
१० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामती कर्मचारीलाई सडक आन्दोलनमा जान नदिने वातावरण बनाउनुपर्ने बताएका छ ।
उनीहरूले ७२ घण्टे अल्टिमेटम दिएको ख्याल गर्दै समिति अगाडि बढ्नुपर्ने उनले बताए ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयक विचाराधीन छ । बुधबारको छलफलमा बोल्दै एमाले सांसद श्रेष्ठले शिक्षक आन्दोलन स्मरण गरे ।
‘हेर्दा हेर्दै शिक्षकहरु सडक आन्दोलनमा आए । बिस्तारै बिस्तारै अनकन्ट्रोल हुदैछ । यसमा हामी सबै जिम्मेवार हुनुपर्छ,’ सांसद श्रेष्ठले भने ।
शिक्षक आन्दोलन देखाउँदै सांसद श्रेष्ठले निजामती कर्मचारीलाई पनि आन्दोलनमा जान नदिने भूमिका खेल्नुपर्ने बताएका हुन् ।
यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर विभिन्न १० बुँदे माग पेश गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।
उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन् ।
‘७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भनेका थिए ।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखदेखि सुरु हुँदैछ ।
विधेयक अगाडि बढाउन आवश्यक रहेको तर सबैको अपनत्व हुनेगरी अगाडि बढ्नुपर्ने एमाले सांसद श्रेष्ठले बताए ।
प्रतिक्रिया 4