
९ वैशाख, वीरगञ्ज । छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढेसँगै भन्सार छलीका सामान बरामद हुने क्रम बढेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँको अवैध तथा शंकास्पद मालसामान बरामद गरेको जानकारी दिए ।
‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।’
सशस्त्र प्रहरी बलले २०८१ वैशाखदेखि २०८२ वैशाख ६ गतेसम्म २८ करोड ११ लाख छ हजार ४८७ रुपैयाँ मूल्यका भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसैगरी, सोही अवधिमा १३ करोड ८१ लाख २५ हजार २२० रुपैयाँ मूल्यको बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ ।
गणपति धिमालले सशस्त्र प्रहरी बलले जिल्लामा एक सय सात किलोमिटर खुला सीमाको सुरक्षा, सीमानाकामा हुने अवैध चोरीपैठारी निकासी रोकथाम र सीमावासीसँग सशस्त्र प्रहरीलगायतका कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4