९ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीका मिडफिल्डर मणि कुमार लामाले पछिल्लो खेलमा पाएको रेड कार्ड फिर्ता भएको छ ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी र धनगढी एफसीबीच भएको क्वालिफायर वानमा मणिले रातो कार्ड पाएका थिए । उनको कार्डको निलम्बन उल्टिएपछि अब उनले फाइनल खेल्न पाउने भएका हुन् ।
अब मणि फाइनल खेलमा उपलब्ध हुनेछन् ।
बैशाख ६ गते भएको खेलमा खेलेको १६औं मिनेटमै विवादास्पद रुपमा मणिले रातो कार्ड पाएका थिए । खेलपछि ललितपुरले मणिको रातो कार्डको विषयमा अपिल गरेको थियो ।
एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ललितपुर सिटीलाई पत्र लेख्दै मणिले पाएको कार्ड रद्ध गरेको र उनी फाइनल खेल्न योग्य रहेको जानकारी दिएको छ ।
यस्तै मणिले खेलका क्रममा कुनै गल्ती गरेको नदेखिएको पनि पत्रमा उल्लेख छ ।
मणिले सुरुमै रातो कार्ड पाएपनि क्वालिफायर वानमा ललितपुरले धनगढीलाई २-१ ले ले पराजित गर्दै फाइनल पुगेको थियो ।
खेलको १५ औं मिनेटमा धनगढीमा मिडफिल्डर मोहमद अल जाउनीले ललितपुरका मणिलाई फल गरेपछि रेफ्रीले भने एल जाउनीलाई पहेँलो कार्ड दिँदा मणिलाई रातो कार्ड देखाएको थियो ।
यस्तै पापे डिएकेटको रातो (दोहोरो) पहेँलो कार्डको विषयमा ललितपुरले गरेको अपिल भने एनएसएल आयोजकले अस्वीकृति गरेको छ । यसको अर्था डिएकेटले फाइनल खेल्न पाउने छैनन् ।
उक्त खेलमा रातो कार्ड देखाएको फिफा रेफ्री उमेश विडारीको विषयमा पनि आयोजकले आन्तरिक रुपमा अनुसन्धान थालेको जनाएको छ ।
यसैगरी एनएसएल आयोजकले खेलका क्रममा ओनर बक्समा रहनेहरुले पनि अनुशासन कायम राख्न आग्रह गरेको छ ।
२२:४७ बजे अपडेट गरिएको
प्रतिक्रिया 4