+
+
Shares

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १३:३७

९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा यादव र अन्सारीले भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

नगरपालिकाबाट आव २०७७/७८ मा सञ्चालन भएका ठेक्काहरू (क्रमशः ठेक्का नं. ०२/२०७७/७८ र ठेक्का नं. ०३/२०७७/७८ ) को बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष कमलकुमार उपाध्याय समेतको मिलेमतोमा अभिलेखमा राख्ने प्रयोजनका लागि मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

झुट्टा विवरण सहितको पत्रिकाको आधारमा ३ लाख ५२ हजार ५६० केएस मल्टिपर्पोज प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको हुँदा यादव र अंसारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएकोले ३ लाख ५२ हजार ५६० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

साथै केएस मल्टिपर्पोज प्रालिका अध्यक्ष उपाध्यायले ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन नगरी अभिलेखका लागि मात्रै प्रभाव दैनिकमा एक प्रति सूचना प्रकाशित गरी भुक्तानी लिएको पुष्टि भएको हुँदा उनलाई समेत सोही बिगो दाबी सहित आरोपपत्र दायर गरिएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?