाय गर्न, आफ्नो उत्पादन बिक्री गर्न सिके र सबैमा जागरुकता बढेर यो स्थिति सम्भव भएको हो कि ?’

अहिले भादा होम स्टेका रूपमा मात्र होइन, थारूको मौलिकता र संस्कृति सम्वर्द्धनको अर्को महत्वपूर्ण गन्तव्य पनि बनेको छ । सन् २०११ देखि थारू संस्कृतिको संरक्षण र मौलिकता प्रवद्र्धनको नारा दिएर भादा गाउँमा हरेक वर्ष महोत्सव हुने गरेको छ । महोत्सवको माध्यमबाट यहाँका मान्छेहरूले आम्दानी गर्दै आएका छन् ।

अर्कोतिर थारू होम स्टेले स्थानीयलाई सीपमा आधारित जस्तै हस्तकलाका सामग्री निर्माण, बेतबाँस जस्ता तालिमहरू दिएर पनि आत्मनिर्भर बनाउन प्रेरित गरेको छ । गाउँमा भएको भौतिक विकासका अतिरिक्त सबैभन्दा ठूलो छोराछोरीलाई पढाउन सक्नेगरी आत्मनिर्भर र आफूले उत्पादन गरेको वस्तुको महत्व बुझ्ने खालको सचेतना अभिवृद्धि अहिलेसम्मको सबैभन्दा ठूलो परिवर्तन भएको स्थानीयको भनाइ छ ।

क्लबले खोलेको थियो स्कूल

पदमबहादुर चौधरीहरूका पालामा गाउँमा विद्यालय थिएनन् । उनीहरूले गाउँभन्दा टाढा पर्ने बेहडाबाबा माध्यमिक विद्यालयमा प्राथमिक शिक्षा अध्ययन गरेका थिए भने धनगढीमा माध्यमिक शिक्षा पढे ।
तर अहिलेका बालबालिका भने गाउँमै माध्यमिक तहसम्मको अध्ययन गर्न पाइरहेका छन् । यो पनि भादा गाउँको विकासको अर्को उदाहरण हो । लक्ष्मणनारायण, पदमबहादुरहरूले गाउँको उत्थानका लागि भन्दै दीपेन्द्र चारपाते युवा क्लब खोलेका थिए ।

उनीहरूकै अगुवाइमा क्लबकै नामबाट दीपेन्द्र चारपाते माध्यमिक विद्यालयको स्थापना भएको थियो । त्यसपछि भने यहाँका बालबालिकाहरू आँगनमै माध्यमिक तहसम्मको शिक्षा पढ्न पाउन थालेका हुन् । त्यो बेला क्लबको अगुवाइमा विद्यालय स्थापना गरिएको भए पनि पछि भने सरकारले नै स्वामित्व लिएको स्थानीय बताउँछन् ।

शिक्षाको विकासपछि यहाँका मानिसको चेतनास्तरमा समेत बदलाव आएको छ । वर्षौं पहिले १५–१६ परिवारमा सीमित भादा गाउँमा विस्तारै घरधुरीको संख्या थपिंदै गएको छ । अहिले यहाँ ३०० भन्दा बढी थारू परिवारको मात्रै बसोबास रहेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?