
१० वैशाख, काठमाडौं । वीर अस्पतालमा ९ सर्जिकल आईसीयू बेड थपिएको छ । ९ बेड थपिएसँगै अब आईसीयूका बेड १ सय १० पुगेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल आईसीयूको उद्घाटन भएको छ ।
मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए ।
वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलले बताए ।
‘अस्पतालप्रति विश्वास नभएको भए यतिका मान्छे अस्पतालमा आउँदैन थिए’, मन्त्री पौडेलले भने,‘ चिकित्सकहरूले राम्रो उपचार सँगै नर्सहरुले राम्रो हेरचाह गरेर नै वीरमा आकर्षण बढेको हो ।’
राष्ट्रको ढुकुटी कमजोर अवस्थामा रहेकाले भएका स्रोत साधनको प्रयोग गरी अधिकतम फाइदा लिनुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति भुपेन्द्र बस्नेतले न्याम्सको स्थापनासँगै संघमा केन्द्रीकृत विशेषज्ञ चिकित्सकीय सेवालाई जिल्ला अस्पतालसम्म पुर्याउन सफल भएको बताए ।
हालसम्म न्याम्सले ३ हजार भन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको उनले बताए ।
न्याम्सले हाल काठमाडौ उपत्यका तथा बाहिर गरेर विभिन्न २४ अस्पतालहरुमा अध्यापन तथा तालिम दिँदै आएको छ ।
उनले आफुले वीर अस्पतालमा निर्देशकका रुपमा काम गर्दा ५ वटा मात्रै आईसीयू बेड अहिले ११० वटा पुर्याउन सफल भएको उनले बताए ।
‘आइसीयू बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गथ्र्यो,’ ती दिनको स्मरण गर्दै उनले भने,‘ धेरै दबाबका बीच काम गर्नु परेको थियो । तर सेवाविस्तार हुँदा आइसियु बेड सजिलै पाइने भएको छ ।’
हाल १८ शल्यक्रिया कक्षबाट सेवा दिँदै आएको अस्पतालले कुल ९ शय ६० बेड सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4