+
+
Shares

नयाँ रंग पत्ता लगाएको वैज्ञानिकको दाबी, नाम दिए ‘ओलो’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते ९:१५

९ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले नयाँ रंग पत्ता लगाएको दाबी गरेका छन् । नयाँ भनिएको उक्त रंगलाई ‘ओलो’ नाम दिइएको छ ।

अचम्म त के छ भने ‘ओलो’ रंग अहिलेसम्म विश्वमा केवल पाँच जनामात्रले देखेका छन् । किनभने यो लेजरको सहायताले उत्पन्न हुन्छ, जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

यो रंग निलो–हरियोको मिश्रण (शेड) भएको भनिएको छ । वैज्ञानिकहरूको दाबी अनुसार यसले मानिसलाई रंग धारणा (कलर पर्सेप्सन) को सामान्य सीमाभन्दा बाहिरका रंग देख्न सक्ने सम्भावना खोलिदिन्छ ।

अनुसन्धानकर्ताहरूले ‘ओ जेड (Oz) भिजन सिस्टम’ प्रविधिको विकास गरेका छन्, जसको नाम ‘विजार्ड अफ ओ जेड’ चलचित्रको एमराल्ड सिटीका मानिसहरूले लगाउने हरियो चश्माको सम्मानमा राखिएको हो ।

साइन्स एडभान्सेस नामक पत्रिकामा प्रकाशित अनुसन्धान रिपोर्टअनुसार, जब अष्ट्रेलियन लेजर सिग्नललाई केही माइक्रोन (मिटरको दशौं लाख भाग) बराबरको सानो दुरीले जानाजान हलचल गराइन्छ, त्यसले लेजरको प्राकृतिक रंगलाई बुझ्ने संकेत दिन्छ ।

जब Oz माइक्रोडोजहरूलाई अत्यन्त सटीक रूपमा फैलाइन्छ, तिनीहरूले इन्द्रेणीका विभिन्न रंगहरू, प्राकृतिक मानव रंग सीमाभन्दा बाहिरका अभूतपूर्व रंगहरू र ‘चम्किलो रातो रेखा’ वा ‘ओलो पृष्ठभूमिमा घुमिरहने बिन्दुहरू’ जस्ता दृश्यहरू देख्न सकिन्छ ।

यो निष्कर्ष युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका अनुसन्धानकर्ताको टिमले निकालेको हो । अनुसन्धान रिपोर्टमा उनीहरुको भनाइ उद्धृत गर्दै लेखिएको छ– ‘हामीले सुरुमा अनुमान गरेका थियौं कि यो कुनै अभूतपूर्व रंग संकेतजस्तै देखिनेछ, तर मस्तिष्कले यसलाई कसरी ग्रहण गर्छ भन्ने कुरामा हामी अचम्मित भयौं ।’

उनीहरू थप व्याख्या गर्दै भन्छन्, ‘कल्पना गर्नुहोस् तपाईं जीवनभर घुमिरहनुहुन्छ र तपाईंले केवल गुलाबी, बेबी पिंक, पेस्टल पिंक मात्रै देख्नुभएको छ । एक दिन तपाईंले कसैले एउटा यस्तो सर्ट लगाएको देख्नुहुन्छ, जुन तपाईंले अहिलेसम्म नदेख्नुभएको सबैभन्दा गहिरो बेबी पिंक हुन्छ, त्यो तपाईंका लागि एक नयाँ रंगजस्तै हुन्छ ।’

अनुसन्धानमा भनिएको छ– ओ जेड लेजरले केवल रेटिनामा रहेको एम कोन (मध्यम तरङ्ग लम्बाइ) लाई मात्र उत्तेजित गर्छ, जसले सैद्धान्तिक रूपमा मस्तिष्कलाई यस्तो रंगको संकेत दिन्छ जुन प्राकृतिक रुपमा कहिल्यै देखिँदैन ।

प्रयोगको क्रममा देखिएको रंगलाई प्रमाणित गर्नका लागि, प्रत्येक सहभागीलाई एक नियन्त्रित रंग दिइएको थियो, जुन त्यस ‘ओलो’ रंगसँग मिल्दो भएसम्म त्यसमा परिवर्तन गरिन्थ्यो ।

यस रंगलाई ‘ओलो’ नाम दिनुको कारण के हो भने यसले बाइनरी ०१० लाई जनाउँछ । जसको अर्थ एल, एम र एस शंकुहरूमध्ये केवल एम शंकु सक्रिय हुन्छ भन्ने हो ।

अनुसन्धानमा उल्लेख गरिएअनुसार, हाम्रो प्रोटोटाइप सिस्टममा ओलो रंग, तटस्थ खैरो (ग्रे) पृष्ठभूमिको सन्दर्भमा हेर्दा अत्यन्त सशक्त (सन्तृप्त) निलो–हरियो देखिन्छ ।

अनुसन्धानमा पाइएअनुसार, निकटतम एकरङ्गी (मोनोक्रोमाटिक) प्रकाशसँग रंग मिलाउनुअघि ओलो रंगमा सेतो प्रकाश थपेर त्यसलाई असन्तृप्त गर्नु आवश्यक हुन्छ, जुन रंग सरगमको सीमाको नजिक पर्छ । यसले ओलो रंग सरगम (रंग सीमा) भन्दा बाहिर पर्छ भन्ने स्पष्ट प्रमाण दिन्छ ।

रंगको निष्कर्षमाथि शंका

अन्य केही विज्ञहरूले भने नयाँ भनिएको ‘ओलो’ रंगको निष्कर्षमाथि शंका व्यक्त गरेका छन् । उनीहरू भन्छन्, ‘यो कुनै नयाँ रंग होइन ।’

यो अनुसन्धानको सीमित महत्व मात्र रहेको उल्लेख गर्दै उनीहरुले भनेका छन्, ‘यो एक अत्यधिक सन्तृप्त हरियो रंग हो, जुन केवल सामान्य रातो–हरियो रंग प्रणाली भएको व्यक्तिमा मात्र उत्पन्न हुनसक्छ, जब केवल एम शंकु सक्रिय हुन्छ ।

अनुसन्धानपत्रमा वैज्ञानिकहरूले ओ जेड प्रणालीलाई सैद्धान्तिक रूपमा टेलिभिजन वा फोनस्क्रिन जस्ता दैनिक प्रयोगका रंगीन डिस्प्लेहरूमा प्रयोग गर्न सकिने भए पनि, यस्तो प्रयोग व्यवहारिक रूपमा निकै असम्भव हुने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?