
९ वैशाख, काठमाडौं । मधेश प्रदेशकै पर्यटकीय स्थल ठोरीमा ‘स्काइ वाक भ्यू टावर’ सञ्चालनमा आएको छ ।
मंगलबार एक कार्यक्रमका बीच स्काइ वाक भ्यू टावरको उद्घाटन गरिएको हो ।
‘रेड हिल’ पार्कमा ३१ लाख रुपैयाँ लागतमा उक्त स्काइ वाक भ्यू टावर सञ्चालनमा ल्याइएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार उक्त भ्यू टावरमा एक पटकमा २५ जनाले चढेर अवलोकन गर्न सक्नेछन् ।
पर्सा पर्यटन कार्यालय वीरगञ्जले १५ लाख र स्थानीय सरकारले ५ लाख खर्चेर २०७२ सालमै भ्यू टावर निर्माण सुरु गरिएको भए पनि बजेट अभावमा उक्त टावर अलपत्र रहेको थियो ।
अधुरो भ्यू टावर बनाउनका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकासले ४ लाख र निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले आन्तरिक स्रोतबाट ७ लाख रुपैयाँ उपलब्ध गराएपछि भ्यू टावर निर्माण कार्य सम्पन्न भएको बस्नेतले बताए ।
‘मिनी उपत्यका’ को रूपमा चिनिने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य मानिने ठोरीलाई स्काइ वाक भ्यू टावर निर्माणले पर्यटक आगमनमा टेवा पुग्ने उनले बताए ।
केही वर्षयता विशेष गरेर ठोरी भारतीय पर्यटकहरूको रोजाइमा पर्दै आइरहेको बस्नेतले बताए ।
प्रतिक्रिया 4