
९ वैशाख, काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ को तयारी पूरा भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला काठमाडौंमा आयोजना हुनेछ ।
उद्योग वाणिज्य महासंघले मंगलबार सम्मेलन आयोजना गरी मेला तयारीबारे जानकारी गराएको छ । २५ देखि २९ वैशाखसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, बंगलादेश र थाइल्यान्ड सहभागी हुनेछन् ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र माथि उकास्न मेलाले सघाउ पुर्याउने बताए ।
उनले स्वदेशी तथा विदेशी गरी कुल २ सय ५० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ता आउने अपेक्षा राखिएको बताए ।
अर्का उपाध्यक्ष हेमराज ढकालले मेलाको यो १०औं संस्करण भएको जानकारी दिँदै उनले मेलामा ‘मेड इन नेपाल’ पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने जानकारी दिए ।
मेलामा मेड इन नेपाल शो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादन साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी (ईभी) समेत प्रदर्शन गरिने ढकालले जानकारी दिए ।
महासंघ केन्द्रीय सदस्य तथा व्यापार मेला समिति सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा लगायत छुट्टाछुट्टै स्टल राखिने र मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने बताए ।
त्यसैगरी टीइपीसीका वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले नेपाली वस्तुको अन्तर्राष्टिय बजारीकरणका लागि मेला फलदायी हुने बताए ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्विपमेन्ट, इलेक्ट्रिकल्स तथा अटोमोबाइल्स, फुड एन्ड बेभरेज, मिल्क प्रडक्ट, किचन वेयर, गार्मेन्ट, स्मार्टवाच, बंगलादेशबाट गार्मेन्ट, पाकिस्तानबाट छाला तथा गार्मेन्टका स्टलहरु रहने जानकारी दिइयो ।
मेलाको मुख्य प्रायोजकमा आईएमई पे तथा स्पोन्सरमा हेरिटेज कार्पेट रहेको प्यापार मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए ।
मेलामा ज्येष्ठ नागरिक तथा फरक रूपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिनुका साथै विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघले जनाएको छ ।
प्रतिक्रिया 4