+
+
Shares

इन्जिनियरिङ समुदायको आवाज नजरअन्दाज नगरियोस्

राष्ट्रले इन्जिनियरहरूलाई विश्वास, अवसर र मर्यादा दिन सकेमा, उनीहरू सच्चा विकासदूतका रूपमा राष्ट्र समृद्धिको मार्गचित्र कोर्न सक्षम छन् ।

इ. सुदर्शन शर्मा इ. सुदर्शन शर्मा
२०८२ वैशाख ९ गते ८:२८

कुनै पनि देशमा राजनैतिक परिवर्तनहरु सँगै निश्चित व्यवस्थामा विश्वस्त र प्रतिबद्ध रहँदै शासन प्रणाली अगाडि बढ्ने गर्दछ। नेपालमा विगतको दशकहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आधारित रहेर संविधान जारी लगायतपश्चात ऐन कानुन  निर्माणको चरणमा प्रवेश गरेको छ। यसो हुँदा यस व्यवस्थामा राष्ट्रको प्रगतिमा सम्पूर्ण अवयवहरुलाई तादात्म्य रुपमा परिचालन गर्न आवश्यक वैधानिक प्रावधानहरुको प्रबन्ध गर्न राजनीति केन्द्रित छ भन्ने विश्वास गरिनुपर्छ । तर त्यो विश्वास त्यतिबेला मात्र सार्थक हुन्छ, जब अवयवहरूको आवाज संगठित र हस्तक्षेपकारी ढंगमा प्रकट हुन्छ ।

समग्र देशको समुन्नतिको सपना त्यस देशको भौतिक पुर्वाधारको अवस्थामा जोडिन्छ। सबैखाले विकासका पुर्वाधारहरूको मुख्य आधार नै इन्जिनियरिङ्ग क्षेत्र र त्यसको सम्मानित र सहज सञ्चालन हो। यसर्थ, जुनसुकै समुन्नतिको सपना देख्ने वा देखाउने सरोकारवालाहरूले इन्जिनियरिङ्ग क्षेत्रलाई यथार्थ मुल्यांकन गर्न सक्नुपर्दछ । अन्यथा, ती सबै सपनाहरु काल्पनिक साहित्य मात्रै हुन्,  जुन यथार्थमा आइपुग्न पनि अन्ततोगत्वा यस क्षेत्रकै गौरवपूर्ण उपस्थिति आवश्यक छ। यसरी हरेक पक्षको समुन्नति सँग जोडिएको इन्जिनियरिङ क्षेत्र आफैं पनि थप प्रखर रुपमा मुखरित हुन र ऐक्यबद्ध हुन आवश्यक छ साथै त्यस्ता विगतदेखिका प्रयासहरु महसुस गर्न सकिने स्तरमा आउनुपर्छ।

नेपाल विश्व परिदृश्यको तुलना

मानव समाजको विकासक्रममा इन्जिनियरिङ क्षेत्रले मूलभूत भूमिका निर्वाह गर्दछ। वस्तु र चेतनाको द्वन्दबाट गुज्रिरहेको संसारमा मानव जातिले आर्जन गरेको वस्तुसँगको सम्बन्धलाई कुनै न कुनै नाममा र कुनै न कुनै तवरबाट इन्जिनियरिङ क्षेत्रले सम्बोधन गर्दछ। आधुनिक विश्वमा शिक्षा, प्रविधि, पूर्वाधार, ऊर्जा, सूचना प्रवाहदेखि लिएर स्वास्थ्य सेवासम्मका प्रत्येक पक्षमा यसको योगदान रहेको छ। नेपाल र विश्वका अन्य मुलुकहरूबीच इन्जिनियरिङ क्षेत्रमा प्रसस्तै समानता तथा उल्लेखनीय भिन्नता पाइन्छ।

नेपालमा इन्जिनियरिङ अध्ययनका लागि स्थापित शिक्षण संस्थाहरूले अनवरत रुपमा नेपालको इन्जिनियरिङ क्षेत्रको शैक्षिक पूर्वाधारमा योगदान पुर्याउँदै आएका छन् । यद्यपि, नेपालमा इन्जिनियरिङ शिक्षामा अझै पनि प्रयोगात्मक अभ्यासको कमी, अनुसन्धानको सीमित अवसर र पाठ्यक्रमको अस्पष्ट सैद्धान्तिक झुकाव देखिन्छ। अर्कोतर्फ, विदेशमा इन्जिनियरिङ शिक्षा अनुसन्धान-आधारित, प्रयोगशाला केन्द्रित र उद्योगसँग सहकार्यमा आधारित हुने गर्दछ । विभिन्न विकसित देशहरुमा प्राविधिक विश्वविद्यालयहरूले शिक्षा र समाज तथा उद्योग बीचको गहिरो सम्बन्ध विकास गरेका छन्।

रोजगारीको सन्दर्भमा हेर्दा, नेपालमा इन्जिनियरहरू प्रायः निर्माण, सडक, जलविद्युत, टेलिकम, र सूचना प्रविधि क्षेत्रमा संलग्न देखिन्छन् । यद्यपि, मौलिक इन्जिनियरिङको रुग्ण दस्तावेजिकरण, उद्योगहरूको सीमितता, सरकारी योजनाहरूको अस्थिरता र निजी क्षेत्रको अपर्याप्त लगानीका कारण दक्ष इन्जिनियरहरूले समेत मनपर्ने रोजगारी पाउन कठिन छ ।

इ. सुदर्शन शर्मा

विदेशमा भने इन्जिनियरहरू नवीनतम क्षेत्रमा काम गर्ने अवसर पाउँछन्। रोबोटिक्स,एयरोस्पेस,कृत्रिम बुद्धिकता (एआई), नवीकरणीय ऊर्जा, जैविक प्रविधि जस्ता क्षेत्रमा समेत काम गर्ने पर्याप्त अवसरहरु तथा उच्च पारिश्रमिक, अनुसन्धानको वातावरण र प्राविधिक नवप्रवर्तनको कारण विदेशमा इन्जिनियरिङ पेशा धेरै नै आकर्षक तथा सम्मानित रहेको छ।

प्रविधि र नवप्रवर्तनको क्षेत्रमा नेपाल अझै परम्परागत प्रणालीमै आधारित छ। केही स्टार्टअपहरू, जस्तै कृषिमा प्रविधिको प्रयोग, डिजिटल सेवा प्रवाह र स्मार्ट प्रणालीको सुरुआत भइसके पनि ती प्रयासहरू प्रारम्भिक चरणमै सीमित छन् ।

सरकार तथा निजी क्षेत्रबाट पर्याप्त लगानी नहुनु र अनुसन्धानका लागि आवश्यक संरचना अभावले नवप्रवर्तनको गतिमा अवरोध पुर्याइरहेको छ। विदेशमा भने प्रविधिको विकास अत्यन्त तीव्र गतिमा भइरहेको छ। चौथो औद्योगिक क्रान्तिअन्तर्गत आईओटी, मेसिन लर्निङ, ठूला डेटा, स्मार्ट पूर्वाधार लगायतका विषयमा इन्जिनियरहरू अग्रसर छन्।

अर्को महत्त्वपूर्ण पक्ष हो वौद्धिक पुँजी पलायन अर्थात ‘ब्रेन ड्रेन’। अन्य क्षेत्रमा जस्तै, नेपालमा दक्ष र प्रतिभाशाली इन्जिनियरहरू पनि सीमित रोजगारीका अवसर, उद्यमशिलता केन्द्रित प्रणाली तथा सँस्कारको अभाव, कम पारिश्रमिक, र प्रविधिको कमजोर अवस्था आदिका कारण विदेशिने क्रम बढ्दो छ ।

विश्वव्यापीकरणको भावमा समेत निरंकुश शासकहरुद्वारा धावा बोल्ने क्रम कायमै रहेको हुँदा देशको वौद्धिक पुँजी पलायनको समस्या थप विकराल स्वरुपमा प्रकट हुन सक्छ । तर  कुनै पनि वौद्धिक पुँजी असहज अवस्थामा लामो संघर्ष गर्न असमर्थ हुन सक्छ। उसो त वौद्धिक पुँजी पलायन भन्दा पीडादायी ‘वौद्धिक पुँजी पलायन’ हुन्छ ।

यो  वौद्धिक पुँजी पलायनको समस्या केवल व्यक्तिको व्यक्तिगत निर्णय मात्र होइन, देशको दीर्घकालीन विकासमा बाधकसमेत बन्ने छ । यसको विपरीत, प्रविधिमा समृद्ध देशहरूले आफ्नो स्थितिलाई उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सँस्कारमा अभिप्रेरित गर्दै विदेशी प्रतिभालाई आकर्षित गर्ने नीति र वातावरण बनाएका छन्, जसका कारण उनीहरूको नवप्रवर्तन क्षमतामा समेत उल्लेखनीय वृद्धि भएको छ।

यसप्रकार, नेपालमा इन्जिनियरिङ क्षेत्रले आधारभूत प्रगति गरिरहेको भए पनि अझै धेरै सुधारको आवश्यकता छ । शैक्षिक गुणस्तरमा सुधार, अनुसन्धान प्रवर्द्धन,  उद्योग र शिक्षा बीच सहकार्य र नवप्रवर्तनको प्रवर्द्धनका लागि वातावरण निर्माण गर्न सकेमा इन्जिनियरिङ क्षेत्र देशको समग्र विकासको मेरुदण्ड बन्न सक्छ । विदेशका उदाहरणहरूबाट सिकेर, नेपालले पनि आफ्ना इन्जिनियरहरूलाई देशमै अवसर दिन सक्ने नीति बनाउने हो भने  वौद्धिक पुँजी पलायनको समस्या न्यूनीकरण गरी राष्ट्रिय समृद्धिमा ठूलो योगदान गर्न सकिनेछ।

नेपालका इन्जिनियरहरूको मनोभाव

नेपालका इन्जिनियरहरू आजको युगमा राष्ट्र निर्माणका लागि अत्यन्त महत्त्वपूर्ण जनशक्ति हुन् । यिनीहरूको मनोभाव देशको परिस्थितिअनुसार, पेसागत अवसरअनुसार, र व्यक्तिगत आकांक्षाअनुसार विभिन्न तहमा परिवर्तनशील देखिन्छ । अध्ययनकालदेखि कार्यक्षेत्रमा प्रवेश गर्नेसम्मका चरणमा नेपाली इन्जिनियरहरू उत्साह, अपेक्षा, निराशा र आशावादबीचको द्वन्द्वमा रहेका देखिन्छन् ।

अध्ययनको प्रारम्भमा अधिकांश इन्जिनियरिङ विद्यार्थीहरू उत्साहित र भविष्यप्रति आशावादी हुन्छन् । परिवार,  समाज र आफ्नै सपना अनुसार अब्बल दर्जाका विद्यार्थीहरू इन्जिनियरिङ क्षेत्रमा प्रवेश गर्छन् । “राष्ट्र निर्माणका लागि काम गर्छु” भन्ने भावना धेरैमा पाइन्छ। तर अध्ययनकालमै उनीहरूले शिक्षाको गुणस्तर, प्रयोगात्मक अभ्यासको कमी, प्रयोगशालाको न्यूनता, र अध्यापन पद्धतिमा आएको अपूर्णताजस्ता समस्यासँग जुध्न थाल्छन् । यसले उनीहरूको प्रारम्भिक उत्साहमा केही हदसम्म गिरावट ल्याउँछ ।

एकातर्फ, राज्यले इन्जिनियर र अन्य प्राविधिक सेवाहरुलाई हेर्ने समान दृष्टिकोणको कारण पनि आफ्नो इन्जिनियरिङ प्रतिको झुकाव र लगावको कुनै विशिष्ट गौरव महसुस गर्न सक्दैनन् भने अर्को तर्फ प्रशासनिक क्षेत्रले विछ्याएको असमानताको जालोमा अल्झेको महसुस हरेक जसो दक्ष प्राविधिक हरुले गर्ने गरेका छन् ।

शिक्षा सम्पन्न गरेपछि रोजगारीको खोजी गर्ने क्रममा उनीहरूमा मिश्रित मनोभाव देखा पर्छ । एकातिर, पाएको ज्ञान र सीप प्रयोग गर्न आतुर भए पनि अर्कोतिर, बजारमा उपयुक्त अवसरहरूको अभावले उनीहरू निराश हुन्छन् । धेरै इन्जिनियरहरू बेरोजगारी वा पेशासँग मेल नखाने क्षेत्रमा काम गर्न बाध्य छन् । यस्तो स्थितिमा, उनीहरू आफूले गरेको कडा परिश्रम र लगानीको मूल्य प्राप्त नभएको महसुस गर्छन् । यसले उनीहरूमा पेशाप्रतिको मोह घटाउन सक्छ, आत्मविश्वास कमजोर पार्न सक्छ ।

बजारको परिमार्जित आवश्यकता अनुसारको विशेषज्ञता प्रदान गर्ने विषयहरूको कमी र बजारमा आवश्यक नै नभएको विषयको पनि अतिरिक्त विशेषज्ञता तर्फ आफ्नो अध्ययनकेन्द्रित रहेको महसुस, धेरै इन्जिनियरहरुले पढाईकै दौरान वा त्यसपश्चात गर्ने गरेका छन् ।

इन्जिनियरहरुको प्रमाणिकरण नेपाल इन्जिनियरिङ परिषदले गर्ने भए पनि त्यसको थप विधागत विशेषज्ञता प्रमाणित गर्ने कुनै निकाय र स्पष्ट नीति नहुँदा अनुभवी र अध्ययनशील तथा नयाँ र कम अध्ययन गरेका हरुलाई समेत समान व्यबहार गर्ने गरिएको पाइन्छ। यसले गर्दा थप विशेषज्ञता हाँसिल गर्ने र निश्चित क्षेत्रमा विशेष अनुभव लिने उत्साह कमजोर बनेको छ।

यद्यपि, यस्तो अवस्था सबै इन्जिनियरहरूका लागि एकरूप छैन । केही इन्जिनियरहरूले सरकारी सेवा, निजी कम्पनी वा स्व-रोजगारीमा सफलता पाउँदा आत्मसन्तुष्ट र प्रेरित हुने गर्दछन्। उनीहरू आफ्नो ज्ञान प्रयोग गरेर समाजमा योगदान पुर्याउन इच्छुक देखिन्छन् । विशेषगरी,  पछिल्लो समयमा केही युवाहरूले स्टार्टअप, सामाजिक प्रविधि, र परामर्श सेवाको माध्यमबाट नयाँ ढंगले अगाडि बढ्ने प्रयास गरेका छन्। यिनीहरूको मनोभाव आशावादी, आत्मनिर्भर र नवप्रवर्तनमुखी देखिन्छ।

तर, समग्र रूपमा हेर्दा, धेरै इन्जिनियरहरूको प्रमुख चिन्ता भनेको देशमा पर्याप्त अवसरको अभाव हो । उच्च शिक्षाका लागि वा राम्रो पेसागत भविष्यका लागि विदेश जाने सोच व्यापक छ । यसले उनीहरूमा देशप्रतिको निष्ठा र योगदान गर्ने चाहनालाई कमजोर तुल्याउन सक्छ। तथापि, केही इन्जिनियरहरू भने विदेश गइ पनि नेपाल फर्केर काम गर्ने वा नेपालमै कामको सञ्जाल विस्तार गर्ने मनोभाव राख्छन्, जुन आशावादी संकेत हो।

अतः, नेपालका इन्जिनियरहरूको मनोभाव उत्साह र निराशाबीच डुलिरहेकै अवस्था हो। उनीहरूमा क्षमता, सपना र योगदान गर्ने इच्छाशक्ति प्रशस्त छ, तर ती इच्छाहरूलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने वातावरण, अवसर र प्रेरणा आवश्यक छ । यदि राज्य र समाजले यिनीहरूको मनोविज्ञान बुझेर सही दिशा प्रदान गर्न सके, भने इन्जिनियरहरूले देशको समृद्धि निर्माणमा अभूतपूर्व भूमिका निर्वाह गर्न सक्छन् ।

इन्जिनियरिङ्ग क्षेत्रमा नयाँ पुस्ता

२१औँ शताब्दीको प्रविधिकेन्द्रित युगमा इन्जिनियरिङ क्षेत्रले विश्वव्यापी रूपमा तीव्र गतिमा विकास गरिरहेको छ। नेपालमा पनि इन्जिनियरिङको क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै सोच, दृष्टिकोण र कार्यशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। यो पुस्ता केवल पारम्परिक संरचना निर्माणमा सीमित छैन,  बरु प्रविधि, नवप्रवर्तन, र उद्यमशीलता मार्फत समाज रूपान्तरणको सपना बोकेर अगाडि बढिरहेको छ ।

नयाँ पुस्ताका इन्जिनियरहरू अब केवल जागिर खोज्ने होइन, मानव जीवनको सहज सञ्चालनमा समाधान दिने सोचका साथ अघि बढ्नु पर्ने आवश्यकताबारे पूर्ण रुपमा सचेत छन् । परम्परागत ज्ञानका साथसाथै,  नयाँ प्रविधिहरू  (जस्तै: आर्टिफिसियल इन्टेलिजेन्स, मेशिन लर्निङ, इन्टरनेट अफ थिङ्स, ड्रोन टेक्नोलोजी, ग्रीन इनर्जी) को प्रयोगमार्फत निजी जीवन, समाज तथा देशका समस्याहरू समाधान गर्न नयाँ पुस्ता नै सबैभन्दा जागरुक हुन जरुरी हुन्छ ।

स्मार्ट कृषि, नवीन प्रविधिद्वारा सस्तो र प्रभावकारी पुर्वाधारहरूको निर्माण, डिजिटल प्रणाली विकास जस्ता क्षेत्रमा बढ्दो तरूण पुस्ताको रुचिलाई प्रवर्दन गर्न सबै सरोकारवालाहरू जागरुक हुन जरुरी छ । समाज र वातावरणप्रति संवेदनशील भाव राख्दै काम गर्ने युवा इन्जिनियरहरूमा समाजमा केही फरक गर्ने सामर्थ्य र सोच बलियो देखिन्छ, तर त्यसको प्रभाव विस्तार गर्न युवा वर्ग आँफैमा थप संगठित प्रयत्नहरु तर्फ केन्द्रित हुन आवश्यक छ।

इन्जिनियरिङ्ग क्षेत्रमा नयाँ पुस्ताले केवल प्रविधि मात्र होइन, भावनात्मक बुद्धिमत्ता, सामाजिक उत्तरदायित्व र नवप्रवर्तनलाई समेटेर नयाँ दिशा दिइरहेका छन् । यदि यस्तो ऊर्जा र सिर्जनशीलतालाई सही दिशानिर्देशन, नीतिगत समर्थन र अवसर प्रदान गरियो भने नेपालको इन्जिनियरिङ्ग क्षेत्र निकट भविष्यमा आत्मनिर्भर, नवीन र विश्वस्तरीय बन्न सक्छ र त्यसको लाभ प्रत्यक्ष रुपमा राष्ट्रले लिनसक्छ।

सार्वजनिक सेवामा इन्जिनियरिङ समुदायको उपस्थिति र त्यसको धरमराएको मर्यादा, सुरक्षा र संरक्षणले नयाँ पुस्तालाई त्यस तर्फ कम आकर्षित गर्न थालेको देखिन्छ । तर,  जति पनि सार्वजनिक क्षेत्रमा प्रवेश गरेका महानुभावहरु हुनुहुन्छ उहाँहरु नै सार्वजनिक सेवाका सबैभन्दा प्रभावकारी र महशुस गर्न सकिने सेवा प्रदायकको रुपमा रहनुभएको छ । यही गौरवका कारण सार्वजनिक सेवामा रहनुभएका इन्जिनियरहरु आफ्नो कर्तव्यप्रति थप प्रतिबद्ध बन्न र आफ्नो पेशागत मर्यादा र सुरक्षा प्रति थप संगठित बन्न जरुरी छ। यसमा हरेक नयाँ पुस्ताले आफुलाई अब्बल सावित गर्दै गएको छ, त्यसलाई थप मजबुत बनाउँदै लग्न आवश्यक छ।

निजी क्षेत्रमा युवा वर्गको चासो र आवश्यकता दुबै छ । बजारको आवश्यकता अनुसार काम गर्न निजी क्षेत्र लचिलो हुनुका कारण त्यसमा काम गर्न युवा पुस्ता नै थप प्रभावकारी हुन्छ । तर न्युन आर्थिक प्रोत्साहन, संकुचित वृत्तिविकास तथा निरन्तरताको चुनौतिका कारण निजी क्षेत्रको जागिरमा समेत युवाहरू अन्यौलमा देखिन्छन् । यस्तोमा राज्यको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र गर्ने अनुगमनको समेत उचित चिरफार गर्न हामी सबै लाग्नुपर्ने छ। साथै सामजिक रुपमा समेत निजी क्षेत्रलाई हरेक मानवप्रति संवेदनशील रहन अभिप्रेरित गर्न आवश्यक छ।

अब जागिरलाई मात्र करियरको अन्तिम गन्तव्य मान्न हुँदैन । बरु आफ्नै स्टार्टअप सुरु गर्ने, सामाजिक उद्यम निर्माण गर्ने वा स्वतन्त्र परामर्शदाताका रूपमा कार्य गर्ने बाटोमा अघि बढिरहेका युवाहरूका लागि ‘सस्तो, सरल र दिगो समाधान’ मुलमन्त्र बन्नुपर्छ । नयाँ पुस्ताको अर्को विशेषता भनेको ‘ग्लोबल थिंकिङ, लोकल अप्लिकेसन’ हो । यस पुस्ताले इन्टरनेट, अनलाइन कोर्स, र अन्तर्राष्ट्रिय फोरममार्फत विश्वका नवीनतम प्रविधिहरू सिकिरहेका छन् र तिनलाई नेपाली परिवेशमा लागू गर्न खोजिरहेका छन्। यस्तो सोचले उनीहरूलाई सीमित स्रोतसाधनबीच पनि प्रभावकारी समाधान निर्माण गर्न प्रेरित गरिरहेको छ।

साथै, नयाँ पुस्तामा लैङ्गिक समानता, समावेशिता, र सहकार्यप्रतिको झुकाव पनि उल्लेखनीय छ । महिला तथा अल्पसंख्यक तथा सामाजिक संरचनाको विभेदमा परेका समुदायहरुका इन्जिनियरहरूको सहभागिता बढ्दो छ र उनीहरूले आफ्नो दक्षता, नेतृत्व क्षमता र संवेदनशीलतामार्फत नयाँ ऊर्जा ल्याइरहेका छन्। टीमवर्क र इन्टरडिसिप्लिनरी सोचलाई महत्व दिने प्रवृत्ति यो पुस्तामा बलियो देखिन्छ ।

तर,  यस्ता सकारात्मक भावनासँगै चुनौतीहरू पनि विद्यमान छन् । प्रविधिमा दखल हुँदाहुँदै पनि बजारले समयमै अवसर नदिने, लगानीको अभाव, नीति निर्माणमा ढिलाइ र इकोसिस्टम कमजोर हुनुजस्ता समस्याले धेरै युवाहरू निराश बन्न सक्छन् । तथापि, आत्मबल र सामूहिक प्रयासहरू र प्रविधिको उपयोगद्वारा युवाहरूले उचित समाधान निकाल्न सक्दछन् ।

नेपालमा दक्ष तर बेरोजगार युवा इन्जिनियरहरूको संख्या ठूलो छ। यति हुँदाहुँदै पनि बजारमा विदेशका नागरिकले आधारभूत श्रम स्वीकृति समेत नलिई गैरकानुनी रुपमा इन्जिनियरिङ कार्यहरु गरेको प्रशस्तै उदाहरणहरू देख्न पाइन्छ। यसतर्फ राज्यको फितलो नियमनले धेरै युवाहरुको अवसरमाथी अन्याय भएको छ।

इन्जिनियरिङ्ग क्षेत्रमा नयाँ पुस्ताले केवल प्रविधि मात्र होइन, भावनात्मक बुद्धिमत्ता, सामाजिक उत्तरदायित्व र नवप्रवर्तनलाई समेटेर नयाँ दिशा दिइरहेका छन् । यदि यस्तो ऊर्जा र सिर्जनशीलतालाई सही दिशानिर्देशन, नीतिगत समर्थन र अवसर प्रदान गरियो भने नेपालको इन्जिनियरिङ्ग क्षेत्र निकट भविष्यमा आत्मनिर्भर, नवीन र विश्वस्तरीय बन्न सक्छ र त्यसको लाभ प्रत्यक्ष रुपमा राष्ट्रले लिनसक्छ।

राष्ट्र निर्माणमा पुर्याएको योगदान

राष्ट्र निर्माण केवल राजनीतिक, सामाजिक वा आर्थिक क्षेत्रसँग मात्र सम्बन्धित हुँदैन, यसका आधारशिला प्रविधि, पूर्वाधार, र नवप्रवर्तनजस्ता पक्षहरूसँग पनि गहिरो रूपमा जोडिएका हुन्छन् । यिनै पक्षहरूलाई मूर्त रूप दिन सक्ने शक्ति इन्जिनियरिङ क्षेत्रसँग निहित हुन्छ । कुनै पनि राष्ट्रको भौतिक संरचना, ऊर्जा, सञ्चार, यातायात, कृषि र औद्योगिक विकासको मूलमा इन्जिनियरहरूको योगदान निहित हुन्छ । नेपालजस्तो विकासशील राष्ट्रका लागि त इन्जिनियरहरू राष्ट्र निर्माणका सच्चा अभियन्ता हुन् ।

नेपालमा इन्जिनियरहरूको भूमिकाको थालनी खासगरी  भवन निर्माण, सिंचाइ प्रणाली, सडक निर्माण, र जलविद्युत् विकाससँगै भएको पाइन्छ । नेपालको विकासमा भएका सबैजसो उल्लेखनीय उपलब्धिहरु इन्जिनियरहरूको योजना, डिजाइन र कार्यान्वयन क्षमताबाट सम्भव भएका छन् । केही सीमित आयोजनाहरूले मात्र होइन,  देशभर निर्माण भइरहेका साना–ठूला सडक, पुल, भवन, जलस्रोत व्यवस्थापन, तथा भूकम्पपछिको पुनःनिर्माणजस्ता कार्यहरू इन्जिनियरहरूको निरन्तर लगनशीलताको उदाहरण हुन् ।

इन्जिनियरहरूलाई केवल पेशागत भूमिकामा सीमित नराखी, उनीहरूको योगदानलाई राष्ट्रिय नीति र योजनामा समेटेर,  उनीहरूलाई नेतृत्व र नवप्रवर्तनमा अघि सार्नु आजको आवश्यकता हो ।

यातायात संरचना निर्माणमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण रुपमा महसुस गर्न सकिन्छ । टाढा टाढासम्म पुग्ने सडक सञ्जाल, झोलुंगे पुल, विमानस्थल निर्माण र मर्मत र भूगोलको चुनौतीका बाबजुद परियोजनाहरूलाई सफलतापूर्वक सम्पन्न गर्नु सजिलो कार्य होइन । यस्ता कामहरू इन्जिनियरहरूकै प्राविधिक क्षमता र समस्या समाधान गर्ने शैलीको प्रतिफल हुन् । ग्रामीण भेगमा मोटरबाटो पुगेसँगै सामाजिक-आर्थिक रूपान्तरण सम्भव भएको हो, जसको श्रेय इन्जिनियरहरूलाई जान्छ ।

सूचना प्रविधि क्षेत्रमा पनि इन्जिनियरहरूको योगदान उल्लेखनीय छ । टेलिकम्युनिकेसन विस्तार, इन्टरनेट सेवा पहुँच, डिजिटल सेवाहरूको विकास र प्रवाहमा सूचना प्रविधिका इन्जिनियरहरूले महत्त्वपूर्ण काम गरेका छन् । बैंकिङ्ग, शिक्षा, स्वास्थ्य सेवा, र सरकारी सेवाहरूलाई डिजिटल बनाउने प्रक्रियामा इन्जिनियरहरूको भूमिका बढ्दो छ । यसले शासन प्रणालीलाई पारदर्शी, छरितो र प्रभावकारी बनाउन सहयोग पुर्‍याइरहेको छ ।

इन्जिनियरहरू मात्र प्रविधिकर्मी होइनन्, उनीहरू योजनाकार, व्यवस्थापक र नवप्रवर्तक पनि हुन् । गाउँदेखि शहरसम्म, निजी क्षेत्रदेखि सरकारी संयन्त्रसम्म, उनीहरूले सीप, दक्षता र वैज्ञानिक सोचको प्रयोग गरेर राष्ट्र निर्माणको प्रत्येक तहमा योगदान दिइरहेका छन् । प्राकृतिक प्रकोपको बेला इन्जिनियरहरू अग्रपंक्तिमा उभिएर देशको पुनःस्थापना कार्यमा संलग्न भएका छन् । उदाहरणको लागि २०७२ को भूकम्पपछिको मुल्यांकन तथा पुनर्निर्माण, बाढीपहिरो व्यवस्थापनका लागी भएका कार्यहरु आदिलाई लिन सकिन्छ।

नवीनतम समयमा युवा इन्जिनियरहरू स्टार्टअप, स्मार्ट सिटी विकास, हरित ऊर्जा प्रवर्द्धन, र वातावरणीय दिगोपनाको क्षेत्रमा क्रियाशील छन्। उनीहरू केवल समस्या समाधानमा होइन, भविष्य निर्माणमा केन्द्रित छन् । यदि यिनै इन्जिनियरहरूलाई आवश्यक नीति, लगानी, प्रविधि र वातावरण प्रदान गरियो भने नेपालको समृद्धि तीव्र गतिमा अघि बढ्न सक्छ । यदि राष्ट्रले इन्जिनियरहरूलाई विश्वास, अवसर र मर्यादा दिन सकेमा, उनीहरू सच्चा विकासदूतका रूपमा राष्ट्र समृद्धिको मार्गचित्र कोर्न सक्षम छन् ।

वास्तवमा भन्नुपर्दा, इन्जिनियरिङ्ग क्षेत्र राष्ट्रको साँघुरो बाटोमा पनि फराकिलो सडक बनाउने शक्ति हो । जसरी एक दृढ र सबल आधार बिना घर टिक्दैन, त्यसरी नै इन्जिनियरहरूको योगदानबिना राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले, इन्जिनियरहरूलाई केवल पेशागत भूमिकामा सीमित नराखी, उनीहरूको योगदानलाई राष्ट्रिय नीति र योजनामा समेटेर,  उनीहरूलाई नेतृत्व र नवप्रवर्तनमा अघि सार्नु आजको आवश्यकता हो ।

इन्जिनियरहरूको संगठित आवाज

राष्ट्रको भौतिक र प्रविधिक विकासका मेरुदण्ड इन्जिनियरहरू भए पनि, नेपालमा उनीहरूको आवाज अझै प्रभावकारी र संगठित रूपमा प्रस्तुत हुन सकेको छैन ।  जबसम्म कुनै पेशागत समुदाय संगठित हुँदैन, तबसम्म न त उनीहरूको हक अधिकार सुनिश्चित हुन्छ, न त उनीहरूले नीति निर्माणमा प्रभाव पार्न सक्छन् । इन्जिनियरहरूको बढ्दो संख्याका बाबजुद पनि उनीहरूको सामूहिक स्वर कमजोर हुनु रणनीतिक रूपमा दुर्बल पक्ष हो, जसको असर उनीहरूको व्यक्तिगत प्रगति मात्र होइन, समग्र राष्ट्र विकासमा पनि पर्छ ।

नेपालमा इन्जिनियरहरूको मुख्य छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) रहेको छ, जसले विभिन्न कार्यक्रम, सेमिनार र पेशागत मुद्दामा ध्यान दिँदै आएको छ । यद्यपि, यो संस्था अझै सबै तहका इन्जिनियरहरूको समस्याको सम्बोधन गर्ने, नीति निर्माणमा प्रभाव पार्ने वा प्रविधि-केन्द्रित राष्ट्रिय बहसमा प्रभावकारी रुपमा अग्रसर हुने अवस्थामा छैन । प्रायः युवा इन्जिनियरहरू वा नयाँ पुस्ता यस संस्थासँग गहिरो सम्बन्धमा देखिँदैनन र त्यस्तो आकर्षण प्रवर्द्धन हुन सकेको छैन । सैद्धान्तिक रुपमा लोकतन्त्रका आधारभूत मान्यताहरु प्रति प्रतिबद्ध इन्जिनियरहरुको छाता संगठन “सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)” ले समेत संगठित रुपमा इन्जिनियरहरुको आवाजको प्रतिनिधित्व गर्दै आएको छ ।

इन्जिनियरहरूको संगठित आवाज केवल पेशागत हकका लागि होइन, सामाजिक उत्तरदायित्वका लागि पनि हुनुपर्छ । नवीन प्रविधि, विपदजन्य प्रकोप, जलवायु परिवर्तन, दिगो विकास, स्मार्ट सिटी निर्माण, ग्रीन टेक्नोलोजी प्रवर्द्धनजस्ता समसामयिक विषयमा इन्जिनियरहरूले सामूहिक धारणा निर्माण गर्न सक्ने क्षमता विकास गर्नु अत्यावश्यक छ ।

यसका साथै अन्य विविध विधागत तथा वैचारिक एवं पार्टीगत रुपमा गठन भएका सँस्थाहरुले समेत त्यस्तो आवाजको प्रतिनिधित्व गरेका छन् । तर त्यस्ता संगठित आवाजहरू समेत वास्तविक समस्या समाधान भन्दा पनि निश्चित पदीय दाउपेच र निजी पहुँच विस्तारको कोपभाजनमा परि शिथील भएको महसुस गर्न सकिन्छ । यस्तोमा सबैखाले संगठित संस्थाहरुमा प्रभावकारी सोच र नवीन नेतृत्व तथा कार्यशैलीको आवश्यकतालाई नजरअन्दाज गर्नु हुँदैन ।

आजको नयाँ पुस्ता, जसमा उद्यमशीलता, नवप्रवर्तन, तथा सामाजिक जिम्मेवारीको भावना प्रबल छ, ती आवाजहरूलाई समेटेर सामूहिक रूपमा प्रस्तुत गर्नु अत्यावश्यक छ । व्यक्तिगत स्तरमा समस्या अनुभव गरिए पनि, जबसम्म ती आवाजहरू संस्थागत रूपमा उठ्दैनन्, तबसम्म राज्य वा समाजबाट सुनुवाइ हुने सम्भावना न्यून हुन्छ ।

उदाहरणका लागि, बेरोजगारी, न्यून पारिश्रमिक, कामको असुरक्षा, वा बौद्धिक पलायन जस्ता समस्याहरूको दीर्घकालीन समाधान एकल प्रयत्नले सम्भव हुँदैन, संगठित आवाज र दबाब आवश्यक पर्छ ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हेर्दा, धेरै मुलुकहरूमा इन्जिनियरहरूका पेशागत संस्थाहरू नीतिगत सल्लाहदाता, विकास साझेदार, र प्रविधि रणनीतिका निर्माता बन्न सफल भएका छन् । अमेरिकाको “National Society of Professional Engineers (NSPE)” वा भारतको “Institution of Engineers (India)” जस्ता संस्थाहरू सरकारको योजना निर्माणदेखि प्रविधिमा लगानीको ढाँचासम्म प्रभाव पार्न सक्षम छन् । नेपालमा पनि यस्तै शक्तिशाली, समावेशी र अद्यावधिक सोच राख्ने संस्थाको आवश्यकतालाई नेपाल इन्जिनियर्स एसोसिएसनले परिपूर्ण गर्न अग्रसर बन्न आवश्यक छ ।

इन्जिनियरहरूको संगठित आवाज केवल पेशागत हकका लागि होइन, सामाजिक उत्तरदायित्वका लागि पनि हुनुपर्छ । नवीन प्रविधि, विपदजन्य प्रकोप, जलवायु परिवर्तन, दिगो विकास, स्मार्ट सिटी निर्माण, ग्रीन टेक्नोलोजी प्रवर्द्धनजस्ता समसामयिक विषयमा इन्जिनियरहरूले सामूहिक धारणा निर्माण गर्न सक्ने क्षमता विकास गर्नु अत्यावश्यक छ । यसका लागि प्राविधिक बहस, नीति संवाद, अनुसन्धान प्रकाशन तथा जनचेतना अभियानहरू संस्थागत रूपमा अगाडि ल्याउनु पर्छ ।

यसैगरी, महिलाहरू, संघर्षशील पृष्ठभूमिबाट आएका युवा इन्जिनियरहरू तथा स्वतन्त्र पेशागत अभ्यास गर्ने इन्जिनियरहरूको आवाजलाई पनि संस्थागत तहमा स्थान दिनुपर्छ । सबैको प्रतिनिधित्व हुने संगठन मात्र समावेशी र सशक्त बन्न सक्छ ।

इन्जिनियरहरूको संगठित आवाज विकास, लोकतन्त्र र समावेशीकरणको आधार हो । यो आवाज सशक्त बनाउनका लागि सुचित र सचेत नयाँ नेतृत्व, प्रविधिमैत्री संरचना,  स्वतन्त्र चिन्तन, र नीति संवादमा सक्रियता आवश्यक छ । राष्ट्र निर्माणमा योगदान दिइरहेका इन्जिनियरहरू आफैं सक्षम मात्र होइन, संगठित, उत्तरदायी र प्रभावकारी हुनुपर्छ, यसले उनीहरूको भूमिका अझै सम्मानित र दिगो बन्नेछ ।

इन्जिनियरिङ क्षेत्रलाई राजनीतिज्ञले दिएको स्थान

राष्ट्र निर्माणका मौलिक आधारहरू मध्ये एक इन्जिनियरिङ क्षेत्र हो, जसले पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, आवास, यातायात, कृषि तथा औद्योगिक विकास जस्ता मुख्य क्षेत्रहरूलाई चलायमान बनाउँछ। यति महत्त्वपूर्ण क्षेत्र हुँदाहुँदै पनि नेपालमा राजनीतिज्ञहरूबाट इन्जिनियरिङ क्षेत्रले पाएको स्थान अपेक्षाअनुसार सम्मानजनक र प्राथमिकतामा परेको देखिँदैन । योजनामा उल्लेख भए पनि व्यवहारमा इन्जिनियरिङ पेसा र प्राविधिक जनशक्तिप्रति हुने दृष्टिकोण अझै उपेक्षापूर्ण, अवसरविहीन र कहिलेकाहीँ केवल परियोजना कार्यान्वयनमा सीमित गरिने खालको देखिन्छ।

राजनीतिका ठूला एजेन्डाहरूमा प्रविधि र पूर्वाधारको नाम लिइए पनि ती नीतिगत तहमा सीमित रहने गरेको छ । राजनीतिक घोषणा पत्रहरूमा ‘भौतिक पूर्वाधारमा लगानी’,  ‘विद्युत् निर्यात’, ‘सडक सञ्जाल विस्तार’ जस्ता नारा त घन्कन्छन्,  तर ती योजनाहरू निर्माण गर्न र कार्यान्वयन गर्नुपर्ने इन्जिनियरहरूलाई राज्यले नीति निर्माणको तहमा शायदै सहभागिता दिन्छ । उनीहरूलाई प्राविधिक कन्सल्टेन्सी वा काम गर्ने हातको रूपमा मात्र प्रयोग गर्ने प्रवृत्ति विद्यमान छ, विचार दिने ‘नीति निर्माता’ को रूपमा होइन।

नेपालमा प्रायः पूर्वाधार विकासका कार्यहरू राजनीतिक प्रभावमा रहने हुँदा,  इन्जिनियरहरूले प्राविधिक सन्दर्भअनुसार सुझाव दिँदासमेत त्यति सुनुवाइ नपाउने अवस्था रहँदै आएको छ । परियोजनाहरू कहिलेकाहीँ आवश्यकताभन्दा बढी राजनीतिक रूपमा प्रेरित हुन्छन्, जसले इन्जिनियरहरूको पेशागत स्वतन्त्रता र नैतिकतालाई दबाबमा पार्दछ। यस्तो अवस्थामा दक्ष इन्जिनियरहरू आफ्नो सीप प्रयोग गर्न असहज महसुस गर्छन्, र नीतिगत रूपमै एक खालको प्राविधिक हतोत्साहनको वातावरण सिर्जना हुन्छ।

अर्कोतर्फ, केही राजनीतिज्ञहरू इन्जिनियरिङ पृष्ठभूमिबाट आएका छन् र उनीहरूले आफ्नो कार्यकालमा प्रविधिकेन्द्रित पहलहरू अघि सारेका उदाहरणहरू पनि छन् । तर,  यो संख्या अत्यन्त न्यून छ, र समग्र राजनीतिक प्रवृत्तिमा इन्जिनियरिङ क्षेत्रको दीर्घकालीन सम्भावनालाई प्राथमिकता दिने संस्कृति अझै पूर्ण रूपमा विकास भइसकेको छैन । नीति निर्माण तहमा इन्जिनियरहरूलाई गम्भीरतापूर्वक परामर्शदाताको रूपमा समावेश गर्ने, योजना आयोग, मन्त्रालय, विकास प्राधिकरणहरूमा निर्णयकारी भूमिकामा ल्याउने प्रयास न्यून छन्।

विकासका हरेक एजेन्डामा प्राविधिक आवाज नसमेटी बनाइएका योजनाहरू दीर्घकालीन रूपमा अलपत्र पर्ने वा पुनःसंशोधन गर्नुपर्ने अवस्था आउने गर्छ, जसको आर्थिक,  सामाजिक र पर्यावरणीय मूल्य देशले चुकाइरहेको छ । यस पृष्ठभूमिमा, अब राजनीतिज्ञहरूले इन्जिनियरिङ क्षेत्रलाई ‘काम गर्ने हात’ होइन, ‘सहकार्य गर्ने मस्तिष्क’ को रूपमा बुझ्नुपर्ने समय आएको छ । योजनाको प्रारम्भिक मस्यौदादेखि कार्यान्वयन र मूल्याङ्कनसम्म इन्जिनियरहरूको सक्रिय सहभागिता आवश्यक छ । तिनको व्यावसायिक प्रतिष्ठा, सुझाव र नीति निर्माणमा प्रभावकारी स्थान सुनिश्चित नगर्दासम्म विकासका नारा मात्र रहनेछन्, परिणाम सीमित हुनेछन्।

नयाँ पुस्ताका इन्जिनियरहरूमा नवप्रवर्तन, उद्यमशीलता, प्रविधिमैत्री सोच र सामाजिक उत्तरदायित्वको भावना बलियो छ । यदि राजनीतिज्ञहरूले यिनीहरूको स्वर सुन्ने, सुझाव लिने र नेतृत्व दिने अवसर प्रदान गरे भने देशले आत्मनिर्भर प्रविधि विकास, दिगो पूर्वाधार, र समावेशी विकासको यात्रा तीव्र गतिमा अघि बढाउन सक्छ।

इन्जिनियरिङ क्षेत्र र राजनीति अलग-अलग हैनन् । दुवैको सहकार्य आवश्यक छ । राजनीतिज्ञले नीति बनाउने,  इन्जिनियरले त्यो नीति कार्यान्वयन गर्ने हैन, बरु दुवै मिलेर ‘दिगो विकास’ को खाका कोर्ने साझा सहयात्री हुन् भन्ने बुझाइ हाम्रोजस्तो विकासशील राष्ट्रका लागि अपरिहार्य छ।

यी त केही सन्दर्भ उठानको क्रममा अघि सारिएका विषयहरु मात्रै हुन् । यसबाहेक पनि थुप्रै विषयहरुमा निरन्तरको बहस जरुरी छ। व्यक्तिगत रुपमा एक इन्जिनियर पनि समाजकै अभिन्न अंग हो । त्यसकारण समाजका विविध पक्षहरुबाट प्रभावमा रहँदै व्यक्तिगत जीवन र समाजको गुणस्तरीय सञ्चालनको लागि निरन्तर क्रियाशील इन्जिनियरहरुलाई सम्मानित र अद्यावधिक ज्ञानको दायरामा काम गर्ने अवसरको लागी विकासको सबैखाले सरोकारवाला पक्षहरु संवेदनशील बन्नु जरुरी छ ।

साथै त्यस्तो अवसरहरूको श्रिजना तथा सञ्चालनको लागी इन्जिनियर समुदाय आँफैमा पनि सचेत, सक्रीय र संगठित हुन अत्यन्तै आवश्यक भएको छ । विकासका सैद्धान्तिक सपनाहरूमा मात्रै जनतालाई अल्मलयाएर शासनको बागडोर हत्याउने शब्दजालको खेलबाट मुक्त हुँदै समग्र राजनैतिक क्षेत्रले समेत विकासको खास कार्यकर्ताको रुपमा इन्जिनियरिङ समुदायलाई विशेष सम्बोधन गर्न जरुरी छ। यो इन्जिनियरिङ्ग क्षेत्रको रोदनबाट सम्भव छैन, यसको हस्तक्षेपकारी भूमिका र आवाजहरूबाट सम्भव छ । आउनुहोस्, जुटौँ, जागौँ लागौँ। इन्जिनियरिङको ज्ञान र मानवीय पक्षको मूल्यांकन वा मर्यादा नराखी गरिने वकम्फुस्से विकासका झुटा गफहरुलाई चिनौँ र चिरफार गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?