संसारमा सबैभन्दा लामो अवधि बाँच्ने व्यक्तिको कुरा गर्दा, हालसम्मको तथ्यांक र गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका आधारमा जिन कालमेन्टलाई सबैभन्दा लामो आयु भएको व्यक्तिको मान्यता प्राप्त छ ।
उनको जन्म सन् १८७५ फेब्रुअरी २१ मा फ्रान्सको आर्ल्समा भएको थियो, र उनको निधन सन् १९९७ अगस्त ४ मा १२२ वर्ष १६४ दिनको उमेरमा भएको थियो ।
को थिइन् जिन कालमेन्ट ?
जिन लुइस कालमेन्ट फ्रान्सको दक्षिणी सहर आर्ल्समा जन्मिएकी थिइन् । उनको परिवार मध्यमवर्गीय थियो, र उनको पिता एक जहाज निर्माता थिए । उनले सन् १८९६ मा फर्नान्ड कालमेन्टसँग विवाह गरिन्, जो एक धनी व्यापारी थिए ।
यो विवाहले उनलाई आर्थिक रूपमा स्थिर र सुखी जीवन प्रदान गर्यो, जसले उनलाई घरेलु कामबाट मुक्त राख्यो । उनकी एक छोरी, यभोन, सन् १८९८ मा जन्मिइन्, तर दुर्भाग्यवश यभोनको ३६ वर्षको उमेरमा निधन भयो ।
जिनले आफ्नो पति, छोरी र नातिलाई समेत गुमाए, तर उनको मानसिक र शारीरिक स्वास्थ्य उमेर ढल्कँदासम्म पनि बलियो रह्यो। उनको जीवनशैली र दीर्घायुको रहस्यले विश्वभर वैज्ञानिक र सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।
१. खानपान
जिन कालमेन्टको खानपानलाई लिएर उनले कडा नियमहरू पालना गरिन् भन्ने धारणा गलत हो । उनको खानपान सन्तुलित थियो, तर उनले आफूलाई मनपर्ने खानेकुराहरू खानबाट कहिल्यै रोकिनन् ।
उनको आहारमा निम्नलिखित प्रमुख तत्वहरू समावेश थिए
जिनले फलफूल, तरकारी, मासु, माछा र डेरी उत्पादनहरू नियमित रूपमा खान्थिन् । फ्रान्सेली खानपानको विशेषता अनुसार, उनको आहारमा जैतुनको तेल, रातो वाइन र ताजा उत्पादनहरू प्रशस्त थिए। । उनले हरेक दिन एक गिलास रातो वाइन पिउँथिन्, जसलाई उनले आफ्नो दीर्घायुको एक कारण मानेकी थिइन् ।
-चकलेटको प्रेम
जिनलाई चकलेट अत्यन्तै मनपर्थ्यो । उनी हरेक दिने चकलेट खान्थिन् । चकलेटमा पाइने फ्ल्याभोनोइड्सले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ र यो उनको दीर्घायुको एक सम्भावित कारक हुन सक्छ ।
-नियमित भोजन
जिनले नियमित समयमा खाना खान्थिन् र अत्याधिक खाने बानी थिएन । उनको आहारो मात्रा नियन्त्रित थियो, यो बानीले उनको तौललाई सधैं सन्तुलित राख्न मद्दत गर्यो । उनले कहिल्यै मोटोपनको समस्या भोगिनन्, जुन दीर्घायुका लागि महत्त्वपूर्ण मानिन्छ ।
-जैतुनको तेल
फ्रान्सको भूमध्यसागरीय क्षेत्रको खानपानमा जैतुनको तेलको ठूलो भूमिका छ । जिनले खानामा जैतुनको तेल प्रयोग गर्थिन् । उनले यो तेललाई आफ्नो छालामा समेत लगाउँथिन् । जैतुनको तेलमा पाइने मोनोस्याचुरेटेड फ्याट र एन्टिअक्सिडेन्टहरूले हृदय रोग र बुढ्यौली प्रक्रियालाई ढिलो गर्न मद्दत गर्छ ।
२. शारीरिक सक्रियता
जिन १०० वर्षको उमेरसम्म साइकल चलाउँथिन् र नियमित रूपमा हिँड्थिन् । उनले ८५ वर्षको उमेरमा फेन्सिङ (तरबारबाजी) सिक्न सुरु गरिन्, जुन उनको शारीरिक र मानसिक चुस्तताको प्रमाण हो। नियमित व्यायामले उनको हृदय, मांसपेशी र हड्डीहरूलाई बलियो राख्न मद्दत गर्यो ।
३.सामाजिक सम्बन्ध
जिन एक मिलनसार र हँसिलो स्वभावकी थिइन् । उनले आफ्नो समुदाय र परिवारसँग बलियो सम्बन्ध कायम राखिन् । हार्वर्डको एक अध्ययनअनुसार, बलियो सामाजिक सम्बन्धले दीर्घायु र स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । जिनले आफ्नो जीवनमा धेरै दुखद् घटनाहरू (पति र छोरीको निधन) को सामना गरिन्, तर उनले सधैँ सकारात्मक दृष्टिकोण अपनाइन् ।
४.तनाव व्यवस्थापन
जिनले तनावलाई सहज रूपमा लिन्थिन् । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्-मलाई कहिल्यै चिन्ता हुँदैन। म सधैँ शान्त रहन्छु । यो शान्त स्वभावले उनको मानसिक स्वास्थ्यलाई बलियो राख्यो । तनावले शरीरमा कोर्टिसोल हर्मोन बढाउँछ, जसले दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । जिनको तनावमुक्त जीवनशैलीले यो जोखिम कम गर्यो ।
५.नियमित निद्रा
जिनले पर्याप्त निद्रा लिन्थिन्, जुन स्वस्थ जीवनका लागि आवश्यक छ । ५० वर्षभन्दा माथिको उमेरमा कम्तिमा ७ घण्टाको निद्राले दीर्घकालीन रोगहरूको जोखिम कम गर्ने अध्ययनहरूले देखाएको छ । जिनको नियमित निद्राले उनको शरीरलाई पुन: मर्मतको अवसर दियो ।
दीर्घायुका अन्य सम्भावित कारकहरू
जिन कालमेन्टको असाधारण आयुका पछाडि केही अन्य कारकहरू पनि हुन सक्छन्
-वंशागुगत कारण
जिनको परिवारमा दीर्घायुको इतिहास थियो । उनका बुबा ९४ वर्ष र आमा ८६ वर्षसम्म बाँचे, जुन त्यस समयमा असामान्य थियो । वैज्ञानिकहरूले जिनको डीएनए अध्ययन गरे । उनमा केही जीनहरूले बुढ्यौली प्रक्रियालाई ढिलो गरेको उनीहरूको तर्क छ ।
-आर्थिक स्थिरता
जिनको आर्थिक अवस्था सधैं राम्रो थियो, जसले उनलाई गुणस्तरीय खाना, स्वास्थ्य सेवा र आरामदायी जीवन प्रदान गर्यो । आर्थिक तनावको अभावले उनको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्यो ।
-वातावरण
फ्रान्सको आर्ल्समा स्वच्छ हावा, शान्त वातावरण र भूमध्यसागरीय जलवायुले जिनको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्यो । स्वच्छ वातावरणले फोक्सो र समग्र स्वास्थ्यलाई राम्रो राख्छ ।
प्रतिक्रिया 4