
९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।
‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’
बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने ।
यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ ।
यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत भएको छैन ।
शिक्षक महासंघले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ । ‘आज ९ गते भयो । दुई दिन बाँकी छ । यस्तो समयमा बोर्डले परीक्षा गर्ने निर्णय ग¥यो । हामी असहयोग गर्छौं । शैक्षिक हड्ताल कायमै छ,’ शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले भने ।
शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने अन्योल भएका बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4