
९ वैशाख, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ३, ओडारेका कक्षा १२ मा अध्ययनरत रामकुमार तामाङ १५–२० किलोको झोला बोकेर ५ घन्टाको पैदल यात्रापछि मंगलबार बाक्सिला आइपुगे ।
छिमेकी पालिका केपिलासगढीको केन्द्र बाक्सिला बजार आइपुग्दा साँझ छिप्पिइसकेको थियो । पसिनाले निथ्रुक्क भिजेका कपडासहित उनी एक होटलमा पसे र मोबाइलमा समाचार पढ्न थाले ।
पर्सि (बिहीबार)बाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुन्छ कि हुँदैन, उनलाई द्विविधा नै थियो । उनीसँगै थिए सँगै ५/६ घन्टा पैदल यात्राका साथीहरू ६ जना साथीहरू ।
त्यसो त, बितेको तीन साता उनीहरूका लागि यस्तै अन्यौलमा बिते । परीक्षा हुने हो कि होइन भन्ने द्विविधाका बीच परीक्षा तयारी गरिरहेका उनीहरू मंगलबार पौने ९ बजेतिर परीक्षा स्थगित भएको सूचना थाहा पाएर दुःखी देखिए, सँगै आक्रोशित पनि ।
सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै परीक्षा हुने नहुने अन्यौल बढेको थियो ।
सोमबार आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षा प्रभावित हुनेगरी आन्दोलन जारी राख्ने निर्णय गरेको थियो । मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरेको थियो ।
लगत्तै आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गर्यो । जवाफमा सरकारले सरकारी कर्मचारी राखेर परीक्षा गर्ने तयारी गरेको खबर बाहिरिए । मंगलबार साँझ अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले परीक्षा सार्न निर्देशन दिए ।
सरकारले मंगलबार राति परीक्षा स्थगित गरेको सूचना निकाल्यो भने लगत्तै नयाँ परीक्षा मिति २१ वैशाखमा तोक्यो ।

ऐंसेलुखर्क–३ ओडारेका रामकुमारले आक्रोश पोखे, ‘परीक्षा सार्ने निर्णय यति अबेर किन गरेका होलान्, कति गैरजिम्मेवार छ हाम्रो सरकार, बेकारमा दुःख पाइयो ।’
छेउमै बसेका ओडारेकै सोधन तामाङको आक्रोश पनि उस्तै थियो । उनका अनुसार टाटा सुमो रिजर्भ गरेर आएको भए महंगो रकम तिर्नुपर्ने हुन्थ्यो । त्यसैले केही साथीहरू मिलेर पैदल यात्रा गरेर परीक्षा केन्द्र पुग्ने निर्णय उनीहरूले गरे ।
ऐंसेलुखर्क गाउँपालिका वडा–२ मा रहेको त्रिभुवन उच्च माविका ६० भन्दा बढी विद्यार्थीहरूको दिन अन्यौलमै बित्यो । सोधन र रामकुमारका आधाभन्दा बढी साथीहरू बाक्सिला आइसकेका छन् । केहीले भने बुधबार बिहानै आउन टाटा सुमो रिजर्भ गरिसकेका छन् ।
बाक्सिला आइसकेका परीक्षार्थीहरूलाई घर फर्कन कि महंगोमा टाटा सुमो रिजर्भ गर्नुपर्छ कि अग्ला अग्ला पहाडहरू नाघेर पुनः ५/६ घन्टा पैदल यात्रा गर्नुपर्छ ।
मंगलबार १२ बजे साथीहरूसँगै बाक्सिला हिंडेका विवेक तामाङ पनि साँझ ६ बजे बाक्सिला आइपुगे । उनले पनि १६ दिनसम्म परीक्षा केन्द्रनजिकै बस्न किताब–कापी र लत्ताकपडा १५–२० किलोका झोला बोकेका थिए ।
वैशाखको प्रचण्ड गर्मीमा अग्ला पहाडहरू उक्लिएर बाक्सिला आइपुगेका विवेकको पनि आक्रोश उस्तै छ, ‘परीक्षा रोक्नु नै थियो भने समयमै रोक्न सरकारलाई के ले रोकेको थियो, बेकारमा दुःख मात्रै पाइयो,’ उनले भने ।
परीक्षा हुन्छ हुन्न भन्ने द्विविधाले पढाइमा ध्यानै नगएको उनले बताए । ‘सरहरूको आन्दोलन चलिरहेकै छ, सरकारको जवाफ हेर्दा २१ गते पनि परीक्षा हुन्छ कि हुन्न भन्ने अवस्था छ,’ उनले भने, ‘भोलि फेरि फर्कनुपर्यो । पछि फेरि आउनुपर्यो । अब २१ गते पनि परीक्षा हुन्छ कि हुन्न, शंकै छ ।’
ऐसेलुखर्कका सुजन तामाङ र देउकुमार तामाङका अनुसार गहुंगो भारी, परीक्षाको तनाव र गर्मीले शरीर निथ्रुक्क भिजेको मात्रै छैन, गलेको पनि छ । ‘हामीले त गर्मी सहन नसकेर ६ घन्टा हिंड्दा रावा खोला र लिदिङ खोलामा पौडी खेल्दै आयौं, अब भोलि कसरी फर्कने हो ?’ देउकुमारले भने ।
ऐंसेलुखर्क झाँक्रीवासका सुजन परीक्षा नहुने खबर ढिलो थाहा पाउँदा दुःख लाग्नुका साथै सरकारसँग रिस उठेको बताउँछन् । ‘दुःख मात्रै पाइयो, समयमै निर्णय गर्न नसक्ने सरकार र परीक्षा प्रभावित गर्ने गरी आन्दोलन गर्ने शिक्षक यसमा दोषी छन्, हाम्रो भविष्य अनिश्चित भयो,’ उनले भने ।
बाक्सिला आइपुगेका अर्का विद्यार्थी रोशन तामाङले आक्रोशित हुँदै अनलाइनखबरसँग भने, ‘समयमै सूचना पाएको भए हामीले यति दुःख पाउने थिएनौं, पसिनाले शरीर निथ्रुक्कै भिजेका छन्, रिसले टाउको तातेको छ ।’
सरकारले समयमै निर्णय गर्न नसक्दा देशभरीका हजारौं विद्यार्थीले दुःख पाएको र उनीहरूको भविष्य अनिश्चित बनेको रोशनको दुःखेसो छ । ‘हामीजस्ता विकट क्षेत्रका विद्यार्थीलाई कम्ता दुःख भयो, अहिले दुःख त पाइयो नै, भविष्य पनि अनिश्चित होला जस्तो छ,’ उनले भने ।
तस्वीरः रमेशकुमार धमला
प्रतिक्रिया 4