
काठमाडौं । डिजिटल कुलतले बालबालिकामा पर्ने मनोसामाजिक असरको कथामा बनेको फिल्म ‘झिल्को’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत दर्शाउँछ ।
डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको कथामा फिल्म बनेको बुझ्न सकिन्छ ।
बालिकाले विद्यालयमा मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ । त्यसपछि स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक एवं सन्तानबीच बढ्दो दूरीस्ता दृश्यलाई देखाइएको छ ।
शीर्ष भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् । सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभिस श्रेष्ठको पनि अभिनय छ ।
निर्देशक यादवकुमार भट्टराईका अनुसार ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने सङ्कटबारे दर्शकलाई सचेत गराउने प्रयास हो । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक फिल्म निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्शाउन यो कथा चुनेको बताए ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य छन् । जनता टिभीको सहकार्यमा फिल्म निर्माण गरिएको हो ।
प्रतिक्रिया 4