
१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण नेपालले भारतबाट रातिको समय आयात गर्दै आएको विद्युत् ठूलो परिमाणमा कटौती भएको छ ।
नेपालले राति ११ देखि बिहान ४ बजेसम्म ५ घण्टा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउने अनुमति पाएको छ । तर, पछिल्लो समय आईपीएलका कारण इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) बजारबाट सीमित मात्रामा मात्रै विद्युत् किन्न सकिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले जानकारी दिए ।
‘६ सय मेगावाट आयात गर्न पाउने स्वीकृति कायमै छ । तर, आईपीएलका कारण भारतमा विद्युत् उपभोग बढेको छ । त्यसो हुँदा सबैभन्दा उच्च निर्धारित मूल्यमा धेरै क्रेताले बिड गरेका हुन्छन्, उनीहरूलाई दामासाहीले विद्युत् दिइन्छ,’ उनले भने, ‘त्यसअनुसार अहिले हामीले १० देखि २० प्रतिशत अर्थात् ६० देखि १ सय २० मेगावाट विद्युत् मात्रै रातिको समयमा पाइरहेका छौं ।’
तर, दिनको समयमा भने करिब ९ सय मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनले बताए ।
भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमण क्रममा नेपालले राति आयात गर्न पाइरहेको विद्युत मे र जुन महिनासम्मलाई निरन्तरता दिन अनुरोध गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
‘६ सय मेगावाट विद्युत् आयात अनुमति अप्रिल महिनासम्मलाई छ । त्यसलाई जुनसम्म पुर्याउन अनुरोध गरेका छौं, त्यसमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको छ,’ उनले भने ।
भारतबाट राति आउने विद्युत्मै कमी आएपछि औद्योगिक क्षेत्रको विद्युत् कटौती ८ देखि १० घण्टासम्म पुगेको उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले जनाए ।
‘पाँच वर्षदेखि जुन हिसाबमा विद्युत् कटौती भइरहेको हो, अहिले पनि त्यही भइरहेको छ । रातिको समय विद्युत् आयात कम भएको प्राधिकरणले बताएको छ,’ उनले भने, ‘केही दिनअघि पानी पर्दा त्यसको प्रभाव कम थियो । तर, पानी पर्न बन्द भएपछि भने दैनिक ४–५ घण्टाको विद्युत् कटौती ८–१० घण्टा पुगेको छ ।’
यसअघि प्राधिकरणमा शाक्य कार्यकारी निर्देशक भएपछि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य भएको भन्दै पिक आवरमा लाइट लोडमा उद्योग चलाउन आग्रह गरिएको थियो । तर, आयातमा समस्या भएपछि विद्युत् कटौती बढेको हो ।
प्रतिक्रिया 4