
९ वैशाख, काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।
उनी ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मंगलबार दुईदिने भ्रमणमा आएका हुन् । भारतीय मन्त्रीसँगै खड्काले पनि अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गरे ।
दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
सो अवसरमा दुवै मन्त्रीले आयोजना अन्तर्गतको ’युनिट–२’को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै पावर हाउसनजिक वृक्षरोपण पनि गरे ।
ऊर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । ‘सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस्,’ उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए ।
भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए । ‘अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,’ उनले भने ।
अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ । आयोजनाको शिलान्यास २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए ।
एक खर्ब चार अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाइड्रोपावरले निर्माण गरिरहेको हो । यो आयोजनाको निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
मन्त्री खट्टर भ्रमणका क्रममा मंगलबारै काठमाडौंमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा समेत सहभागी हुनेछन् । नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण संरचनाले दुवै देशको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
बुधबार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्नेछन् । भ्रमण पश्चात उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जासचिव सुरेश आचार्यले उनलाई स्वागत गरेका थिए । त्यसलगत्तै ऊर्जामन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्दै संखुवासभा प्रस्थान गरेका थिए ।
प्रतिक्रिया 4