
९ वैशाख, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकी सेयर बजार तरंगित बनेको छ । स्टक मार्केटबाट लगानीकर्ता बाहिरिने क्रम बढेको छ ।
उनको कर नीतिका कारण केही सातादेखि नै ओरालोमा रहेका अमेरिकी स्टक मार्केट शुक्रबारको एक अभिव्यक्तिले थप तरंगित बनायो ।
ट्रम्पले शुक्रबार मात्रै केन्द्रीय बैंकलाई हस्तक्षेप गर्ने आशयले अभिव्यक्ति दिएका थिए । ‘धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्’ ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन् ‘अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ ।’ साथै उनले ब्याजदर तत्काल घटाइहाल्न फेडका अध्यक्ष जेरोम पावेललाई निर्देशनात्मक शैलीमा भनेका छन् ।
केन्द्रीय बैंकलाई पनि अब ट्रम्पले आफ्नो शैलीमा चलाउन खोजेको भन्दै चर्को आलोचना भएको छ भने लगानीकर्ता सशंकित बनेका छन् ।
शुक्रबार, शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले त्यसको प्रभाव एकैपटक सोमबार देखिएको छ । सोमबार अमेरिकी बजार नास्डाक इन्डेक्स २.५५ प्रतिशत घटेर १५,८७० अंकमा झरेको छ ।
ट्रम्पको कर नीतिपछि केही सातादेखि नै ओरालो लागेको नास्डा इन्डेक्समा शुक्रबार फेडमाथि दिएको अभिव्यक्तिले थप असर पारेको हो । एक महिनामा नास्डाक इन्डेक्स १२.७४ प्रतिशत घटिसकेको छ ।
माइक्रोसफ्ट, गुगल, मेटा, अमेजन, एप्पल, टेस्लाजस्ता ठूला टेक कम्पनी सूचीकृत रहेको नास्डाक इन्डेक्समा आएको गिरावटले ‘बियरिस’ पुष्टि गरिसकेको रोयटर्सले उल्लेख गरेको छ ।
त्यस्तै ठूला ५०० कम्पनीको सूचक एसएण्ड पी ५०० सोमबार एकैदिन २.३६ प्रतिशत घट्यो । विगत एक महिनामा यो सूचक १०.५७ प्रतिशत घटिसकेको छ ।
डाओ जोन्स सोमबार एकैदिन २.४८ प्रतिशत घटेको छ । विगत एक महिनामा यो सूचक १०.३६ प्रतिशत घटेको छ । लगानीकर्ता यतिबेला धमाधम स्टक मार्केटबाट बाहिरिँदै सुनमा लगानी बढाएको अनुमान गरिएको छ । स्टक मार्केट लगातार ओरालो लागिरहेको छ भने सुनको माग र मूल्य भारी दरमा बढिरहेको छ ।
प्रतिक्रिया 4