
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीलाई सहयोग पुग्नेगरी बोल्न थालिएको भन्दै आपत्ति जनाएका छन् । पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले विरोधीलाई सहयोग पुग्नेगरी र नेतृत्वप्रति अविश्वास हुनेगरी नबोल्न निर्देशन नै दिए ।
आफ्नो सम्बोधनका क्रममा उनले पार्टीभित्र देखिएको समस्या भनेर मुख्यगरी तीनवटा प्रसंग उल्लेख गरे ।
पहिलो थियो, एमाले नेतृत्व परिवर्तनको सन्दर्भ । जवाफमा ओलीले अझै २०/२५ वर्षसम्म कुर्न आग्रह गरे । ‘कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ,’ ओलीले भने, ‘पोहोर-परार बिरामी थिएँ । अहिले बिरामी-सिरामी छैन । अब मलाई बुढै देख्न मन छ भने २०/२५ वर्ष पर्खनूस् ।’
एमाले नेतृत्व परिवर्तनको प्रस्ताव देशको पक्षमा नरहेको ओलीको तर्क थियो । ‘तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थें नि,’ ओलीले शंका गरे, ‘तर यो (नेतृत्व परिवर्तनको प्रस्ताव) हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ?’
ओलीले दिएको यो जवाफ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई थियो । किनकि, एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य र उमेरबारे बोलेकी थिइन् । पार्टी संगठनभित्र तीव्र रूपमा भण्डारी समर्थकहरूको संख्या बढ्दो छ ।
एमालेभित्र विकसित यस्तो परिस्थितिबाट आक्रोशित ओलीले पार्टी स्थापना दिवसकै अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीलाई चेतावनी दिए । ‘एक दिन हाफ म्याराथुन-स्याराथुन राखौं कि क्या हो ?,’ ओलीको चुनौती पनि थियो ।
पार्टीभित्र उत्पन्न समस्या भनेर ओलीले उठाएको दोस्रो सन्दर्भ थियो, शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामा ।
भट्टराईले मन्त्री पदबाट दिएको राजीनामा प्रकरणमा आफूलाई जोडेर समाचारहरू आएकोप्रति ओलीले चर्को आक्रोश पोखेका थिए । मन्त्रालय चलाउने योग्यता नपुगेर भट्टराईले राजीनामा दिएको निष्कर्षसहित ओलीले भनेका थिए, ‘एकजना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हल्ला छ रे । मैले बनाएको, मैले सहयोग गरिरहेको छु, सिकाइरहेको छु ।’
ओलीको यस्तो भाषण सुनेपछि उनका समर्थकहरूले विद्या भट्टराईको योग्यतामाथि चर्को प्रश्न उठाउन थालेको देखिन्छ । रवीन्द्र अधिकारीको निधनपछि ओलीले उनलाई बाध्यतावश राजनीतिमा ल्याएका र मन्त्री बनाएको भन्दै अहिले विद्याले ओलीलाई नै विवादित बनाउन खोजेको उनीहरूको आरोप छ ।
ओलीले देखेको एमालेभित्रको तेस्रो प्रवृत्तिको समस्या भनेको विद्या भट्टराईलाई समर्थन जनाउने पंक्ति हो । विद्याले मन्त्री पदबाट राजीनामा दिँदा सहानुभूति जनाएर सार्वजनिक अभिव्यक्ति दिनेहरूलाई ओलीले विरोधी कित्ताकै पक्षपोषक मानेका छन् ।
‘हाम्रै साथीहरूले पनि कताकता यत्तिकै विरोध भएको छ त भन्ने भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ,’ ओलीले भनेका छन्, ‘..अपराधीहरूले, समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वले राम्रो काम गर्नेलाई नै सबैभन्दा चर्कोगरी घेराबन्दी गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका तत्व सामेल भइरहेका छन् ।’
ओलीले यस्तो टिप्पणी गरिरहँदा त्यही मञ्चमा थिइन्, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । अनि ओलीले विरोधीलाई बल पुग्ने कुरा गर्नेहरू भन्ने पंक्तिमा उनै शाक्य पनि थिइन् ।
किनकि, शाक्यले सामाजिक सञ्जालमार्फत विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिनुपर्ने परिस्थितिप्रति असन्तुष्टि जनाएकी थिइन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु पर्यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ?,’ शाक्यले आक्रोशित स्टाटस लेखेकी थिइन् ।
शाक्य एमालेको शीर्ष तहमा रहेकी महिला नेतृ पनि हुन् । उनको यस्तो स्टाटसले एमाले पंक्तिमा छुट्टै सन्देश गएको छ । विद्या भट्टराईप्रति सहानुभूति जनाउने शाक्यलाई साथ दिने पंक्तिमा केन्द्रीय कमिटीकै नेताहरू पनि छन् ।
‘योग्य वा इमान्दार मात्र हुन जति सजिलो छ, योग्य र इमान्दार दुवै हुन कयौं गुणा कठिन छ । तपाईं योग्य र इमान्दार दुवै हो, दिदी,’ केन्द्रीय सदस्य रचना खड्काले लेखेकी छन् ।
अर्थात्, ओलीले पार्टीभित्र समस्या देखेका तीनवटै प्रसंग/प्रवृत्तिमा महिला नेताहरू मात्र देखिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीबाट राजीनामा गरेकी विद्या भट्टराई र उनलाई साथ दिने पंक्तिमा देखिएकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहितको पंक्ति सबै महिला छन् ।
कतिपयले यस्तो अवस्था आउनुलाई संयोग मात्र भनेका छन्, तर केहीले चाहिँ एमालेभित्र बदलिँदै गएको दृष्यका रूपमा अर्थ्याएका छन् । ‘नेतृत्वसँग तर्कसहित प्रश्न गर्नुलाई कम्युनिष्ट पार्टीभित्र नकारात्मक रूपमा हेरिनुहुन्न,’ एमालेका एक नेता भन्छन्, ‘अझ महिला नेताहरूले अहिलेको नेतृत्वसँग प्रश्न गर्नु थप अर्थपूर्ण छ ।’
पार्टीहरूभित्र महिला नेतालाई सहयोद्धा नभएर सहयोगीका रूपमा हेरिने प्रवृत्ति तोड्नेगरी एमालेभित्र उठेको प्रश्न अर्थपूर्ण नै भएको उनी बताउँछन् । ‘पुरुष नेताहरूले पदीय स्वार्थलाई आधार बनाएर विरोध वा समर्थन गर्न थालेपछि महिलाहरूले तथ्य बोलेका पनि हुन्छन्,’ उनी भन्छन्, ‘एमालेभित्र जस्तो संस्कृति विकसित भइरहेको छ, नेतृत्वलाई प्रश्न गर्ने पंक्तिमा महिला नेताहरू मात्र एकीकृत हुँदै जानु थप अर्थपूर्ण बनिरहेको छ ।’
तत्कालीन राजनीतिक परिस्थिति मात्र नभएर केही समययताको घटनाक्रममा पनि ओलीको निर्णयप्रति प्रश्न उठाउने पंक्तिमा महिला प्रधान बनिरहेको छ ।
गत असोजमा दानको जग्गामा केन्द्रीय कार्यालय राख्ने निर्णयप्रति असहमति जनाउने नेतृत्व डा. बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनाले गरेका थिए । व्यापारीको दानमा पार्टी कार्यालय राख्दा साढे ५ लाख एमाले पंक्तिको शिर निहुरिने र २८ लाख मतदाताको अपमान हुने अडान उनीहरूले लिएका थिए ।
स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सेनाले लिएको अडानमा प्रकट/अप्रकट ठूलै संख्याका एमाले पंक्तिको समर्थन थियो । तर एमालेले भने स्पष्टीकरण सोध्दै निलम्बनको निर्णय गर्यो । अहिले पनि पाण्डे र तिमल्सेना निलम्बनमै छन् ।
फरकमत राखेकै कारण पाण्डे र तिमल्सेनालाई निलम्बन गर्न नहुने अडान लिनेमा पनि अष्टलक्ष्मी शाक्य अग्रपंक्तिमा थिइन् । यद्यपि, युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि फरक मत राखेकै आधारमा निलम्बन गर्न उचित नहुने राय राखेका थिए । तर शाक्यले सार्वजनिक रूपमा पनि अडान लिन छाडिनन् ।
यसअघिका अरु पार्टी निर्णयहरूमा पनि शाक्यले खुलेर आफ्नो मत राख्दै आएकी छिन् ।
प्रतिक्रिया 4