+
+
Shares

तीनकुने घटना : मुख्य योजनाकार प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १२:२७

९ वैशाख, काठमाडौं । तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो ।

सोमबारबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले बताए । समय अभावका कारण सोमबार थोरै समय प्रसाईंको बयान लिइएको थियो । आज मंगलबार फेरि बयान सुरु भएको काफ्लेले बताए ।

‘प्रसाईंविरुद्धको बयान जारी छ । उहाँविरुद्ध विविधि कसुरमा बयान लिने काम भइरहेको छ’, काफ्लेले अनलाइनखबरसँग भने । सरकारी वकिल स्रोतकाअनुसार प्रसाईंविरुद्ध ज्यान सम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन सुरु गरिएको छ ।

यसका साथै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ ।

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।

प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो । अन्य कसुर भने पछि थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

झापाको बिर्तामोड नगरपालिका-५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भयो । तर, उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठुलो क्षति भयो ।

सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।

१५ चैतको घटनामा पक्राउ पर्नेको ८४ संख्या पुगेको छ । राप्रपा महामन्त्री तथा सांसद धवल शमशेर राणासहित भाटभटेनीका फलफुल टिप्ने केहीलाई भनेर हिरासत मुक्त गरेर अनुसन्धान अघि बढाइएको छ । यद्यपी उनीहरुविरुद्ध भने मुद्दा चलाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?