
आजभोलि बालिकाहरू ८–९ वर्षको उमेरमा यौवन अवस्था प्रवेश गर्छन् । यस चरणमा, उनीहरूको शरीरमा हर्मोनल परिवर्तनका साथै शरीरमा अन्य धेरै प्रकारका परिवर्तनहरू पनि हुन थाल्छन् ।
जब कुनै केटी बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्छिन्, उनको शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । किशोरावस्थाको सुरुवातमा केटीहरूको स्तन बढ्न थाल्छ, तिनीहरूको विकास सुरु हुन्छ । यस समयमा ब्रा लगाउनु आवश्यक हुन्छ ।
ब्रा महिलाको भित्री पोशाकको एक महत्त्वपूर्ण भाग हो । यो लगाएकाे खण्डमा शरीरको पोस्चर सही देखिन्छ । साथै ब्राले स्तनलाई उचित सपोर्ट दिन्छ । बढ्दो उमेरका केटीहरूको मनमा ब्राको बारेमा धेरै प्रश्नहरू उठ्छन् र उनीहरू प्रायः यसबारे अलमल्लमा पर्छन् । यस्तोमा ब्रा लगाउन सुरु गर्ने कुनै सही उमेर छ वा यो सबैका लागि फरक हुन सक्छ ?
ब्रा लगाउन सुरु गर्ने सही उमेर
किशोर अवस्थामा प्रवेश गर्दै गर्दा ब्रा भन्दा पहिले समिजको प्रयोग गर्न सकिन्छ । समिज एक हलुका र ताररहित भित्री वस्त्र हो जसले शरीरलाई आराम र आकार प्रदान गर्दछ।
ब्रा लगाउन सुरु गर्ने सही उमेर सबै केटीहरूको लागि एउटै नहुन सक्छ । हरेक केटीको शरीरको विकास फरक–फरक समयमा हुन्छ । कहिले ब्रा लगाउन सुरु गर्नुपर्छ भन्ने कुरा स्तन कसरी विकास भइरहेको छ भन्ने कुरामा निर्भर हुन्छ ।
केही केटीहरूमा, ८–९ वर्षको उमेरमा स्तन विकास हुन थाल्छ भने केही केटीहरूमा भने १३–१४ वर्षको उमेरमा विकास हुन्छ । जब स्तनको आकार देखिन थाल्छ वा दौडँदा र खेल्दा असहज महसुस हुन्छ भने ब्राको प्रयोग सुरु गर्नुपर्छ । युवतीहरूले ब्रा लगाउन सुरु गर्दा पहिले टि–सर्ट ब्रा वा स्पोर्ट ब्रा लगाउन सक्छन् । यसले स्तनलाई उचित समर्थन दिन्छ ।
ब्रा लगाउन सुरु गर्दा पहिले साधारण ब्राबाट सुरु गर्नुपर्छ, जुन नरम कपडाबाट बनेको हुन्छ र यसमा हुक वा अन्य कुनै फेन्सी तत्त्वहरू हुँदैनन् ।
किशोर अवस्थामा प्याडेड ब्रा लगाउनु हुँदैन किनभने प्याडेड ब्रा स्तनको विकास पछि सही आकार र कपको आकारको आधारमा छनोट गरिन्छ । धेरै टाइट वा फेन्सी ब्रा लगाउनु हुँदैन । सही साइजको ब्रा छनौट गर्नु पनि महत्त्वपूर्ण छ, अन्यथा स्तन दुख्ने समस्या हुनसक्छ ।
पहिलो पटक ब्रा लगाउन असहज महसुस हुन सक्छ । यस्तो अवस्थामा, ब्रालाई सामान्य कपडाको रूपमा परिचय गराउनुपर्छ ताकि उनीहरूलाई महसुस हुँदैन ।
किशोरीहरूका लागि ब्रा छनोट गर्दा ध्यान दिनुपर्ने कुरा
किशोरीहरूका लागि ब्रा छनोट गर्दा आकारमा विशेष ध्यान दिनुपर्छ । सही साइजको ब्रा छनोट गर्नुपर्छ, जुन आरामदायी होस् र कसिलो नहोस् । गलत फिटिङ भएको ब्रा लगाउनाले ढाड दुख्ने, मांसपेशीमा तनाव हुने समस्या पनि हुनसक्छ ।
ब्राको प्रकारमा पनि विशेष ध्यान दिनुपर्छ । सुरुवातमा स्पोर्टस् ब्रा वा ट्रेनिङ ब्राको प्रयोग उपयुक्त हुनसक्छ । धेरै टाइट, नाइलन वा सिंथेटिक ब्रा लगाउनाले पसिना सुक्नबाट रोक्छ, जसले गर्दा स्तनका तन्तुहरू तातो हुन्छन् । शारीरिक गतिविधि वा दैनिक जीवनमा सहजता र समर्थनका लागि उपयुक्त ब्रा छनोट गर्नु आवश्यक हुन्छ ।
रातमा ब्रा खोलेर सुत्नु उचित
टाइट ब्रा लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र अन्य पाेषक तत्व पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । त्यसैले रातमा ब्रा खोलेर सुत्नु उचित हुन्छ ।
ब्रा लगाउँदा शरीरको संरचना ठिक रहन्छ र ब्रेस्ट पनि तलतिर झर्दैन तर रातमा ब्रा खोलेर सुत्नु उचित हुन्छ । ब्रा खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ ।
प्रतिक्रिया 4