
१० वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई आज बुधबार पुनः म्याद थप गर्न लागिएको छ ।
राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।
प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो ।
उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो ।
तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो ।
उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो । अहिले पुनः उनीहरूलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
पक्राउ परेकाहरूको धमाधम बयान भइरहेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले बताए । उनका अनुसार बयानको काम अन्तिम चरणमा पुगेको छ ।
अहिले परिसरको हिरासतमा ६४ जना छन् । अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूमध्ये २१ जनालाई भने हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरूलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।
दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । पत्रकारसहित दुई जनाको मृत्यु भएको तीनकुने घटनाको मुख्य योजनाकार प्रसाईं भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।
राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो ।
प्रतिक्रिया 4