
९ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकास्थित नर्थ क्यारोलिना राज्यको मोरिसभिमा नेपाल दिवस मनाइएको छ ।
अप्रिल १९ का दिन ‘हाम्रो पहिचान, हाम्रै अभियान; समृद्धिको यात्रामा, नेपाली योगदान’ भन्ने नाराका साथ नवौं नेपाल दिवस मनाइएको हो ।
नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एन.सी.एन.सी.)को आयोजनामा सम्पन्न सो कार्यक्रममा करिब दुई हजार जनाको सहभागिता रहेको थियो ।
नेपालका विविध जनजातिका भेषभूषामा सुसज्जित सहभागीहरुको झाँकी र लाखे नृत्यसहित सुरु भएको कार्यक्रममा केरी, मोरिसभिल र एपेक्सनगर र नर्थ क्यरोलाइना राज्यका प्रतिनिधिहरुले नेपाल र नेपालीको मौलिक संस्कृतिको खुलेरै प्रशंसा व्यक्त गरेका थिए ।
उनीहरुले नेपाली नयाँ वर्षको शुभकामनाका साथ नेपालीहरुको सबै क्षेत्रमा उपस्थिति रहेको बताउँदै यी क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक, र साँस्कृतिक प्रवर्धन र उन्नयनमा नेपालीहरुको योगदान रहेको उल्लेख गरेका थिए ।
नर्थ क्यारोलिनाको तल्लो सदनकी सांसद मारिया सर्वानिया, वेक काउन्टी कमिस्नर सेरिल स्टलिंस्स, केरीनगर प्रतिनिधि सारिका वंशल, नर्थ क्यारोलिना यातायात विभागकि निर्देशक टुन्या स्मिथ, मोरिसभिल टाउनका टिजे कउली, स्टिभ राव, सतीश गारिमेला, लिज जोन्सन र एनी रोवोटी शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिशन शरदराज अरनले यस्ता कार्यक्रमले आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोड्न टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै नवौँ नेपाल दिवस समारोह समितिका अध्यक्ष विक्रम गौतमले दोस्रो पुस्ताका बालबालिकाहरुलाई नेपाली मौलिक संस्कृति सिकाउन र यसको जगेर्नागर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा मिस नेपाल उत्तर अमेरिका-२०२४ की उपाधि विजेता अन्ना कोइरालालाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।
सन् २०१७ मा टाउन अफ मोरिसभिलले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा मनाउन घोषणा गरेको थियो । टाउन अफ एपेक्स तथा वेक काउन्टीले पनि अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा मनाउने घोषणा गरिसकेका छन् ।
शनिबार आयोजित कार्यक्रममा टाउन अफ केरीले पनि नेपाल दिवसलाई अनुमोदन गरेको छ ।
यस वर्षको कार्यक्रम संचालनका लागि विभिन्न व्यक्ति तथासंस्थाबाट करिब १५ हजार डलर चन्दा रकम प्राप्त गरेको संस्थाकी महासचिव कल्पना भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान, करिब तीन दर्जन नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य र गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली खाद्य परिकार, नेपालीहरुद्वारा संचालित व्यापार व्यवसाय तथा नेपाली कलात्मक सामग्रीका ३० भन्दा बढी स्टलहरु पनि राखिएका थिए ।
संस्थाका अध्यक्ष डा. विकास शाक्यले उपस्थित सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउन पाउनु आफैंमा गर्वको कुरा भएको बताए ।
औपचारिक कार्यक्रम संस्थाकी महासचिव कल्पना भण्डारी र सदस्य निभिता शर्माले सहजीकरण गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन प्रियांशु नेपाल, संयम लामिछाने र गीतिका अर्यालले गरेका थिए ।
प्रतिक्रिया 4