
९ वैशाख, काठमाडौं । तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा छन् ।
उनी परिसरको हिरासतमा रहेकै बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पत्रमार्फत अदालतबाट अर्को पक्राउ पुर्जी जारी भएको छ । जसका कारण परिसरको काम सकिएपछि उनी सीआईबीको हिरासतमा पुग्ने निश्चित जस्तै छ । सीआईबीले पनि पक्राउ पुर्जीबारे परिसरलाई जानकारी दिँदै कानुनी प्रक्रिया सकिएपछि पठाइदिन भनेको छ ।
परिसरको हिरासतमा रहेर एकसाथ पाँच मुद्दा (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवको कसुर)को कसुरमा अनुसन्धान भएका प्रसाईंविरुद्ध अब सीआईबीले पनि अनुसन्धान अघि बढाउने भएको छ ।
सीआईबीका एसएसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको बताउँदै अनुसन्धान भइरहेको बताए । ‘पक्राउ पुर्जी जारी भएको छ । परिसरको काम सकिएपछि हामी उनीमाथि अनुसन्धान अघि बढाउँछौं,’ एसएसपी बोगटीले अनलाइनखबरसँग भने ।
एसएसपी बोगटीकाअनुसार प्रसाईंमाथि राष्ट्र बैंक अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । एउटा शीर्षकमा बैंकबाट कर्जा लिएर उक्त रकम अन्यत्र खर्च गरेको र कर्जा समेत चुक्ता नगरेको आरोप उनीमाथि रहेको प्रहरीको भनाइ छ ।
यस विषयमा राष्ट्र बैंकसँग समन्वय गरेर अनुसन्धान भइरहेको सीआईबीले बताएको छ । कर्जा प्रवाह गरेका बैंकहरूसँग पनि आवश्यक सोधपुछ सुरु गरिएको बताइएको छ ।
सीआईबीका अनुसार २३ माघ २०८१ मा प्रसाईंविरुद्ध राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान गर्न भन्दै पत्र आएको बताइएको छ । यही प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
स्रोतकाअनुसार यो बाहेक प्रसाईंमाथि सीआईबीले सम्पत्ति शुद्धीकरणको विषयमा पनि अनुसन्धान अघि बढाएको छ । ठूलो रकमको ट्रान्जेक्सन देखिएको र त्यसको स्रोतबारेमा अनुसन्धान गर्नुपर्ने भएको सीआईबीका अधिकारीहरू बताउँछन् । तर कति रकम, कुन मितिमा आयो/गयो भन्नेबारे केही बताइएको छैन । प्रसाईंमाथि यसअघि पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भएको थियो ।
अहिले हिरासतमै रहेका प्रसाईंमाथि साइबर ब्यूरोमा पनि अर्को उजुरी छ । मायाको पहिचान नेपालकातर्फबाट १५ चैतमा २०८१ मा उनीविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा जाहेरी परेको थियो ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका थिए । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ । यो विषय पनि अनुसन्धान भइरहकाले परिसरको कानुनी प्रक्रिया सकिएपछि साइबर ब्यूरोले प्रसाईंलाई उपस्थित गराइदिन भनेको छ ।
परिसरको हिरासतमा रहेका प्रसाईंमाथि सोमबारबाट बयान लिने काम सुरु भएको छ । सोमबारबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले जानकारी दिए । आज मंगलबार पनि प्रसाईंको बयान जारी छ ।
पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।
राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।
प्रतिक्रिया 4