झिंगाको खुट्टा र शरीरमा साना रौंहरू हुन्छन्, जसले विभिन्न सूक्ष्मजीवहरू बोक्ने काम गर्छ । झिंगाले आफ्नो वातावरणमा गन्ध र तापक्रमको आधारमा खाना खोज्छ ।
झिंगाको प्रजनन् क्षमता अत्याधिक हुन्छ। एउटा पोथी झिंगाले आफ्नो जीवनकालमा ५०० देखि १००० अण्डा पार्न सक्छ । झिँगाले फोहोर ठाउँ, सडेको खाना, मल वा जैविक पदार्थमा फुल पार्ने गर्छन् । २४ घण्टाभित्र अण्डाबाट लार्भा निस्कन्छ, यो जैविक पदार्थ खाएर बढ्छ ।
लार्भा ३ देखि ५ दिनमा प्यूपामा परिणत हुन्छ र त्यसपछि २ देखि ४ दिनमा वयस्क झिंगा बन्छ । यो छोटो जीवनचक्र र उच्च प्रजनन् दरले झिंगालाई रोग फैलाउन सक्षम बनाउँछ ।
झिंगाले रोग फैलाउने तरिका
झिंगाले रोग फैलाउने मुख्य कारण यसको खाना खाने र बस्ने बानी हो। झिंगा फोहोर, मलमूत्र, सडेको खाना आदिमा बस्छ, त्यही झिँगा फेरि स्वच्छ खानेकुराहरू बस्छ । जसले रोगजन्य सूक्ष्मजीवहरू (जस्तै ब्याक्टेरिया, भाइरस, परजीवी) लाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्छ। झिंगाले रोग फैलाउने प्रमुख तरिकाहरू निम्न छन् ।
मैकेनिकल ट्रान्समिसन
झिंगाको शरीर, खुट्टा र प्रोबोसिस (सुँड) मा हजारौं सूक्ष्म रौंहरू हुन्छन्, जसले ब्याक्टेरिया, भाइरस र अन्य रोगजन्य तत्व बोक्छन् । जब झिंगा फोहोर वा मलमा बस्छ, यी रोगजन्य तत्वहरू यसको शरीर एवं सुँडमा टाँसिन्छन् । त्यसपछि, जब यो स्वच्छ खाना, पानी वा भाँडाकुँडामा बस्छ, रोगजन्य तत्वरू स्थानान्तरण हुन्छन् ।
उल्टी र मलबाट
झिंगाले ठोस खानालाई तरल बनाउन आफ्नो पाचन रस (उल्टी) प्रयोग गर्छ। यो प्रक्रियामा, झिंगाले रोगजन्य सूक्ष्मजीवहरू खानामा छोड्छ । साथै, झिंगा जहाँ बस्छ, त्यहाँ आफ्नो मल पनि छोड्छ, जसमा ब्याक्टेरिया र भाइरस हुन्छन् । यो मल र उल्टीले खाना र पानी दूषित हुन्छ, जसले रोग फैलाउँछ ।
खुला घाउ
झिंगाले मानिसको खुला घाउ, आँखा वा नाकको श्लेष्मक झिल्लीमा बस्दा रोगजनकहरू स्थानान्तरण गर्न सक्छ। उदाहरणका लागि, आँखाको सङ्क्रमण र आँखा रातो हुने रोग झिंगामार्फत फैलिन सक्छ । झिंगाले ब्याक्टेरियालाई घाउमा स्थानान्तरण गरेर सङ्क्रमण निम्त्याउन सक्छ ।
झिंगाले फैलाउने प्रमुख रोगहरू
झिंगाले विभिन्न संक्रामक रोगहरू फैलाउँछ, जसमा निम्न समावेश छन्,
१. टाइफाइड र प्याराटाइफाइड
साल्मोनेल्ला टाइफी/प्याराटाइफी जस्ता ब्याक्टेरियाले टाइफाइड र प्याराटाइफाइड निम्त्याउँछ। झिंगाले यी ब्याक्टेरियालाई मल वा दूषित पानीबाट खानामा स्थानान्तरण गर्छ। यो रोगले ज्वरो, कमजोरी र पाचन समस्याहरू निम्त्याउँछ ।
२. झाडापखाला र डिसेन्ट्री
इकोलाई, शिगेल्ला, क्याम्पाइलोब्याक्टर जस्ता ब्याक्टेरियाले झाडापखाला र डिसेन्ट्री निम्त्याउँछ । झिंगाले यी रोगजनकहरूलाई खाना र पानीमा स्थानान्तरण गर्छ, विशेष गरी दूषित वातावरणमा झिँगाको उपस्थित धेरै हुन्छ।
३. हैजा
भिब्रिओ कोलेरा ब्याक्टेरियाले हैजा निम्त्याउँछ, जुन झिंगाले दूषित खाना र पानीमार्फत फैलाउँछ। यो रोगले गम्भीर झाडापखाला र जलवियोजन गराउँछ ।
४. आँखाको सङ्क्रमण
झिंगाले क्लामाइडिया ट्रेकोम्याटिस जस्ता ब्याक्टेरियालाई आँखामा स्थानान्तरण गरेर ट्रकोमा र कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) फैलाउँछ। यो विशेष गरी बालबालिका र दूषित वातावरणमा बस्नेहरूमा बढी देखिन्छ ।
५. परजीवी रोगहरू
झिंगाले इन्टाइमोइबा हिस्टोलाइटिका जस्ता परजीवीहरूलाई पनि स्थानान्तरण गर्न सक्छ, जसले आँउ मासीको समस्या निम्त्याउँछ। यस्ता परजीवीहरू झिंगाको मल वा उल्टीमार्फत खानामा पुग्छन् ।
नियन्त्रण र रोग रोकथाम
झिंगाले रोग फैलाउन नदिन निम्न उपायहरू अपनाउन सकिन्छ
१. स्वच्छता कायम राख्ने
-खाना ढाकेर राख्ने र भान्सालाई सफा राख्ने ।
-फोहोर र मललाई तुरुन्त व्यवस्थापन गर्ने ।
-फोहोर फाल्ने ठाउँलाई ढाक्ने र नियमित सफा गर्ने ।
२. झिंगा नियन्त्रणका उपायहरू
-झ्याल र ढोकामा जाली राख्ने ।
-कीटनाशक वा झिंगा मार्ने स्प्रे प्रयोग गर्ने ।
-झिंगाको प्रजनन स्थल (फोहोर, मल) लाई नष्ट गर्ने ।
३. व्यक्तिगत स्वच्छता
-खाना खानुअघि र खाना तयार गर्नुअघि हात धुने ।
-दूषित पानी र खानाबाट बच्ने ।
-खुला घाउलाई सफा राख्ने र ढाक्ने ।
४. सामुदायिक प्रयास
-सरसफाइ अभियान चलाउने ।
-फोहोर व्यवस्थापन प्रणालीलाई सुधार गर्ने ।
-जनचेतना फैलाउने ।
झिंगा एक साधारण कीरा हो, तर यसको रोग फैलाउने क्षमताले यसलाई सार्वजनिक स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसले ब्याक्टेरिया, भाइरस र परजीवीहरूलाई आफ्नो शरीर, खुट्टा, उल्टी र मलमार्फत एक ठाउँबाट अर्को ठाउँमा प्रसार गर्छ । जसले टाइफाइड, झाडापखाला, हैजा, आँखाको सङ्क्रमण र अन्य रोगहरू निम्त्याउँछ ।
झिंगाको जीवनचक्र छोटो भए पनि यसको उच्च प्रजनन् दर र फोहोरमा बस्ने बानीले रोग फैलाउन सजिलो बनाउँछ । स्वच्छता, व्यक्तिगत र सामुदायिक प्रयास, र झिंगा नियन्त्रणका उपायहरूले यस्ता रोगबाट बच्न सकिन्छ ।
प्रतिक्रिया 4