
१० वैशाख, काठमाडौं । चीनको डान्सबारमा लगेर नेपाली बालिका बेचबिखन गरेको आरोपमा ११ वर्षपछि एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने आशिष परियार नेपाली भनिने आशिष नेपाली छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बबरमहलबाट मंगलबार पक्राउ गरेको हो ।
उनले एक बालिकालाई प्रेमजालमा पारेर चीन लगेर बेचेको आरोप छ । चीनको लिपिङ भन्ने ठाउँमा आफू काम गरेको र सोही स्थानमा भेट्न आउ भन्दै सिन्धुपाल्चोकको तातोपानीसम्म जाने भ्यानको समेत व्यवस्था नेपालीले मिलाएको प्रहरीको भनाइ छ ।
११ फागुन २०७० मा नेपाल चीनसम्मको सीमानामा बोलाएर चीन प्रवेशका लागि ती बालिकाको निलो चिनियाँ पासपोर्ट समेत बनाएर चीन छिराएको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए ।
त्यसपछि खासास्थित छिरिङ डान्सबारमा १८ हजार रुपैयाँमा ती बालिकालाई बेचिएको कुँवर बताउँछन् ।
पक्राउ परेका नेपालीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4