
काठमाडौं । ‘पिताम्बर’पछि निर्देशक कृषा चौलागाईं नयाँ फिल्मको तयारीमा छिन् । आगामी फिल्म भने ‘पिताम्बर’को श्रृंखला हुनेछैन । कृषा नयाँ कथावस्तु र कलाकार लिएर फिल्म गर्ने तयारीमा छिन् ।
जसको प्रदर्शन आगामी फागुनमा हुने बताइएको छ । मंगलबार मात्रै एउटा फोटो सार्वजनिक भयो जसमा निर्देशक चौलागाईंसहित अभिनेता अनमोल केसी र छायांकार पुरुषोत्तम प्रधान देखिएका छन् ।
छायांकार प्रधानले फोटो सेयर गर्दै लेखेका छन्, ‘कफी डेट विथ मेगास्टार अनमोल केसी ।’ वितरक रोहित कट्टेलले पनि सेयर गरेको अर्को फोटोमा २०८२ सालको फागुनतिर फिल्म आउने संकेत गरेका छन् ।
यी तस्वीरको पृष्ठभूमिबारे अनलाइनखबरले अनमोलसँग कुरा गरेको थियो । जवाफमा अनमोलले नयाँ फिल्मको आइडियाबारे भेटमा छलफल मात्र भएको बताए । ‘अहिले केही कुरा टुंगो लागेको छैन । नयाँ एक्सन फिल्मको आइडियाबारे छलफल भएको हो’ अनमोलले भने ।
कृषासँग यो आफ्नो पहिलो भेट बताउँदै अनमोलले कुराकानी सकारात्मक बनेको बताए । यदि कुरा राम्रैसँग अघि बढेको खण्डमा अनमोल र कृषाको सहकार्य हुनसक्ने सम्भावना छ । जेरी अन टपपछि अनमोलले होमप्रोडक्सनको फिल्म गर्ने तयारीमा छन् । जसको स्क्रिप्ट फाइनल छ तर नाम तय हुन बाँकी छ ।
अनमोलको पछिल्लो फिल्म ‘फर्की फर्की’ २०८१ सालका १० धेरै कमाउने फिल्ममध्ये आठौं स्थानमा परेको थियो । उनको आगामी फिल्म ‘जेरी अन टप’ प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4