
१० वैशाख, काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ ।
साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.३८ अंक घट्यो । सो गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भयो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।
२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् ।
बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटे । उत्पादन समूह १ अंकमुनि हरियो रह्यो ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युतको ४.३३, र विन्ध्यबासिनी हाइड्रोपावरको २.७० प्रतिशत बढ्यो ।
बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल छन् ।
तीन कारण, जसले झार्यो बजार
चार दिनयता बजार लगातार घट्नुका पछाडि मुख्यतः तीन कारण देखिएका छन् । पहिलो कारण ः बैंकहरुको कमजोर वित्तीय विवरण । अधिकांशले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण कमजोर देखिएपछि त्यसयता बजार घटिरहेको छ ।
त्यस्तै विभिन्न पक्षको आन्दोलनले पनि लगानीकर्ताको मनोभावलाई असर पारेको छ । पछिल्लो पटक गभर्नर नियुक्ति प्रक्रिया थप गिजोलिएपछि लगानीकर्ता सशंकित बनेका छन् ।
गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समितिका एक सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अन्यौलता बढेको छ ।
प्रतिक्रिया 4