+
+
Shares

तीनकुनेमा बन्दुक खोस्ने युवकको बयान : कसले लग्यो पत्तै भएन

मल्लले बन्दुक खोसेको स्वीकार गरे पनि उक्त बन्दुक कहाँ गयो भन्नेबारे केही खुलाएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते २२:३५

१० वैशाख, काठमाडौं । तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला पर्न सकेको छैन । बन्दुक खोस्ने युवकलाई पहिचान गरेर पक्राउ गरिए पनि करिब महिना दिन बित्न लाग्दा समेत प्रहरीले बन्दुक फेला पार्न सकेको छैन ।

बन्दुक खोस्ने रुपन्देहीको सैनामैना नगरपालिका–१ घर भएका ३८ वर्षीय गोपाल मल्ललाई प्रहरीले १७ चैतमा पक्राउ गरेको थियो । काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ल भिमसेन गोलाबाट पक्राउ परेका थिए ।

तर अहिलेसम्म बन्दुक भने फेला नपरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बन्दुक खोस्ने मल्लसँगै सोधपुछ गर्नुका साथै बयानको काम समेत भएको छ ।

बन्दुक खोसेको मल्लले स्वीकार गरे पनि उक्त बन्दुक कहाँ गयो भन्नेबारे केही खुलाएका छैनन् । उनको बयानलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘बन्दुक खोसेको हुँ । भीडभाडमा कसले लग्यो, कता लग्यो मलाई थाहा भएन ।’

१५ चैतमा राजावादीको आन्दोलनमा तीनकुनेको मार्बल हाउस नजिकै चेपमा आन्दोलनकारीले प्रहरीमाथि ढंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीको बन्दुक खोसेर चौरतर्फ भागेका थिए । त्यतिबेला आन्दोलनकारीले नै प्रहरीमाथि आक्रमण गरेका थिए । एक महिला प्रहरी भुइँमा लडेर रुँदै याचना गरिरहेको भिडिओ भाइरल छ । मल्लले खोसेको उक्त बन्दुक सशस्त्र प्रहरी बलको ग्यास गन रहेको बताइएको छ ।

प्रहरीको उक्त बन्दुक खोसेको फोटो खिच्दै गर्दा प्रदर्शनकारीको आक्रममा परी अनलाइनखबरकर्मी दिनेश गौतम घाइते भएका थिए ।

दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रहरीको बन्दुक लुटियो । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?