
करिअरको यो विन्दुसम्म आइपुग्दा अभिनेता राजेश हमाल व्यक्तिभन्दा एक संस्था हुन् । घरेलु फिल्मको झण्डै ६० वर्ष लामो ट्रयाकमा उनी अझै बुर्कुसी मार्दै छन् । कपुरधाराको ठिटो राजु कसरी कालान्तरमा राजेश हमाल बन्यो, धेरैका लागि यो प्रेरणाको स्रोत हो । मुम्बईमा र्याम्प मोडलिङ गर्दागर्दै फिल्मको मायानगरीमा होमिएका हमाल अहिले घरेलु फिल्मका एक अग्ला मान्छे हुन् । बीचमा कतै सुस्ताएको र अलमलिएको उनको फिल्म यात्रा प्रदर्शन तयारीमा रहेको ‘नरसिंहा अवतार’बाट लयमा फर्किंदैछ । हालैको एक अपरान्ह राजेशले अनलाइनखबरसँग ८ वर्षपछिको पुनरागमन, आफूबारे बनेको भाष्य र नेपाली सिनेमाको गुरुत्वबारे अनलाइनखबरकर्मी विष्णु शर्मासँग गफगाफ गरे :
पछिल्लो ८ वर्षसम्म फिल्मभन्दा बाहिर बस्दा तपार्ईले के सोचिरहनुभएको थियो ?
फिल्म नगरेको अवधिमा ब्यस्तता मेरो एकदमै थियो । त्यो भएर पनि मलाई लाग्यो कि म फिल्म क्षेत्रबाट अलग्गिएको छैन । किनकी यसको गतिविधिसँग नजिक थिएँ, एकदम जानकार थिएँ । तपाईंलाई थाहा छ कि छैन, यो ८ वर्षमा धेरै टेलिभिजन शो गरेँ । क्वीज कार्यक्रम चलाएँ, को बन्छ करोडपति कार्यक्रम पनि चलाएँ । देश तथा विदेशका कार्यक्रम पनि अत्याधिक संलग्न भएँ । चलचित्र नगर्दा यी गतिविधिमा मेरो सेड्युल जहिले पनि प्याक हुन्थ्यो ।
अहिले त नेपाली दाजुभाई दिदीबहिनी संसारभर छरिनुभएको छ । यो अन्तरालमा धेरै व्यक्तिले मलाई विभिन्न छलफल र कार्यक्रममा बोलाउनुहुन्छ । दुईचार महिनामा कलेजमा पुगेको हुन्छु । विद्यार्थीलाई सम्बोधन गरेको हुन्छु । यस्तो ब्यस्तताले गर्दा फिल्मको अफर आउँदा पनि म ब्यस्त छु, फिल्म नगरौं कि भन्ने कहिल्यै लागेन । म त्यो ब्यस्ततामा रमाइरहेको पनि थिएँ । किनकी पच्चिसौं वर्षसम्म मैले लगातार फिल्म गरेँ ।
यो रफ्तारमा यत्तिका फिल्म आउने कलाकारलाई गर्न सम्भव पनि हुँदैन । त्यो परिस्थिती पनि छैन, सम्भव पनि हुँदैन । त्यसरी गर्दा पनि गरिँदैन । ‘युगदेखि युगसम्म’ रिलिज भएको १२ वर्षसम्म ब्रेक नै नलिइकन चलचित्र गर्या छु । त्यो बेलामा विदेश भ्रमण पनि हुने थिएन । खाली चलचित्र, चलचित्र, चलचित्र । शनिबार, आइतबार केही पनि हुँदैन थियो । दशैंमा पनि २ दिन टीका अनि त्यसपछि छायांकन । त्यसरी १२ वर्षसम्म निरन्तर गर्या छु । यसकारण २५ वर्षसम्म एक किसिमको आनन्द आइरहेको थियो । ब्यस्त भएपनि भित्री मनमा चाहिँ चलचित्रमा केही गर्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो ।
‘नरसिंहा अवतार’मा के त्यस्तो तत्व छ जसले तपाईं आफ्नो फिल्मको वनबासलाई त्याग्न बाध्य हुनुभयो ?
दिएको भूमिका, चरित्र नै हो । टीम पनि राम्रो छ । यत्तिको चलचित्र गर्दा राम्रो होला जस्तो पनि लाग्यो । यसअघि खासै आकर्षित गर्ने भूमिकाको प्रस्ताव आएको थिएन ।
राजेश हमाल व्यक्ति नभएर ‘न्यारेटिभ’ बनेको छ । पछिल्लो समयमा केही कलाकारले जस्ता फिल्म खेल्दा पनि ‘यो राजेश हमालकै बाटोमा’ हिँड्न थाल्यो भन्ने आरोप आउन थाल्यो । तपाईंको दृष्टिकोणमा राजेश हमाल कस्तो न्यारेटिभ हो ? यो भाष्य कत्तिको सहि हो ? यसबारे तपाईंको के धारणा छ ?
हो, मैले धेरै फिल्म गरेँ । अत्यधिक फिल्म गरेँ । त्यतिबेला मेरो प्रमुख जिम्मेवारी के पनि थियो भने- चलचित्र क्षेत्र फस्टाउनुपर्यो, मौलाउनुपर्यो । कुनै चलचित्र नै नबन्ने परिस्थितीमा म आएको थिएँ । कुनै एबीसीडीले चलचित्र बनाउन चाहन्छ भने उहाँहरूलाई त्यो माहोल सिर्जना गरिदिनुपर्यो । नत्र उहाँहरूले फिल्म बनाउनुभएन भने नेपाली चलचित्रको विस्तार कसरी हुन्छ ? यसकारण, त्यो अर्कै सोचाइको विन्दू थियो, अर्कै परिस्थिती थियो ।
नेपाली चलचित्रको इतिहासलाई तपाईंले अन्य राष्ट्रको इतिहाससँग जोडेर हेर्न पनि मिल्दैन । अन्य राष्ट्रमा हाम्रो चलचित्रले यस्तो गर्यो, कलाकारले उस्तो गर्यो भन्ने नै हो । हाम्रो माहोल नै अर्को थियो । मैले पहिलो चलचित्र गर्दा यहाँ दुईजना मेकअपम्यान थिए । मैले पहिलो चलचित्र गरेको तेस्रो दिनसम्म एउटै कलाकारले ५/६ वटा फिल्म गर्दाखेरी क्यामेराम्यान कहाँबाट ल्याउने, मेकअपम्यान कहाँबाट ल्याउने भन्ने हुन्थ्यो । मैले फिल्म गर्दैगर्दा सहायक क्यामेराम्यान क्यामेराम्यान भयो । अन्य जनशक्ति आउन थाले । त्यो विन्दू अर्कै थियो । अन्य राष्ट्रमा कस्तो हुन्छ भने, त्यो फिल्म मैले गर्नुपर्ने, कस्तो सुपरहिट भयो यार, मलाई पछुतो भयो या यो फिल्म नगरेर त्यो फिल्म गरेको भए हुन्थ्यो भन्ने परिस्थिती तपाईंले नेपाली चलचित्र क्षेत्रमा हेर्नुभयो भने पाउनुहुन्न ।
(हाँस्दै) मैले कुन फिल्म गर्या भए हुने वा नगरेको भए हुने नब्बेको दशकमा । यो पृष्ठभूमि त छैन नि नेपाली चलचित्रमा । हाम्रोमा त प्रायःजसो फिल्म फर्मुलामै बन्ने हो । स्क्रिप्टमा कसैले म यस्तो फिल्म बनाउँछु भनेर आउँदैन । राजेश दाई तपाईंको लागि राम्रो फिल्म ल्याएको छु भनेर आउँछन् । पछि त्यही हो, प्रस्तुत गर्दा, पर्दामा उतार्दा, विभिन्न कम्प्रमाइज गर्दा कुनै चल्दिन्छ, कुनै चल्दैन ।
त्यसकारण धेरै फिल्म जथाभावी गर्यो भन्ने नेपाली चलचित्रको इतिहास नबुझेको हो । नेपाली चलचित्रको स्थिती नबुझेको हो । त्यो चाहिँ म मान्दिन । अहिले पनि मैले गर्नुपर्यो भनेपनि त्यही प्रक्रियामा गर्ने हो । अहिलेको लागि यस्तो जिम्मेवारी छैन । धेरै सहज छ । अहिलेका कलाकारले यस्तो सोच्दैन होला । मेरो समयमा नेपाली चलचित्रको विस्तार हुनुपर्छ, जनशक्ति आउनुपर्छ । कलाकार छैन, कलाकार आउनुपर्छ भन्ने सोच्दैन होला । सोच्न खाँचो पनि छैन । उहाँहरूकै विन्दूबाट सोच्छ । मैले चाहिँ त्यो विन्दुबाट सोचेँ ।
अरुको लागि राजेश हमाल भनेको धेरै कुरा हुन् । तपाईंको लागि राजेश हमाल भनेको के हो ?
व्यक्तिगत सम्बन्धमा म आफूलाई कलाकार भनेर सोच्दिन । म आफूलाई नितान्त व्यक्ति भनेर सोच्छु । व्यक्तिकै हिसाबमा आफ्नो कमी कमजोरी हेर्छु । व्यक्ति चाहिँ फरक हो म (हाँस्दै) । म आफ्नो जीवनलाई, सोचलाई, उपस्थितीलाई बेग्लै ढंगले हेर्छु । व्यवसायिक कलाकार भनेको मात्र सोच्ने भन्दा पनि जीवन पनि सोच्छु । जीवनको सोचाइमा म निष्कर्षमा पुग्न सक्या छैन । मलाई लाग्छ, जीवनको कुनै परिभाषा छैन । त्यो परिभाषा नभएको हुनाले अनेक कोणबाट विभिन्न परिभाषा आउँछ । जीवन भनेर सोध्दा विभिन्न व्यक्तिले आफ्नो परिभाषा दिन्छ, धर्मले आफ्नो परिभाषा दिन्छ ।
मेरोमा जीवनको आफ्नो परिभाषा छैन । जीवनमा आउँछौ, हुर्कन्छौं, एउटा समय हुन्छ जुन समय हामी उफ्रन्छौं, त्यो समयमा हाम्रो लाइमलाइट पनि हुन्छ । उफ्रिँदा उफ्रिँदा अलिकति शीतल हुन्छौं, सेलाउँछौं र विलिन हुन्छौं, जान्छौं । फिनिस्ड । कहानी खत्तम । तपाईंले दिग्गज से दिग्गज व्यक्ति हेर्नुभयो पनि त्यही प्रक्रियाबाट गुज्रिएका छन् । उफ्रिने समयमा म बिनाको जिन्दगी अन्धकार हुन्छ, म नै हो भन्ने हुन्छ । तरपनि जीवन चलिरहेको हुन्छ । संसारका दिग्गज व्यक्ति पनि आए, जन्मिए, उफ्रिए र गए ।
तपाईंका लागि फिल्ममा सबैभन्दा बढी महत्व राख्ने चीज कुन हो ?
सिनेमामा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ त्यसलाई तपाईं जसलाई पस्किनुहुन्छ, उहाँहरूको स्वीकारोक्ती हो । उहाँहरूले कत्तिको स्वीकार्नु भयो, भएन । यदि उहाँहरूले स्वीकार्दिनुभयो भने सबैभन्दा मुख्य उद्देश्य सफल भयो ।
तपाईंले पछिल्लो चरणमा नेपाली सिनेमा हेर्नुभएको छ कि छैन ? हेर्नुभएको छ भने अहिले बनिरहेका फिल्मप्रति तपाईंको नलेज के छ ? नेपाली फिल्म कता गैरहेको छ ?
नेपाली फिल्म एउटा गतिमा छ । यहाँ संलग्न व्यक्तिहरू सक्रिय हिसाबले लागिरहनु भएको नै छ । यो सकारात्मक पक्ष हो । नेपाली फिल्मको आफ्ना दायराहरू छन् । तपाईंले अन्तर्राष्ट्रिय क्षेत्रमा जतिसुकै गरेपनि, प्रविधि जतिसुकै परिवर्तन भएपनि आजको समयमा उपलब्ध सबै प्रविधि र सीप भित्राउने क्षमता त हामीसँग छैन । टेक्नोलोजी उपलब्ध भएपनि त्यसको सीमित दायरामा बसेर हामीले बनाउँछौं । हामी अपार बजेटमा पनि जान सक्दैनौं ।
त्यसैले अहिलेको परिस्थितीमा नेपाली चलचित्रहरू सन्तोषजनक नै छन् । किनकी गति हुन्जेलसम्म एउटा मोडमा परिवर्तन हुन्छ भन्ने आशा हुन्छ । ठप्प छैन । कलाकार आफूले गरेका काम र पाएका कामसँग सन्तुष्ट हुनुहुन्छ, नयाँ नयाँ व्यक्तिहरू आएर सफलता हासिल गर्नुभएको छ । यसबाट धेरै कुरा पनि प्राप्त गर्नुभएको छ । यस क्षेत्रसँग धेरै आशा पनि राख्नुहुन्छ । यस मानेमा धेरै राम्रो छ ।
एउटा अभिनेताको रुपमा तपाईंको ‘स्ट्रेन्थ’ र ‘विकनेस’ चाहिँ के हो ?
मेरो ‘स्ट्रेन्थ’ चाहिँ म आफूलाई दिएको कार्य पूर्ण प्रतिबद्धता साथ गर्छु । मेरो विकनेस चाहिँ म सितिमिती सन्तुष्ट चाहिँ हुँदिन । सन्तुष्टि नराख्ने व्यक्तिमध्ये एक हुँ ।
तपाईंको नजरमा कस्तो सिनेमा राम्रो सिनेमा हो ?
मान्छेहरू भन्छन् नि- ओहो यो कमर्सियल सिनेमा हो, आर्ट सिनेमा हो । फिल्म न कमर्सियल हुन्छ, न आर्ट हुन्छ । खाली दर्शकले रुचाएको फिल्म हुन्छ । तपाईंले आर्ट फिल्म हो भनेर बनाउनुभयो र दर्शकले भयंकर रुचाउनुभयो भने त्यो कमर्सियल हुन्छ । त्यसकारण, मेरो बुझाइमा जसले दर्शकबाट सफलता प्राप्त गरे, त्यो मेरो लागि राम्रो फिल्म हो ।
तपाईं अंग्रेजी साहित्य धेरै पढ्नुहुन्छ । ज्ञान पनि छ । साहित्यको राम्रो ज्ञान भएको मान्छेले किन साहित्य कमजोर भएको फिल्ममा काम गर्नुभयो विगतमा । के अभिनेतालाई सिनेमाको स्टोरी र क्यारेक्टरको बारेमा प्रश्न गर्ने दायित्व हुँदैन ?
साहित्य र फिल्म भनेको बेग्ला बेग्लै कुरा हो हेर्नुस । फिल्मको जुन प्रक्रिया हुन्छ, त्यसमा त मैले कहिल्यै पनि ध्यान दिइन । तपाईंले दर्शकलाई जुन फिल्म पस्किनुहुन्छ, त्यसबाट सफलता प्राप्त नहुन पनि सक्छ या हुँदैन । म तपाईंलाई उदाहरण दिन्छु– मैले ‘जीवन संघर्ष’ भन्ने एउटा फिल्म गरेको थिएँ, जतिबेला एकदमै सफल र रुचाइएका फिल्ममा काम गरिरहेको थिएँ ।
‘देउता’पछि मैले ‘जीवन संघर्ष’ गरेँ, जहाँ चाहिँ कुनै एक्सन छैन । म यसमा एउटा लेखकको रुपमा प्रस्तुत छु । तर, त्यो चलचित्र तिरस्कृत भयो । चल्दा पनि चलेन । यसकारण, साहित्यको उद्देश्य र मनोरञ्जनात्मक चलचित्रको उद्देश्य त्यो बेग्लै कुरा हो । चलचित्रको उद्देश्य परिपूर्ति गर्नु मेरो धर्म हो । त्यसलाई तपाईंले साहित्यिक हिसाबबाट भएन भनेर हेर्नुभयो भने त्यो प्रत्युत्पादक हुन्छ ।
अभिनेता फिल्मको पात्र र कथामा प्रश्न गर्ने दायित्व हुन्छ । तर, मुख्य उद्देश्य आफूले पस्किएको व्यक्तिले यसलाई रुचाइदिनुपर्यो । आफूले पस्किने जनसमुदायको रुचि के छ ? शतप्रतिशत रुचि बुझ्न सकिँदैन । शतप्रतिशत रुचि बुझ्ने भए त हरेक फिल्म सफल हुन्थे । अनुमान चाहिँ लगाउन सकिन्छ ।
मनोरञ्जनात्मक चलचित्र रुचाउने जमातलाई साहित्यिक कुरा मन नपर्न पनि सक्छ । त्यसकारण हामीले पस्किने सामग्री भनेको आमजनसमुदायलाई हो । साहित्य, कविता भनेको सीमित लक्षित वर्गलाई एउटा रुचिको विषय हुन्छ । साहित्य हरेक ‘व्यक्तिको कप अफ टी’ होइन । ९८ प्रतिशत जनसमुदायले त धेरै सोच्न चाहँदैनन् । हामीले नेपालसहित विश्वमा राम्रा-राम्रा साहित्यकार कविहरू पनि पायौं । पुराना मठमन्दिर बनाउने कलाकार पनि पायौं । मठमन्दिर बनाउने पनि पायौं । हाम्रो अभाव के छ भने, फिल्म बनाउने मेकर त्यही मापदण्डको पाएका छैनौं । त्यही परिस्कृत फिल्ममेकरको अभाव छ ।
‘नरसिंहा अवतार’को सफलता वा असफलताले तपाईंको भविष्यलाई डिफाइन गर्छ कि तपाईं अन्य कामको लागि पनि तयार भएर बस्नुभएको छ ?
‘नरसिंहा अवतार’को जे परिणाम भएपनि जीवन त अघि बढि नै हाल्छ । प्राथमिक उद्देश्य के हुन्छ भने, आफूले गरेको प्रोजेक्ट सफल होस् । अहिलेको हाम्रो फोकस त्यही नै छ । भोलि गएर यो गलत सावित भैदियो भनेपनि जीवन त अघि बढिहाल्छ । अहिलेको ध्यान यो प्रोजेक्ट सफल होस् भन्ने छ । सफल भैदियो भने एक हिसाबले आफ्नो उद्देश्य पुरा भैदिए हुन्छ जस्तो लाग्छ ।
यो फिल्मलाई दर्शकले राजेश हमालको कमब्याक हुँदैछ भनेर हेर्न आउने कि राजेश हमालले यसमा भयंकर काम गरेका छन् भनेर हेर्न आउने कि । केको लागि यो फिल्म हेर्न आउने ?
मैले एक अन्तरालपछि यो फिल्म गरिराख्या छु । अन्तरालपछि फिल्ममा फर्किँदा दर्शकको जिज्ञासा हुन सक्ला कि यसको फिल्म कस्तो छ भनेर । के गरेको होला भनेर । अन्तरालपछि आउँदा व्यक्ति पनि परिवर्तन भैसकेको छ । यो पनि हो । हुन पनि म परिवर्तित भैसकेको छु । यी कुरा पर्दामा पनि देखिएला ।
यसकारण यो व्यक्तिले कस्तो गरेको होला भनेर होला । कतिलाई यो व्यक्तिले किन चलचित्र गरेन, गरिदिएको भए पनि हुन्थ्यो होला भन्ने होला । किन आएन भन्नेको जिज्ञासा पनि होला । अर्कोकुरा, चलचित्रलाई जसरी हामीले प्रस्तुत गरेका छौं, त्यो कुरामा आकर्षित हुनुभएको होला । धेरै कुरा छन् । कति व्यक्ति यो व्यक्ति आइदियोस् भन्ने आशामा पनि बसेका होलान् । कतिलाई अब कस्तो हिसाबले प्रस्तुत हुन्छ होला भन्ने जिज्ञासा पनि होला ।
ग्राफिक्स : अरुण देवकोटा
प्रतिक्रिया 4