
१० वैशाख, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दुर्लभकुमार थापाको निधन भएको छ ।
ललितपुरको पाटनस्थित निवासमा ९७ वर्षको उमेरमा उनको निधन भएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले बताए ।
बुधबार प्रहरी महानिरीक्षक दिपक थापासहित प्रहरी उच्च अधिकृतहरुले प्रहरी झण्डा ओढाएर पूर्वप्रहरी महानिरीक्षक थापाको अन्तिम सम्मान व्यक्त गरेका छन् । उनको अन्त्येष्टि समेत भइसकेको छ ।
थापा वि.सं २०३५ साउदेखि २०३९ जेठसम्म आईजीपी बनेका थिए । थापाको कार्यकालमा प्रहरीमा कमाण्डो तालिमको सुरुवात भएको थियो भने पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापनामा समेत थापाको योगदान छ ।
उनले एसपी छँदा २०२५ सालमा इरानमा भएको इन्टरपोलको ३७औं महासभामा नेपाली टोलीको नेतृत्व गरेका थिए । खड्गजित बरालपछि उनी आईजीपी (२०२९ साउन–२०३५ जेठ) भएका थिए ।
बरालका नाती पुजनका अनुसार, बराल र थापाले वि.सं. २०१३/१४ सालमा इन्स्पेक्टर हुँदा भारतको माउन्ट आबुमा सँगै आई.पी.एस (ईन्डियन पुलिस सर्भिस) तालिम गरेका थिए ।
‘प्रहरी जीवनको सुरुवातदेखि नै उहाँ एक सभ्य र अनुशासित प्रहरी अधिकृत हुनका साथै एक प्रतिभाशाली फुटबल खेलाडी पनि हुनुहुन्थ्यो भनेर हजुरबुवाबाट सुनेको थिएँ’, पुजन भन्छन्, ‘प्रहरी जीवनबाट अवकाश पाएको करिब ४ दशकसम्म पनि हजुरबुवा र दुर्लभ अंकलको सम्बन्ध दाजुभाइको जस्तै थियो ।’
उनले करिब ६–७ वर्ष अघि अस्वस्थ रहेका बेला थापालाई भेट्न पूर्वआईजीपी बराल विशेष आयुर्वेदिक औषधि लिएर ललितपुरस्थित निवासमा गएको समेत उल्लेख गरेका छन् ।
‘उहाँको स्वास्थ्यबारे हजुरबुवा सधैँ चिन्तित हुनुहुन्थ्यो । यो कुरा दुर्लभ अंकलका परिवारजनले पनि भनिरहनुहुन्थ्यो’, उनले भनेका छन्, ‘२०६८ सालमा हाम्रो निवासमा उहाँहरूसँग भेट भएको झलझली सम्झना हुन्छ ।’
पूर्वआईजीपी बरालको ५ जेठ २०७८ मा निधन भएको थियो ।
प्रतिक्रिया 4