+
+
Shares

घनश्याम भूसालको टिप्पणी– आई लभ यू होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ

‘माओवादी मधेशमा दगुर्ने, काठमाडौंमा आँखा लाउने’

एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे । उनले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १३:५९

९ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे ।

शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उनले सुरुमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।

‘यत्रो आन्दोलन चलिरहेको छ । हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भूसालले भने ।

विद्या भट्टराईलाई २०४६ सालको आन्दोलनदेखि आफूले चिनेको भन्दै उनले भने, ‘इमानको साक्षी बस्ने महिला हो उनी । उनी निस्किएकी छन् ।’

अर्थतन्त्रमा संकट, व्यापारी व्यवसायीमा निराशा र जनअपेक्षा पूरा हुन नसकिरहेकाले सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन ११ गते एमालेले शक्ति प्रदर्शन गर्न लागेको भनेर पनि उनले आलोचना गरे

‘११ गते आई लभ यू केपी बा भन्ने रे !’ भूसालले भने, ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो ।’

देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।

‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउण्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरु, अराजकहरु, पपुलिष्टहरु लाग्या छन्,’ उनले भने, ‘यो ठाउँमा पार लगाउने कसले हो भन्दा लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । तर पार्टी कस्ता छन् भने एमाले जस्ता, एमाले कस्तो छ भन्दा कमरेड ओलीजस्तो । अरुको सुन्दैन, जनताको प्रवाह गर्दैन ।’

उनले थपे, ‘सारा संकटले देश डुब्दै छ । उनलाई नाम चाहिया छ, एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’

कांग्रेस न लायक, न नालायक

एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे । उनले कांग्रेसलाई ‘न लायक, न नालायक’को संज्ञा दिए ।

‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । अरु नालायक भए त्यो लायकजस्तो देखिन्छ । अरु लायक भए त्यसको खासै भूमिका देखिन्न’ भूसालले भने ।

माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ

कांग्रेसपछि भूसालले माओवादी केन्द्रको आलोचना गरे । माओवादी केन्द्रलाई उनले ‘लुकिङ लण्डन, टकिङ टोकियो’ शैलीको भनेर आलोचना गरे ।

नाम माओवादी भए पनि उसको सिद्धान्त र व्यवहार नमिल्ने बताए ।

उनले भने, ‘अर्को हाम्रो सहयात्री छ माओवादी । त्यो माओवाद भनेर राख्या छ, नाम पनि माओवादी हो । के हो त्यो माओवाद व्याख्या पनि गर्दैन । किन राखेको हो त्यहाँ ?’ उनले प्रश्न गरे, ‘त्यसैलाई मैले भनेको लुकिङ लण्डन, टकिङ टोकियो । माओवाद भनेको के हो भने एकातिर हेर्ने, अर्कोतिर कुरा गर्ने ।’

माओवादको सिद्धान्त भए पनि सन्दर्भ नमिल्ने उनले जिकिर गरे । उनले प्रश्न गरे, ‘माओवादबाट हेर्दा के देखिन्छ ? समाज के देखिन्छ ? वर्ग के देखिन्छ ? आन्दोलन के देखिन्छ ? यसको भविष्य के देखिन्छ ? हाम्रो भूराजनीति कस्तो देखिन्छ ?’

माओवादीले क्रान्ति गर्ला र राजनीतिक निकास देला भन्नु बेकारको कुरा भएको भूसालले बताए ।

‘जहिलेसम्म माओवादी रहन्छ, त्यो हाम्रो वास्तविकताको नजिक पनि आउँदैन र त्यसले निकास दिने कुरा, त्यसले क्रान्ति गर्ने कुरा त बेकार कुरा हो,’ उनले भने, ‘त्यसले यस्तै कुरा गर्छ, हाम्रो बलमा गणतन्त्र आयो, हाम्रो बलमा गणतन्त्र आएको हो । यो हामीले ल्याएको हो भनेपछि यसको भोग पनि हामीले नै गर्नुपर्छ । यसको लजिक यही हो ।’

माओवादीको आँखा सत्तातिर रहेको कटाक्ष गर्दै उनले भने, ‘मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ । कहाँ बत्ती बल्यो, कुनै झ्यालमा बत्ती बलेको छ कि भन्छ, त्यता हेर्छ । त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको ।’

मधेशवादी दलहरुको पनि आलोचना गर्दै उनले क्षेत्रीय पार्टीले केन्द्रको समस्या समाधान गर्न नसक्ने जिकीर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?